म्याग्दीको ऐतिहासिक कोतघरको पुनःनिर्माण सम्पन्न | Khabarhub Khabarhub

म्याग्दीको ऐतिहासिक कोतघरको पुनःनिर्माण सम्पन्न


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ ।

बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।

पुनःनिर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-७९ मा रु आठ लाख विनियोजन गरेको थियो । नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन् । ‘छानो चुहिने, भुइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो’, उनले भने, ‘पुरानो स्वरुप कायम रहने गरी संरचना बनाएका छौँ ।’ गत फागुनको तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएको थियो ।

छानोमा तीनवटा गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुडाल कलात्मक शैलीका छन् । भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए । ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनःनिर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।

‘ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो’, उनले भने, ‘रु पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ ।’

सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इटा राखेर आकर्षक बनाइएको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ ।

यस कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । कोतघरलाई बेनीमा भित्रने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पहल गर्ने बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने उनले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : १० बजे

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछु : नेत्री राणा

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले पार्टी पदाधिकारीमा

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

बाँके- नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन,

युगाण्डा टी–२० विश्वकपमा छनोट, जिम्बाब्वे बाहरियो

काठमाडौं- अफ्रिकी क्षेत्रबाट युगाण्डा टी–२० विश्वकपमा छनोट भएको छ ।

निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न

चितवनमा दुई वटा गैँडाको खागसहित ८ जना पक्राउ

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुई वटा गैँडाको खागसहित