काठमाडौं- चीनमा गत मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजान ‘नोज डाइभ’ मा राखिएको सो विमानको फ्लाइट डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्याङ्कनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ ।
चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो । कुन्मिङबाट गुआन्झाउ तर्फ उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।
दुर्घटनापछि विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो ।
‘जहाजले त्यही काम गर्यो जुन काम गर्न ककपिटबाट कसैले विमानलाई निर्देशन दिएको थियो’ अमेरिकी अधिकारीहरूको प्रारम्भिक मूल्याङ्कनसँग परिचित व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ।
दुर्घटनालगत्तै सार्वजनिक भएको एउटा भिडियोमा पनि विमानको अगाडिको भाग आकाशबाट सीधै तल सोझिएको अवस्थामा देख्न सकिन्छ ।
एबीसी न्यूजले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सो दुर्घटना नियोजित भएको हुनसक्ने जनाएको छ ।
प्रतिक्रिया