विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज चैत्र ४, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुसद्वारा युक्रेनी विमानस्थलमा क्रुज क्षेप्यास्त्र हमला

युक्रेनमा आक्रमण गर्दै आएको रुसी फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्याण्डको सीमानजिक रहेको लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन् ।

कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट चार क्रुज क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । यस्तै युक्रेनी फौजको हवाई प्रतिरोधी दस्ताले अरु दुई क्षेप्यास्त्र बीच आकाशबाटै खसालेको दाबी गरेको छ ।

लभिभ शहरका मेयर आन्दे्रई सादोभीले घटनास्थलमा उद्धारकर्ताहरु खटिएको बताए । यद्यपि विमान मर्मत गर्ने सो भवन यसअघि नै बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ ।गत आइतबार रुसी फौजले लभिभ शहर नजिकै रहेको सैनिक तालिम केन्द्रमा आक्रमण गरेको थियो ।

हालसम्म लभिभ शहरमा उल्लेख्य सैनिक गतिविधि नभएपनि यो शहर युरोप र विश्वका अरु देशबाट युक्रेनलाई प्राप्त हुने सहायता आपूर्ति र युक्रेनबाट बाहिर जाने शरणार्थीहरुका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ ।

युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै

युक्रेनमा जारी रुसी आक्रमणका क्रममा हालसम्म १४ हजार २ सय रुसी सैनिक मारिएको युक्रेनी पक्षले दाबी गरेको छ ।

 युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएदेखि हालसम्म अनुमानित १४ हजार २ सय रुसी सैनिक मारिएको दाबी गरेको हो ।

यद्यपि युक्रेनी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको छ । रुसी र युक्रेनी पक्षले जारी युद्धमा मारिने लडाकुको संख्याबारे निकै फरक संख्या सार्वजनिक गरेका छन् । गत मार्च ३ मा रुसी पक्षले सार्वजनिक गरेको तथ्यांकमा आफ्ना केबल ४९८ सैनिक मारिएको जनाएको थियो । त्यसयता रुसले हताहत सैनिकको तथ्यांक बारे कुनै जानकारी उपलब्ध गराएको छैन ।

यही क्रममा बिहीबार मत्रै अमेरिकी अधिकारीले युक्रेनमा जारी आक्रमणका क्रममा ७ हजार भन्दा धेरै रुसी सैनिक मारिएको बताएको बीबीसीले जनाएको छ । ती अधिकारीको अनुमान अनुसार युद्धमा अरु १४ हजार रुसी सैनिक घाइते भएका छन् ।

युक्रेनी रक्षा मन्त्रालयले युद्धका क्रममा १४ हजार २ सय रुसी फौजका साथै ४५० ट्यांक, ९३ लडाकु विमान, ११२ हेलिकोप्टर र ४३ हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।

डुटेर्टेको यस्तो घोषणा

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले यदि युक्रेनमा जारी युद्धमा अमेरिका सामेल भएको खण्डमा आफ्ना सेना नपठाउने घोषणा गरेका छन् । एक सम्बोधनका क्रममा डुटेर्टेले यस्तो बताएका हुन् ।

‘म सेना पठाउने छैन । यदि अमेरिकीहरू युद्धमा सहभागी हुन चाहन्छन्, अमेरिकीहरू यहीँ छन्, मैले किन सेना पठाउने ?’ उनले भने, ‘यदि हिंसा फैलिएको र केही गरी युद्ध यहीँ आइपुगेको खण्डमा अत्यन्त कठिन हुनेछ । म राष्ट्रपति रहेसम्म मेरा एउटै सैनिकलाई पनि युद्धमा पठाउन्न ।’

अमेरिका र फिलिपिन्सबीच आपसी रक्षा सन्धि कायम छ । जसअनुसार एक मुलुकमाथि तेश्रो पक्षले आक्रमण गरेको खण्डमा अर्को मुलुकले सहयोग गर्ने उल्लेख छ ।

सन् २०१६ मा राष्ट्रपतिको पद सम्हालेयता डुटेर्टेले दुई पटक रुसको भ्रमण गरेका छन् । यसअघि केही अवसरमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो ‘व्यक्तिगत मित्र’ र ‘आदर्श’ भएको बताएका थिए ।

अष्ट्रेलिया र जापानद्वारा रुसमाथि थप प्रतिबन्ध

युक्रेनमाथि रुसी आक्रमणविरुद्ध विभिन्न मुलुकहरूले रुसी धनाढ्य र संस्थाहरूलाई प्रतिबन्ध लगाउने क्रम रोकिएको छैन ।

अमेरिका, ईयू, बेलायत, दक्षिण कोरियाजस्ता देशहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरूको घोषणा गरिसकेका छन् । यसैबीच अष्ट्रेलिया र जापानले पनि रुसमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् ।

अष्ट्रेलियाले रुसका धनाढ्य एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ ओलेग डेरिपास्का र भिक्टोर भेक्सेल्बर्गविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो । त्यस्तै, अष्ट्रेलियाले रुसको केन्द्रीय बैंकसहित ११ बैंक र संस्थानहरूमाथि पनि प्रतिबन्ध लगाएको छ ।

पछिल्लो प्रतिबन्धले रुसको सरकारी ऋण जारी र व्यवस्थापन गर्ने कार्यलाई प्रहार गरेको अष्ट्रेलियाको विदेश मन्त्रालयको दाबी छ ।त्यसैगरी जापानले पनि थप १५ रुसी नागरिक र ९ संस्थालाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

जापानी प्रतिबन्धमा पर्नेमा रुसको सरकारी स्वामित्वको हतियार कम्पनी रोसोबोरोनएक्स्पोर्ट पनि समावेश छ ।

इथियोपियामा मानवीय सहायताका लागि राष्ट्रसंघको अपिल

संयुक्त राष्ट्रसङ्घले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । त्यहाँ लामो समयदेखि द्वन्द्व जारी रहेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो क्षेत्रमा अहिले पनि ८ लाख भन्दा बढी नागरिकले सहायताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो रहेको छ ।

तर पनि दिनमा बढीमा ७ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ । टिगरेमा यहाँका द्वन्द्वग्रस्त समूहहरुले संयुक्त राष्ट्रसंघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ ।

टिगरेबाट मात्र २ लाखभन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन् भने यहाँका ८ लाखभन्दा बढीलाई सहयोग आवश्यक छ । तर यहाँ संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता एजेन्सीहरुले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन पनि पाएका छैनन् ।

पुटिन एर्दोगान टेलिफोन वार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । युक्रेनमा रुसी आक्रमण निरन्तर चलिरहेका बेला दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो ।

सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।यसबाहेक दुई देश बीचको व्यापार, लगानी तथा अन्य द्विपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रुसी प्रशासन क्रेमलिनले दिएको जानकारी अनुसार फोन वार्ताका क्रममा हालै रुस र टर्कीका विदेशमन्त्रीबीच यसअघि भएको भेटवार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

साथै रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा पनि टेलिफोन वार्तामा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ । त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।

रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ता भन्दा पनि बढी भएको छ । यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन ।

कोरोना महामारीले श्रम बजार प्रभावित

कोरोना महामारीले श्रम बजारमा असर गरेको छ । महामारीपछि भएको एक अध्ययनले दक्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुगेको देखाएको हो।

विगत दुई वर्षमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र समस्यामा परेको थियो। गत वर्ष कोरोना महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको एसियाली विकास बैंकले जनाएको छ ।

बैंकका अनुसार दैनिक १ दशमलव ९० डलर भन्दा कममा जीवन यापन गर्नेहरुलाई चरम गरिबी मानिएको छ। यो क्षेत्रमा ९३ लाखको रोजगारीसमेत गुमाएका छन्।

जेलेन्स्कीको शर्त

रुस सँगको युद्धको सामना गरिरहेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि केही शर्त अगाडि सारेका छन्।

जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका हुन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शर्त अघि सारेका हुन्। रूसले युद्धको अन्त्य गर्नुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राखेको छ।

त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनस्र्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले शर्तको रुपमा अघि सारेको बीबीसीले उल्लेख गरेको छ।

पुटिनको आलोचना गर्ने मोडेलको शव फेला

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्ने मोडलको शव फेला परेको छ । २३ वर्षे मोडल ग्रेटा वेड्लरको शव सुटकेशभित्र फेला परेको जनाइएको छ ।

गत वर्ष सामाजिक सञ्जालमा पुटिनप्रति आलोचनात्मक टिप्पणी गरेको केही समयलगत्तै देखि उनी हराइरहेकी थिइन् । उनले पुटिनलाई ‘मनोरोगी’ को संज्ञा दिएकी थिइन् ।

राष्ट्रपतिको आलोचना असह्य हुने रुसमा उनी हराएको घटनालाई पुटिनप्रति आलोचनात्मक टिप्पणीसँग जोडेर हेरिएको थियो । यद्यपि उनको मृत्यु र पुटिनप्राितको आलोचनाबीच कुनै सम्बन्ध नरहेको यतिबेला खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका पूर्व ब्वाईफ्रेन्ड दिमित्री कोरोभिनले अघिल्लो वर्ष नै ‘इष्र्याका कारण’ उनको हत्या गरेको स्वीकारेको जनाइएको छ । उनको हत्या गरेपछि पनि कोरोभिनले वेड्लरको सामाजिक सञ्जाल अकाउन्टबाट पोष्ट गर्दै उनी जिवितै रहेको देखाउने प्रयास गरेका थिए ।

जेलेन्स्कीद्वारा जर्मनीसँग थप सहयोगको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई थप सहयोग गर्न जर्मनीसँग आग्रह गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत् जर्मन संसदलाई सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशका लागि बढी समर्थन प्रदान गरी सहयोग गर्न जर्मन चान्सलर ओलाफ सोल्जलाई आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा उनले जर्मनीले रुसी आक्रमणसँग जुझ्न युक्रेनलाई गरेको सहयोग प्रति पनि कृतज्ञता जाहेर गरेको जर्मनीको डिडब्लू टेलिभिजनले जनाएको छ ।

जेलेन्स्कीले रुसले गर्दै आएको आक्रमणविरुद्ध विभिन्न शक्ति राष्ट्रहरूको समर्थन र सहयोग जुटाउनका लागि ती देशका संसद्हरूमा सम्बोधन गर्दै आएका छन् ।

रुसले विगत तीन साता यता युक्रेनमा भिषण सैनिक आक्रमणलाई निरन्तरता दिदै आएको छ । जसका कारण दशौं लाख मानिसहरु युक्रेन छाडी छिमेकी देशमा शरणार्थी बन्न बाध्य छन् ।

जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार दिन आग्रह

युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन् ।

‘त्यसैले हामी तपाईं, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस् ।’ मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ । नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन ।
यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ ।

नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ०९ बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ