काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियान सुरु
देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंहदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो ।
सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले त्यसको सुरुआत गरेका हुन् ।
२. सहकारी संस्थालाई एक साताभित्र वित्तीय अवस्था सार्वजनिक गर्न निर्देशन
सहकारी विभागले घाटामा सञ्चालित सहकारी संस्थाहरूले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्न निर्देशन दिएको छ ।
विभागले सञ्चालकहरुको सुविधा कटौती गर्ने, मितव्ययिता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका र घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू बन्द गर्ने उपायहरू अवलम्बन गर्न पनि सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।
विभागले सहकारीलाई दीर्घकालीन स्रोत सुतिश्चित नगरी कर्जा लगानी नगर्न समेत चेतावनी दिएको छ ।
३. महाभियोगमाथि अध्ययन सुरु
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ । सिंहदरबारमा महाअभियोग सिफारिस समितिको जारी पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरु गरेको हो ।
समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्नुहुने छ । यसैबीच नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया समयमै अघि नबढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
४. गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैनः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन् । गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
अध्यक्ष थापाले आज सामाजिक सञ्जाल मार्फत धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका हुन् ।
गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनको भनाई छ ।
५. विश्वप्रकाश झापा बाटै निर्वाचन लड्ने
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । काठमाडौं ५ बाट निर्वाचन लड्ने चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार दिने बताएका हुन् ।
उनले ट्वीटरमा काठमाडौँ ५ मा चुनाव प्रचारमा पुग्ने भएपनि उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का साथीलाई साथमा लिएर झापामै उम्मेदवार बन्ने उल्लेख गरेका छन् ।
६. जसपाको राजनीतिक समितिको बैठक बस्दै
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । ललितपुरको बालकुमारीमा आज दिउँसो बस्ने बैठक भोलि सम्म चल्नेछ ।
पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूची रहेको राजनीतिक समितिका सदस्य मनिकर कार्कीले बताए ।
७. सल्लाहकारमा डा. शालिकराम नियुक्त
अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेका डा. पोखरेललाई अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काजमा मन्त्रालय तानिएको हो ।
बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल आजदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउनेछन् ।
८. फोहोरको गाडी सिसडोलमै अड्किए
काठमाडौंको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेर रोकिएका छन् । काठमाडौंबाट फोहोर लोड गरेर गएका २ सय भन्दा धेरै गाडी सिसडोल पुगेर अड्कीएका हुन् ।
बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आइसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने तयारी भैरहेको काठमाडौं महानगरले जनाएको छ ।
प्रहरी विना फोहोरको गाडी बन्चरे पुर्याउन गाह्रो परेकोले प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
९. तीन उच्च पदस्थबीच भेटवार्ता हुन
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानसँग भेटवार्ता गर्ने भएका छन् ।
तीन उच्च पदस्थबीच युक्रेनको पश्चिमी शहर एलभिवम यसै साता भेटवार्ता हुने लागेको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकलाई उद्धृत गर्दै युक्रेनी समाचार समितिले जानकारी दिएको हो । सो भेटवार्ता युक्रेनको विषयमा नै केन्द्रित हुने भएको छ ।
बिहीबार हुन लागेको सो भेटवार्ताको एजेण्डाका बारेमा भने केही जानकारी दिइएको छैन ।
१०. एसिया कप क्रिकेटका लागि टोली घोषणा
अफगानिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । मोहम्मद नावीको कप्तानीमा अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सुरु हुँदै ।
अफगानिस्तान समूह ’बी’ मा रहेको छ । यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ ।
समूह ’ए’ मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् ।
प्रतिक्रिया