काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :
१. नागरिकता विधेयक पेस हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ फेरि संसद्मा पेस हुने भएको । आज बस्ने प्रतिनिधि सभाको बैठकमा सो विधेयकमाथि छलफल हुने भएको हो । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
२. भदौ १५ गतेबाट मतपत्र छपाई सुरु
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट समानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ । निर्वाचन आयोगमा मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य सुरु गरेको हो । केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले सुरुमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिने जानकारी दिए।
३. सत्ता गठबन्धनको बैठक बस्दै
सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकमा राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ ।
४. काठमाडौं ८ बाट उम्मेदवारी दिने सुमन सायमीको घोषणा
अभियन्ता सुमन सायमीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सायमीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।
५. हर्क साम्पाङको सय दिने कार्य विवरण सार्वजनिक
धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालमा श्रम संस्कृतिको क्रान्ति आफूले सुरु गरेको बताएका छन्। सय दिनमा गरेका कामको सूची सार्वजनिक गर्दै मेयर साम्पाङले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको उल्लेख गरेका हुन् । आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका साम्पाङले ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख बिरुवा रोपेको उल्लेख गरेका छन्।
६. कलंकीको खसी बजार १५ दिनभित्र हटाउन महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । वडा नम्बर १४ मा पर्ने भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो । खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको उजुरी आएपछि खसीबजार हटाउन लागिएको महानगरले जनाएको छ ।
७. रौतहटमा बसको ठक्करबाट ३ जनाको मृत्यु
रौतहटको चन्द्रपुरमा आज बिहान बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौँबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
८. ओखलढुंगाको एक घरमा आगलागी
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ ठाडेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति विद्युत सर्ट भएर लागेको आगोले स्थानीय डम्बरबहादुर मगरको चार तले कच्ची घर जलेर नष्ट भएको हो । आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
९.अल्जेरियामा डढेलोबाट २६ जनाको मृत्यु
अल्जेरियामा डढेलोका कारण २६ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा रहेको जंगलमा लागेको भीषण डढेलोका कारण दर्जनौँ मानिसहरु घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अल्जेरियाका आन्तरिक मामिलामन्त्री कामेल बेल्ड्जोउडले एल तार्फमा २४ जनाको मृत्यु भएको जनाएका छन् । सो क्षेत्र ट्युनिसियाको सीमा नजिक पर्छ । यस्तै, सेतिफमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
१०. अफगानिस्तानविरुद्धको टी–ट्वान्टी सिरिज आयरल्याण्डलाई
घरेलु टोली आयरल्याण्डले अफगानिस्तानविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज जितेको छ । बेलफास्टमा गए राति भएको खेलमा पाहुना टोलीलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सिरिज ३–२ ले जितेको हो ।
प्रतिक्रिया