फेरिएको इङ्ग्लिस फुटबल | Khabarhub Khabarhub

फेरिएको इङ्ग्लिस फुटबल


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डनका बाटोमा हिँड्ने तन्नेरी भित्तामा सजिएको लीया विलिम्सनको फोटो देखेपछि एक पटक टक्क अडिने गरेका छन् । पछिल्ला २५ वर्ष हरेक दिन बेलायती महिला फुटबल उकालो लाग्दैछ। पछिल्लो दुई वर्ष यताको प्रगति त दिन गुना रात चौगुना नै भएको छ।

अहिले दर्शकको उपस्थिति बढेको छ। रङ्गशालामा दर्शकको उपस्थितिले एक पछि अर्को कीर्तिमान कायम गरी रहेको छ। टिभीमा विज्ञापन बढ्दो छ। हरेक महिला फुटबलर त्यहाँको परिचित नाम बन्न थालेका छन्। चोक चोकमा महिला फुटबलरको बारे चर्चा हुन थालेको छ।

एउटा समय थियो कि जर्मनी विश्व फुटबलमा अमेरिका, चीन, ब्राजिल, नर्वे र स्विडेनसँगै उपाधिको दाबेदार मानिन्थ्यो। इंग्ल्यान्डमा यिनीहरूको प्रतिस्पर्धीको रूपमा चर्चा गर्न पनि लायक टोली पनि थिएन। जर्मनीको महिला फुटबल टोलीले विश्वकप जितेको दुई दशक हुन लागि सकेको छ। यो दुई वर्षमा विश्व खेलकुदमा धेरै आरोह र अवरोह आए। महिला फुटबलमा पनि त्यसको असर देखियो। यस वर्ष जर्मनीलाई नै फाइनलमा हराएर युरो कपको उपाधि जितेपछि इङ्गल्यान्ड विश्व फुटबलको नयाँ शक्तिको रूपमा स्थापित भएको छ ।

इङ्गल्यान्डकी मेनेजर सरिना विंगम्यानले केही अनुभवी तथा केही युवा खेलाडीको मिश्रण गरेर टोलीको निर्माण गरेकी थिइन्। सन् २०१३ मा पहिलो चरण बाहिरिए यता औसत उमेर २७ वर्ष भन्दा कम भएको यो पहिलो इङ्ग्लिस टोली थियो।

२५ जुलाईको दिन स्विडेनविरुद्ध सेमिफाइनलमा ४-० को जित हात पारेको इङ्ग्लिस टोलीका लागि यो एउटा ठूलो सफलता थियो। सन् २००९ पछि पहिलो पटक इङ्गल्यान्डको फाइनल प्रवेश मात्र थिएन, त्यो जित युरो कपको इतिहासमै सबैभन्दा फराकिलो अन्तरको सेमिफाइनल नतिजा थियो।

यस अगाडि नै नर्वे माथिको ८-०, उत्तरी मेसोडोनीयाविरुद्ध १०-० तथा लाट्भीया विरुद्धको २०-० को कीर्तिमानले इङ्ग्लिस टोलीको फाइनल अगाडि नै सर्वत्र चर्चा हुन थालेको थियो। इङ्गल्यान्डले ८-० ले हराएको नर्वे पनि महिला फुटबलमा गौरव गर्न लायक विगत भएको देश हो।

रक्षक र मिडफिल्डर दुवै भूमिकामा उत्तिकै न्याय गर्न सक्ने २५ वर्षीया लीया विलिम्सनको नेतृत्वमा इङ्गल्यान्डले युरो कपमा सहभागिता जनाएको थियो। ९ वर्षको उमेरमा आर्सनलमा आबद्ध उनले त्यहाँ उमेर समूहको प्रतियोगितादेखि नै आफ्नो नेतृत्व क्षमतालाई पुष्टि गरिसकेकी छन्। त्यसो त यो सफलताको कथामा २९ वर्षीया गोलरक्षक मेरी आर्पको उत्कृष्ट प्रदर्शन पनि महत्त्वपूर्ण रहेको थियो। हरेक खेलमा सहभागिता जनाएकी यी गोलरक्षकले फाइनल अगाडिसम्म आफ्नो गोल पोस्टमा एक पटक मात्र बल छिर्न दिएकी थिइन्। यस पटक त उनले टोलीमा पर्ने आशा नै राखेकी थिइनन्।

इङ्ग्लिस फुटबलमा परिचित नाम फील नेभिललार्ई प्रतिस्थापन गर्दै सरिनाले सन् २०२० को जुलाईमा इङ्ग्लिस महिला टोलीको म्यानेजरको जिम्मेवारी लिएकी थिइन्। सो समय संसार नै कोरोना महामारीका कारण छटपटाइहरेको थियो। यस्तो समयमा टोलीको जिम्मा लिएर प्रशिक्षण गराउनु कम्ती चुनौतीपूर्ण थिएन।

यस अघि उनले सन् २०१७ मा नेदरल्यान्ड्सलाई युरो कपको उपाधि दिलाएकी थिइन्। सन् २०२० मा नै फिफा महिला खेलाडी घोषित लुसी ब्रोन्ज बेलायतको सर्वकालीन उत्कृष्ट खेलाडीको कोटीमा गरेकी छिन्। उनी तीन पटककी महिला युइएफए च्याम्पियन्स लिगकी विजेतासमेत हुन्। आफ्नो पुस्ताकी लोकप्रिय यी खेलाडीको नेतृत्वमा बेलायतको जब्बर रक्षापक्तीं पार गर्न जो कोहीलाई पनि कठिन थियो।

बेलायती फुटबलकी मिथक व्यक्तित्व बनेकी ३५ बर्सिया जिल स्केटको यस पटकको युरो कप खेल जीवनको १० औं ठूलो प्रतियोगिता हो। उनले पहिलो पटक सन् २००६ को युरो कपमा इङ्गल्यान्डको प्रतिनिधित्व गरेकी थिइन्। प्रतिभाशाली मिडफील्डर जर्जीया स्ट्यानवे युरो कपको अगाडि वायरन म्युनिखमा जानु अगाडि सात सिजन म्यानचेस्टर सिटीमा बिताएकी थिइन्। उनले त्यहाँ १० महत्त्वपूर्ण प्रतियोगिता जितेकी थिइन्। २७ बर्सिया मिडफील्डर बेथ मेडले सन्डरल्यान्डबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी हुन्। उनी सन् २०१७ मा आर्सनल पुगेकी थिइन्।

क्लोय केली यस पटकको युरोपको स्मरणीय नायिका हुन्। फाइनल खेलमा उनले नै निर्णायक गोल गरेकी थिइन्। म्यानचेस्टर सिटीकी यी २४ बर्सिया फरवार्डले यस अघि सन् २०१८ मा इङ्गल्यान्डलाई यु-२० विश्वकप दिलाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
फ्रान कर्बी धेरैका लागि सम्मान गर्न लायक खेलाडी हुन्। मुटुको रोगको समस्याबाट जीवन नै जोखिममा पारिसकेकी यी खेलाडी त्यस कहालीलाग्दो शारिरिक अवस्थाबाट गुज्रिएर यो सफलता पाएकी हुन्। सन् २०१९÷२० को सिजनमा उनलाई मुटुको समस्या देखिएको हो।

चेल्सीका लागि १ सय १ गोल गर्दै उनी सर्वकालीन शीर्ष गोल कर्ता बनेकी छिन्। युरो कपको दौरान उनले दुई गोल गरिन्। म्यानचेस्टर युनाइटेडकी स्टार एला टोनले इङ्गल्यान्डका लागि सुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। २२ वर्षीया यी खेलाडीले सन् २०१६ मा यु-१७ महिला विश्वकपमा सहभागिता जनाउँदै पहिलो इङ्ग्लिस राष्ट्रिय जर्सीमा यात्राको सुरुवात गरेकी थिइन्। २३ फेब्रुअरी २०२१ मा उनले पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेकी हुन्। उत्तरी आयरल्यान्ड विरुद्धको ६-० को जित हात पारेको खेलमा उनी वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गर्दै पेनाल्टीमा गोल गरेका थिइन्।

३३ वर्षको उमेरमा म्यानचेस्टर सिटीमा आबद्ध एलेन ह्वाइट इङ्गल्यान्डकी सर्वकालीन शीर्ष गोलकर्ता हुन्। सन् २०२१ को नोभेम्बरमा उनले अन्य सबै इङ्ग्लिस खेलाडीलाई पछि पारेकी हुन्। उनी तीन सिजन इङ्गल्यान्डकी उत्कृष्ट खेलाडी घोषित भएकी छन्। लाउरेन हेम्प चार पटक पीएफए वर्षकी युवा खेलाडी घोषित भएकी छन्। पीएफए इतिहासमा एउटै विधामा चार पटक अवार्ड पाउने उनी एक्लो खेलाडी हुन्।

जर्मनी माथिको यो जितले इङ्गल्यान्डले युरो कपको उपाधि त जितेको छ। तथापि विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो बरीयता अनुसार शीर्ष बरीयताको युरोपेली फुटबल टोली भने अझै भएको छैन।

पछिल्लो बरीयतामा अमेरिका पहिलो स्थानमा छ भने जर्मनी दोस्रो स्थानमा छ। यसैगरी स्वीडेन तेस्रो तथा इङ्गल्यान्ड चौंथो स्थानमा छन्। कुनै समय पुरुष फुटबल जस्तै महिला फुटबलमा पनि सनसनी फैलाउने ब्राजिल भने नवौँ स्थानमा झरेको छ। ब्राजिल भन्दा अगाडी फ्रान्स, नेदरल्यान्ड्स, क्यानडा र स्पेन छन्।

गएको जुलाई महिना विश्वभर नै महिला फुटबलको महिनाको रूपमा रहेको थियो। पाँच वटा ठूला प्रतियोगिता भए। युरोप मात्र होइन अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र ओसीयानामा महादेशीय च्याम्पियनसिप यसै महिना आयोजना भए। यी सबै अर्को वर्ष आयोजना हुने महिला विश्वकपमा छनोट प्रतियोगिता पनि थिए।

शीर्ष स्थानमा रहने क्रममा अमेरिकाकाले कन्काकाफको उपाधि जितेको थियो। जर्मनी यस अगाडि तेस्रो स्थानमा रहे पनि युरो कपको फाइनलमा प्रवेश गरेका कारण दोस्रो स्थानमा उक्लेको हो। यस अगाडि दोस्रो स्थानमा रहेको स्विडेन तेस्रो स्थानमा झरेको हो।
इङ्गल्यान्डको भने वरीयतामा ठुलै फड्को हो। इङ्गल्यान्ड आठौँ स्थानबाट चौंथो स्थानमा उक्लेको हो।

विश्व फुटबलमा इङ्गल्यान्डको महत्त्व विशेष छ। सन् १९६६ मा विश्वकप जितेको इङ्गल्यान्डले त्यसै सफलता पछिल्लो समय हात पारेको छैन। यसका बाबजुद इङ्ग्लिस फुटबलका समर्थक, इङ्ग्लिस फुटबलको बजार र यसको लोकप्रियता विशेष छ।

कमजोर ठानिएको महिला इङ्ग्लिस टोलीले पनि एक पछि अर्को प्रगति गर्दै उन्नतिको शिखरमा पुगेको छ। अमेरिकामा जस्तै इङ्गल्यान्डमा पनि महिला फुटबलले लोकप्रियताको कसीमा पुरुष फुटबललाई पछि त नपार्ला। तर, बराबर चर्चा र महत्त्व भने आगामी दिनमा पाउने छ। स्रोत : फिफा, गुडटुडटकम

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : ०३ बजे

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर