यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 अडियो सुन्नुहोस् :

आज वैशाख ५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यस प्रकार रहेका छन् :

रुसी हमलाका कारण लभिभमा ७ जनाको मृत्यु

पश्चिमी युक्रेनको लभिभ शहरमा रुसी फौजले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको छ । लभिभ शहरका मेयर आन्द्रई सादोभीले रुसी आक्रमणका कारण ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

यसअघि युक्रेनी अधिकारीले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको जनाएका थिए । मेयरका अनुसार आक्रमणका कारण पूर्वी युक्रेनबाट विस्थापित भएका मानिसहरूलाई राखेको होटेलमा समेत क्षति पुगेको छ ।

‘हामीलाई युद्धले लभिभमा पनि छाडेन ।’ खार्किभ शहरबाट भागेर आएकी ४७ वर्षीया लुडमिला टुर्चाकले समाचार संस्था एपीलाई भनिन्, ‘युक्रेनमा हामीले सुरक्षित महसुस गर्ने कुनै ठाउँ बाँकी छैनन् ।

रुसी आक्रमणका कारण शहरमा ठूलो विष्फोटको आवाज सुनिएको एपीले जनाएको छ । स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर तथा भिडियोमा आक्रमण भएको स्थलबाट आगोको लप्का र धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

युद्धको चपेटामा परेको पूर्वी क्षेत्रबाट टाढा रहेको लभिभ शहर विस्थापितहरूका लागि सुरक्षित स्थलमात्र नभएर पश्चिमा मुलुकहरूले युक्रेनलाई प्रदान गर्दै आएको सैन्य एवम् मानवीय सहायता आपूर्तिका लागि महत्वपूर्ण केन्द्रका रुपमा रहेको छ ।

खार्किभमा रुसी फौजको आक्रमणमा ५ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् ।

खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको छ । आवासीय क्षेत्रमा भएका ती विस्फोटलगत्तै दमकल र अग्नि नियन्त्रक टोली परिचालन गरिएको छ।

हमलापछि सर्वसाधारण मानिसहरू अत्तालिएका थिए भने सर्वसाधारण मानिसहरू सडकमा दौडिएका देखिन्थे । त्यस्तै, घटनास्थल नजिकैबाट कारहरू हुइँकिएका थिए । आक्रमणपछि सडकमा रगत लतपत्तिएको एएफपीले जनाएको छ । रुसी सेनाले ६ देखि ८ ओटा मिसाइल हमला गरेको बताइएको छ ।

मारिउपोलमा रहेका फौजले अन्त्यसम्म लड्ने युक्रेनी प्रधानमन्त्रीको दृढता

युक्रेनका प्रधानमन्त्री डेनिस श्मियालले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्तिमसम्म लड्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तरवार्तामा श्मियालले मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्त्यसम्म लड्ने बताएको बीबीसीले जनाएको छ ।

‘शहर अझै ढलिसकेको छैन ।’ उनले भने, ‘हाम्रा सैन्य बल, हाम्रा सैनिकहरु त्यहीँ छन्, त्यसैले उनीहरु अन्त्यसम्म लडिरहनेछन् ।’

हिजोमत्रै रुसी फौजले मारिउपोल शहरमा रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न प्रस्ताव गरेका थिए । रुसले शहरको अधिकांश क्षेत्रमा नियन्त्रण जमाएको बताउँदै आएको छ । यद्यपि शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि युक्रेनी फौजले रुसी आक्रमणको डटेर सामना गरिरहेको बीबीसीले जनाएको छ ।

रुसले मारिउपोलको अस्तित्व मेटायो – युक्रेनी विदेशमन्त्री

रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरूमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन् ।

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरू निरन्तर बजिरहेका बीबीसीले जनाएका छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्तित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ ।

युक्रेनमा सोमबार उद्धारकार्य नहुने

युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले सोमबार युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने बताएकी छिन् । युक्रेनी र रुसी अधिकारीबीच मानवीय कोरिडोरलाई लिएर सहमति नजुटेपछि दोस्रो दिन पनि उद्धार कार्य नहुने भएको बीबीसीले जनाएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै सोमबार मानवीय कोरिडोर नखोल्ने निर्णय गरिएको भेरेश्चुकले टेलिग्राममा जानकारी दिएकी हुन् । निकासको बाटोमा उनले रुसी फौजले बम आक्रमण लगायत विभिन्न बाधा उत्पन्न गरेको आरोप पनि लगाइन् ।

यस्तै पश्चिम युक्रेनको लभिभ शहरमा उद्धार गरेर राखिएका युक्रेनी बसेको होटल नजिकै सोमबार बिहान रुसी मिसाइलद्वारा आक्रमण भएको मेयर एन्ड्री सादभीले बताए ।

सो आक्रमणले ६ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै आक्रमणमा ११ जना घाइते भएको सादभीले बताए ।

आर्थिक संकटले श्रीलंकामा औषधि अभाव, जनजीवन कष्टकर

देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरूले अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ ।

‘दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौँ भने मलाई थाहा छैन के हुन्छ’, डा. ज्ञानसेकरमले भने । श्रीलंकाको मेडिकल विशेषज्ञहरूको संघका सचिवसमेत रहेका डा. ज्ञानसेकरमले राजधानी कोलम्बोमा रहेका कुन कुन अस्पतालमा औषधिको कमी छ भनेर सूची तयार गरेका छन् । ‘हामीसँग मेडिकल ड्रग्स, एनेस्थेटिक औषधि, प्रत्यारोपण, स्टिच सामग्रीको अभाव छ । हामीसँग स्टक लगभग समाप्त छ’, उनले भने ।

‘तत्काल राहत नभएसम्म स्वास्थ्य सेवाहरू ध्वस्त हुनेछन्’, उनी भन्छन् । औषधिको आपूर्ति नभए त्यसले गम्भीर परिणाम निम्त्याउने चिकित्सकहरूले चेतावनी दिएका छन् । ‘यति त्यस्तो अवस्था आयो भने हामीले बिरामीको ज्यान जोगाउन सक्नेछैनौँ ।

श्रीलंका इतिहासमै सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ । श्रीलंकाले करिब ८५ प्रतिशत चिकित्सा आपूर्ति आयात गर्दछ । तर, विदेशी मुद्रा सञ्चिति न्यून रहेकाले अत्यावश्यक औषधिहरू अहिले पाउन कठिन छ ।

एनेस्थेटिक्समा प्रयोग गरिने एट्राकुरियम दुई महिनाको मात्र स्टक बाँकी छ । अन्य औषधिको आपूर्ति पनि कमी भइरहेको छ ।

पेनकिलर फेन्टानिलको स्कट अव दुई हप्तामा सकिँदै छ । विभिन्न तीन प्रकारका एन्टिबायोटिकहरूको स्टक पहिल्यै सकिएको छ । प्रतिस्थापन गरेर अभाव व्यवस्थापन गरेको डा. विजेसुरिया बताउँछन् ।

फ्रन्टलाइन चिकित्सकहरू धेरै कम उत्साहित छन् । अभावबारे सार्वजनिकरूपमा सञ्चार माध्यममा उनीहरू खुलेर बोल्न सक्दैनन् । युनियनका प्रतिनिधिहरू र अस्पतालका निर्देशकहरूलाई मात्र सार्वजनिक रूपमा बोल्ने अधिकार छ ।

चिकित्सकहरूले बारम्बार समस्या देखाए पनि सुरुमा श्रीलंकाको सरकारले एक विज्ञप्ति निकालेर नै औषधिहरू सकिएको अस्वीकार गर्‍यो । एक दिनपछि सरकारी सूचना विभागले त्यसलाई सच्याउँदै केही औषधि र उपकरणको अभाव भएको स्वीकार गरेको थियो ।

बीबीसीका अनुसार देशभरका अस्पतालहरूलाई जीवन बचाउने औषधि र उपकरणहरूको आवश्यकता छ । आपूर्तिको कमीले उनीहरूलाई गैर–अत्यावश्यक कार्यहरू स्थगित गर्न र केही उपकरणहरू पुनः प्रयोग गर्न बाध्य पारेको मेडिकल कर्मचारीहरूले गुनासो गरेका छन् ।

श्रीलंकामा १७ नयाँ मन्त्री नियुक्त

श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोताबाया राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरू पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरूको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन् । नव नियुक्त सबै मन्त्रीहरूलाई सोमबार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजपाक्षले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरू मध्ये आठ जना पुराना मन्त्रीहरू नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए ।

देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्यवृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ ।

कोरोना भाइरसका कारण सांघाइमा तीन जनाको मृत्यु

गत मार्च महिनामा लाकडाउन लागू गरेयता पहिलो पटक चीनको संघाईमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएको छ ।

मारिनेहरू ८९ देखि ९१ वर्ष उमेर समूहका रहेको शहरको स्वास्थ्य आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सांघाईको स्वास्थ्य आयोगले पछिल्ला मृत्युको घोषणा गर्दै आइतबार ‘बचाउने पूर्ण प्रयत्नका बावजुद’ तीन जनाको मृत्यु भएको जनाएको हो । मारिनेहरूले कोरोना भाइरसविरुद्धको खोप नलगाएको बताइएको छ ।

सांघाईका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शहरमा ६० वर्षभन्दा माथिका केबल ३८ प्रतिशत बासिन्दाले मात्र पूर्ण खोप लगाएका छन् ।

हालसम्म चीनले शहरमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएको बताउँदै आएको थियो । यद्यपि यो दाबीलाई लिएर धेरैले प्रश्न उठाएको बीबीसीले जनाएको छ ।

सन् २०२० को मार्च महिनायता सोमबारमात्रै पहिलो पटक चिनियाँ स्वास्थ्य अधिकारीले कोरोना भाइरसका कारण कसैको मृत्यु भएको स्वीकार गरेका बीबीसीले जनाएको छ ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोल पुगे

उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोमबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् । उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किम सोल पुगेको जनाइएको छ ।

उत्तर कोरियाले यसवर्ष एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षणहरू गरेको छ । गत हप्ताको अन्त्यमा भएको क्षेप्यास्त्र परिक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो ।

उनले पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्यु–डुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि दक्षिण कोरियामा उनको आगमन भएको हो ।

हालैका वर्षहरूमा निवर्तमान राष्ट्रपति मुन जाय–इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरेपनि उत्तर कोरियाले भने हात बढाएको छैन ।

 ब्राजिलमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्ध हटाइए

ब्राजिलमा कोरोना भाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ । सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको स्वास्थ्य सङ्कटकाल हटाइएको स्पष्ट पारे । उनले भने, ‘हामीले इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलायौँ, धेरै मानिसले पूर्ण खोप लगाइसकेका छन्, त्यसैले हामीले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएका हौँ ।’

महामारीको असर अहिले कम हुँदै गएकाले पनि अव प्रतिबन्धात्मक व्यवस्थाको आवश्यकता र औचित्य नभएको उनको भनाइ छ ।

तर दैनिक नयाँ सङ्क्रमित र कोरोनाका कारण मृत्यु हुने क्रम भने नरोकिएको पनि उनले जानकारी दिए ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ लाख ६२ हजार ११ पुगेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ४४ बजे

फ्रान्स र पोर्चुगल भिड्दै, रोनाल्डो र एम्बाप्पेमा कसले मार्ला बाजी ?

काठमाडौं- युरोकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार राति पूर्वविजेता फ्रान्स र पोर्चुगल

वैतेश्वरमा सडक मर्मतका लागि १६ जना हेरालु

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले बर्खायाम सुरु भएसँगै सडक संरक्षण गर्न

भोटेकोशी जलविद्युत‍को ढलान खस्दा दुई मजदुर पुरिए, १० जना घाइते

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजना-१ को

अर्थसंक्षेप : सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ६३ करोड बढी ऋण प्रवाह, विनियोजन विधेयक पारित 

काठमाडौं– सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी

अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा

काठमाडौं- गत वैशाख २१ गते जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर