संविधानको रक्षाका लागि मत दिन गठबन्धनको अपील « Khabarhub

संविधानको रक्षाका लागि मत दिन गठबन्धनको अपील


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मत दिन संयुक्त अपिल जारी गरेका छन् ।

बिहीबार मध्यरातदेखि स्थिर अवधि सुरु हुने भएकाले गठबन्धनमा आबद्ध प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकाल्दै गठबन्धनको उम्मेदवारलाई मत हाल्न अपिल जारी गरेका हुन् ।

मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबी गरिएको छ । ‘आगामी मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं । यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरू एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनले अघिल्लो केपी ओली नेतृत्वको सरकारले देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचार गरेको, अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि गठवन्धन बनाउनु परेको प्रस्टीकरण पनि दिएको छ ।

झन्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको पनि दाबी गरेको छ । ‘मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ । नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको छ,’ अपिलमा भनिएको छ ।

संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेको जनाइएको छ । ‘यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन । गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो,’ अपिलमा भनिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : १० बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच