मुग्लिन-पोखरा चार लेन सडक आयोजना : ५८ सय रुख काटियो | Khabarhub Khabarhub

मुग्लिन-पोखरा चार लेन सडक आयोजना : ५८ सय रुख काटियो


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ ।

आँबुखैरेनीदेखि पृथ्वीचोकसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएकोमा यतिबेला सडक विस्तार गर्न दायाँबायाँका रुख धमाधम कटान भइरहेको छ । तनहुँ र कास्कीमा गरेर ५ हजार ८५१ रुख कटान भइसकेको छ । तनहुँमा ६ हजार ७५० र कास्कीमा एक हजार २५० रुख काट्नुपर्नेछ । जसमध्ये तनहुँमा मात्रै पाँच हजार रुख काटिएको हो । कास्कीतर्फ ८५१ रुख काटिएको आयोजनाले जनाएको छ ।

८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको हो । जामुने–पोखरा पश्चिम खण्डको ३८.८८ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको हो । पूर्वको तुलनामा पश्चिम खण्डको कामको गति कम देखिन्छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्डको दुई हजार ८०० रुख कटान गरिएको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार यो खण्डमा चार हजार ६७१ रुख कटान गर्नुपर्नेछ । जामुने पोखरा खण्डको तुलनामा यो खण्डमा केही हदसम्म काम भएको देखिन्छ ।  रुख कटानसँगै सडक फराकिलो बनाउने काम पनि भइरहेको सुवेदीले बताए । ‘सडक फराकिलो बनाउनेसँगै ग्याबिन जाली राख्ने, पर्खाल लगाउने काम हुँदैछ । कल्भर्ट बनाउन पनि थाल्याछन्’, आयोजना प्रमुख सुवेदी भन्छन्, ’आवश्यकता अनुसार बाटो पुरै फराकिलो कतै पनि भएको छैन ।  तर फराकिलो बनाउने काम धमाधम भइरहेको छ ।’

जामुने–पोखरा पश्चिम खण्डमा तीन हजार ५१ रुख काटिएको छ । यो खण्ड तनहुँ र कास्की दुई जिल्लामा पर्दछ । तनहुँमा दुई हजार २०० र कास्कीमा ८५१ रुख कटान गरिएको योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । जामुने–पोखरा खण्डको तनहुँतर्फ रुख कटानको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । ‘रुख काट्दा विधुतिय लाइनलाई असर पार्ने बाहेक सबैजसो रुख काटिएको छ’, उनले भने । रुख कटान सकाएर विद्युत लाइन र खानेपानीको पाइप स्थानान्तरण गरेपछि सडक फराकिलो बनाउने काम थालिने स उनको भनाई छ । जामुनेदेखि कुम्लेखोलासम्म १० किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युतको पोल स्थानान्तरण भइसकेको श्रेष्ठले बताए ।

सबै रुख काटेर सकेपछि चार लेन सडक आयोजनाले डिभिजन वन कार्यालयलाई बुझाउनेछ । वन कार्यालयले सडक स्तरोन्नतिका लागि काटिएको काठ लिलामी प्रक्रियाबाट विक्री गर्ने जनाएको छ ।

रुख कटानको काम सुरु भएसँगै पृथ्वी राजमार्गको तनहुँ खण्डमा सवारी जाम बढ्न थालेको छ । रुख कटानकै कारण जिल्लावासी विद्युत् आउने जाने समस्याले आजित छन् । आँबुखैरेनी जामुने खण्डमा सडक फराकिलो बनाउन कटान थालिएसँगै धुलोले यात्रा गर्न सास्ती भएको पाइन्छ ।

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्ग २०२६ सालमा रेखाङ्कन भएको थियो । सवारी चाप थेग्न नसक्ने अवस्था भएपछि चार लेनको बनाउन सुरु गरिएको हो । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मर्स्याङ्दी जलविद्युत गृह रहेको छ । जलविद्युत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको जनाइएको छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस्तैगरी जामुने–पोखरा आठ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाइएको हो । चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागी चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : ०१ बजे

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने