बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी « Khabarhub

बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ। पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले पढ्न मन भएका बुहारीको तथ्यांक संकलनका लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ। वडा कार्यालयसँगको समन्वयमा मंसिर मसान्तभित्र पढ्न इच्छुक बुहारीको तथ्यांक संकलन गरेर ल्याउने जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष समिर राईले बताए।

सातवटा वडा रहेको गाउँपालिकाले बुहारीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो।

बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यस्ता इच्छुक बुहारीलाई कक्षा १२ सम्म नाम लेखाउन, फर्म भर्न, पुस्तक, पोसाक, स्टेसनरीलगायतमा गाउँपालिकाको सहयोग रहनेछ। बुहारी शिक्षा कार्यक्रमका लागि गाउँपालिकाले आन्तरिक स्रोत परिचालन गर्ने तयारी गरेको छ।

घरमा ‘आमा शिक्षित भए परिवार शिक्षित हुन्छ’ भन्ने भनाइअनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याइएको अध्यक्ष राईले बताए।

‘आमा शिक्षित भएको परिवार पनि शिक्षित हुन्छ। महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ तब मात्रै समाजको परिवर्तन सम्भव छ,’ अध्यक्ष राईले भने, ‘बुहारी शिक्षा कार्यक्रमबाट महिलाको क्षमता वृद्धि हुनेछ। कक्षा १२ पास गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफै अघि बढ्लान्। समाजमा अगुवाइ गर्लान् भन्ने अपेक्षा गरेका छौँ।’

गाउँपालिकामा एक प्रस्तावितसहित आठ मावि छन्। पढ्न इच्छुक बुहारीले पायक पर्ने शैक्षिक संस्थामा गएर अध्ययन गर्न पाउने छन्। घरायसी कामले विद्यालय जान नसक्ने बुहारीका लागि निःशुल्क ट्युसन र कोचिङको व्यवस्था मिलाइने अध्यक्ष राईले बताए। ‘घरको कामले विद्यालय जाने समय भएन। विद्यालय समयमा घर धन्धामै बस्नुपर्ने अवस्थामा ट्युसन र कोचिङको व्यवस्था मिलाउँछौँ,’ राईले भने, ‘खाली पढ्छु भन्ने इच्छाशक्ति भए पुग्छ। त्यस्ता बुहारीलाई पढ्न कुनै खर्च लाग्ने छैन। मात्र पढिदिन पर्‍यो।’

पढ्न इच्छुक बुहारीको तथ्यांक र आवेदन संकलनका लागि गाउँपालिकाले बुहारी शिक्षा अध्ययन आवेदन फारम तयार पारेको छ। शिक्षा शाखा र महिला तथा बालबालिका शाखाले सोही फारमको आधारमा पढ्ने बुहारीको आवेदन संकलन गर्दै छन्। बुहारी शिक्षा अध्ययन आवेदन फारममा नाम, ठेगाना, अध्ययन गरेको विद्यालय, सम्पर्क नम्बर, विवाह मिति, श्रीमान्, आमा र बुवाको नाम, कक्षा ८ वा एसइई उत्तीर्ण वर्ष, अध्ययन गर्न नसक्नुका कारण लगायतका विवरण भर्नुपर्ने छ। बुहारी शिक्षा कार्यक्रमले महिलालाई पढ्नका लागि उत्प्रेरित गर्ने र महिलाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ५७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार