यी हुन् कर्णाली समृद्धिका मार्गहरू | Khabarhub Khabarhub

यी हुन् कर्णाली समृद्धिका मार्गहरू


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउनका लागि आधा दर्जन सडकहरू निर्माण भइरहेको छ । अधिकांश सडकहरू अहिले काम  चालु छ । कर्णाली करिडोर, भेरी करिडोर, लम्बिनी-रारा राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गका साथै मदनभण्डारी राजमार्गसमेत कर्णालीमा चालु अवस्थामा रहेका छन् । भेरी करिडोर, कर्णाली करिडोर चीनसँगको सिमानासँग जोड्ने सडक मध्यमा पर्दछन् । 

कर्णाली करिडोरको काम कस्तो छ ?

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र नेपालको हुम्ला जिल्लालाई जोड्नेछ । अहिलेसम्म राष्ट्रिय सडक सञ्जाललाई नजोडेको हुम्ला जिल्ला मात्र हैन । यो राजमार्गले हुम्लाको चीनको सिमाना जोडिएको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म पुग्नेछ । 

कर्णाली करिडोर नामाकरण गरी ट्याक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुदैँ हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ । 

आशाको केन्द्र बिन्दुका बीच रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका-८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १९६ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाले खोलिसकेको छ । चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्सा-हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीव्र रुपमा भइरहेको छ ।

विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई गत सालको असार ३१ गते हस्तान्तरण गरेको थियो ।

कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये १९६ किलोमिटर सडक निर्माण भएर सवारीसाधन चल्न थालेका छन् । बाँकी सडकखण्ड निर्माणाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए । हिल्सा-हुम्ला सडक आयोजनाले जिम्मा लिएको १४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण भइसकेको छ । कर्णाली करिडोरअन्तर्गतको पाँच किलोमिटर सडक खोलेपछि आयोजनाको काम सम्पन्न हुने बताएको छ । 

बजार क्षेत्र बढे

कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो । 

कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौँ ठाउँहरू बजार रुपमा विस्तार भएका छन् । कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारीसाधन चल्न थालेका छन् । अहिले यो सडकखण्डका दर्जनौं ठाउँमा बजारका रुपमा विकास भएका छन् । 

कालीकोटको खुलालु, लालिघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौर लगाएतका क्षेत्रहरु अहिले बजारमा रुपमा विकसित भएका छन् । यी बजारहरुमा अहिले व्यापारी केन्द्रका रुपमा स्थापित हुन थालेको कालीकोट रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताए ।

कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आसपासका मानिसहरू अहिले तरकारी खेती गर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन् । 

गाउँ-गाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएकाले तरकारी खेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए । कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको बस्तुहरु हिमाली जिल्लामा र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरैजसो नागरिक कृषि पेशामा संग्लन रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

जुम्लाको उत्पादित खाद्यान्न देशभित्र मात्र होइन विदेशमा पुग्ने गरेको छ । जुम्ला घर अर्गानिक एन्ड सुपर फुड्स प्रालिमार्फत स्थानीयस्तरमा उत्पादन भएका समान विदेशमा समेत लिएर बिक्री हुने गरेको छ । अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्यान्न क्यानडा पुगेको कम्पनीका सञ्चालक राज शाहीले जानकारी दिए । 

कम्पनीले यस वर्ष १ टन सिमीको दाल र १ टन मासको दाल जापानका बजारमा पनि पठाएको छ ।  १० किलो स्याउको चाना पनि जापान गइसकेको शाहीले जानकारी दिए । गत वर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात भएको थियो ।  स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाइरहेको छ ।  जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ । गत वर्ष पनि ४० क्विन्टल जुम्ली मार्सी चामल अमेरिका पठाइएको शाहीले जनाए । 

मार्सी चामल, ओखर, सिमी, स्याउको चाना, चिनो र कागुनो ती देशहरूमा गइरहेको हो । खलंगास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाइरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बंगलादेश पठाएको थियो । बाहिरबाट आउने खाद्यान्नका कारण रैथाने बाली उत्पादनमा कमी आइरहेको स्थानीय किसान जीवनबहादुर बुढाले बताए।

कर्णाली करिडोरअन्तर्गत ९ वटा पुल बन्दै

कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १३ वटा पक्की पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु खोला, सान्नीघाट खोला र फुगाड खोला पक्की पुल निर्माण हुने भएको हो ।  बाजुराको जुड्डी खोला, बुढीगाड खोला, गल्फगाड खोला र कवाडी खोला पक्की पुल निर्माण हुने भएको हो । 

हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हिल्सा–सिमकोट सडक आयोजना हुम्लाले जनाएको छ । पक्की पुलका लागि ठेक्का प्रक्रियाअगाडि बढेको सडक आयोजना हुम्लाका इन्जिनियर वीरेन्द्र यादवले बताए ।  कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो । 

कालीकोटमा पर्ने ४२ किलो मिटर सडक फराकिलो बनाउन थालिएको छ  । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको सडक फराकिलो पार्ने काम सुरु भएको हो । सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम सुरु गरेको आयोजना प्रमुख यादवले जानकारी दिए ।

कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएका कारणले फराकिलो पार्न लागिएको प्रमुख यादवको भनाइ छ । करिडोरअन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा एक अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग 

पुष्पलाल (मध्यपहाडी लोकमार्ग) राजमार्गअन्तर्गत रुकुम पश्चिम ,जाजरकोट र दैलेख जिल्लालाई जोड्ने गर्दछ । रुकुम पश्चिम ६५ किलोमिटर सडक पुरै काम सकिएको छ । रुकुम पूर्वबाट रुकुम पश्चिम जोड्दै जाजरकोटबाट दैलेख जोड्ने सडकमा यो पर्दछ । जाजरकोटको ८३ किलोमिटर सडकेमध्ये निर्माण हुन अब २५ किलोमिटर मात्र बाँकी छ । दैलेखको १२५ किलोमिटर मध्य ४० किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको इन्जिनियर हुमनाथ पौडेलले बताए । यो राजमार्गमा ६५ किलोमिटर सडक निर्माण हुन बाँकी रहेको इन्जिनियर पौडेलले बताए । सडकको २ अर्ब दायित्व रहेको छ भने झण्डै ९ अर्ब बजेट खर्च भएको भइसकेको छ ।

भेरी करिडोर 

भेरी करिडोरको सुर्खेत ,सल्यान , जाजरकोट हुुँदै डोल्पा जोड्ने सडकअन्तर्गत पर्छ । यो सडकले भारत र चीनको सिमानासँग पनि जोड्ने गर्दछ । डोल्पाको अन्तिम बिन्दु मरिम्ला ,तिन्जे रहेको छ । यो सडक खण्डको जाजरकोट सदरमुकाम सम्मा पिच गरिएको छ भने पुर्वी जाजरकोट हुँदै डोल्पा जोड्ने सडकको लागि पिचको काम चालु अवस्था रहेको छ । तोकिएको समय भन्दा निकै ढिलो गरी काम भइरहेको भेरी करिडोरको अहिले स्तरोन्नतिको काम चलिरहेको छ । 

भेरी नदीमा पुलका कामहरू चलिरहेका छन् । १३ पुलमध्ये ७ पुल निर्माण भएका छन् भने बाँकी पुलहरू निर्माण गर्ने क्रममा रहेका छन् । यो विवरण जाजरकोट सदरमुकामबाट डोल्पाको सदरमुकाम दुनैसम्मको मात्र हो । त्योभन्दा माथिल्लो भागमा चीनको सिमानाबाट सडक निर्माण भएर उपल्लो डोल्पाका मध्य भागमा ल्याइएको छ ।

भेरी करिडोरको सडकले चीन र भारतलाई सडक सञ्जालले जोडेपछि डोल्पा र तिब्बतको सिमाना मरिम्ला र भारतको रूपैडियाबीच सिधा सम्पर्क जोडिनेछ । करिडोरको सडक जाजरकोट, रूकुम र डोल्पाको भूगोललाई पहाडी फिडर रोडको अवधारणाअनुरूप निर्माण भएको छ । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले बजार र उचित मूल्य पाउने भएको छ ।

रूकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरू भएको थियो । एक सय १८ किलोमिटर दूरी रहेको जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरीको सुपानीसम्म १०३ किलोमिटर सडकको काम नेपाली सेनाले सम्पन्न गरेको छ । सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी सडक निर्माण स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको थियो ।

भारतको रूपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका जोडिने सडकलाई भेरी करिडोर नामकरण भएको छ । छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रूपमा रहेको छ । भेरी करिडोरको नक्सा भेरी नदीको किनारै किनार पर्दछ । भेरी नदी उद्गमस्थल धौलागिरी हिमालको पश्चिम भाग डोल्पाको छार्का क्षेत्र पर्दछ ।

भेरी नदी डोल्पाबाट जाजरकोट पश्चिम रूकुम र सल्यानको सीमा हुँदै सुर्खेतको चुरे क्षेत्रबाट बग्दै पश्चिम पुगेर कर्णालीमा मिसिन्छ । सडक नहुँदा दैनिक उपभोग्य सामग्रीदेखि लिएर विकास निर्माणका सामग्रीसमेत खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता सडक पुगेपछि खच्चडप्रतिको निर्भरता घटेको छ । डोल्पामा आजभोलि चामल, तेल, साबुन, लत्ता कपडालगायतका दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री सस्तिएको छ । सडक नहुँदा पहिला दैनिक उपभोग्य सामग्री लिन रूकुमको चौरजहारी, राडीज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लु बगरलगायतका बजारमा पुग्नुपर्ने बाध्यता हटेको छ ।

कर्णालीको पनि विकट जिल्ला डोल्पा जैविक विविधताको भण्डारको रूपमा चिनिने र क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो हिमाली जिल्ला हो । दुनैबाट मरिम्लासम्मको ९० किलोमिटर रहेको छ । जाजरकोटको सदरमुकामबाट दुनैसम्म ११८ किलोमिटर रहेको छ । भेरी करिडोर सबैको लम्बाइ ३१७ किलोमिटर रहेको सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए । कच्ची कटान हुन बाँकी दुनैबाट धोसम्म रहेको छ । १० अर्ब यसको कुल खर्च रहेको छ । 

लुम्बिनी रारा सडक नाम दिइएको सडकको काम समेत जाजरकोट खण्डमा भइरहेको छ । जाजरकोट र जुम्लाको सिमानाबाट सुरुङ निर्माण गरेर सडक बनेमा कर्णाली राजमार्गभन्दा जुम्ला नेपालगन्ज ७ घण्टा छिटो पुग्ने गर्दछ । अहिले जाजरकोटबाट सुरु गरिएको छ । लम्बिनी दाङ, सल्यान, रुकुम पश्चिम हुँदै जाजरकोट जुम्ला र रारा यो सडकको रेखांकन रहेको छ । 

मदन भण्डारी राजमार्ग 

मध्यपहाडी राजमार्ग र पूर्व-पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले १४ जिल्लालाई छुन्छ । यो राजमार्गले नेपालको पूर्वदेखि पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

सुर्खेतमा मदन भण्डारी राजमार्ग धुलियाविट-भेडाबारी-बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम काम जारी रहेको छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सुधार-विस्तार गर्न लागिएको छ । कालोपत्रे गर्न लागिएको सडक दुई लेनको बनाइँदै छ । अहिले औसत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाइनेछ ।

राष्ट्रिय राजमार्गको मापदण्डअनुसार नै अघि बढाइएको कार्यालयले जनाएको छ । स्तरोन्नति भइरहेको सडक खण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रहरूलाई जोड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकबेसी र गुर्भाकोट नगरपालिकाका भू-भाग पर्दछन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । यो खण्डमा नयाँ सडक निर्माण गर्नुपर्ने छैन । पहिल्यै बनेका सडकलाई जोडेर स्तरोन्नति गरिने भएको हो ।

सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रुपैयाँ लागत अनुमान गरिएको छ । २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । वि.सं. २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ ।

राजमार्ग अन्तर्गत सुर्खेत खण्डमा पर्ने सडकको कामलाई गति दिन वीरेन्द्रनगरमा कार्यालय राखिएको एक वर्ष मात्र भयो । धुलियाविट-भेडाबारी सडकको वि.सं. २०३६ सालमै ट्रयाक खोलिएको थियो । सडक निर्माण थालेको चार दशकपछि मदन भण्डारी राजमार्ग नामाकरण गरी सुधारको काम अघि बढेको हो । सडक स्तरोन्नतिको काम सम्पन्न भए यहाँ बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १ : ४२ बजे

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता

सेयर बजारमा उछाल, कारोबार साढे १५ अर्ब नाघ्यो

काठमाडौं- साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ

आन्तरिक र बाह्य समस्या समाधान गर्न स्थिर सरकार बनेको हो : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै

चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस

कञ्चनपुर– बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ