अति आवश्यक वस्तुमा पनि कन्जुस्याइँ गर्छन् नाइजेरियाका बासिन्दा « Khabarhub

अति आवश्यक वस्तुमा पनि कन्जुस्याइँ गर्छन् नाइजेरियाका बासिन्दा



काठमाडौँ– संसारमा कुनै पनि महिलाको हकमा दुईवटा मात्र सेनीटरी प्याडले महिनावारी कटाउनु आश्चर्यजनक कुरा हो । यो त्यत्तिकै कठिन पनि हो । आठ वटा प्याड रहेको एउटा प्याकेट सामान्यतया प्रचलनमा आउने गरेको छ । यो पनि स्वास्थ्य र सरसफाइमा धेरै सचेतना अपनाउने हो भने पर्याप्त मानिँदैन ।

एउटा अफ्रिकी देश नाइजेरियामा भने अवस्था फरक छ । नाइजेरियामा दुई वटा मात्र प्याड भएको नयाँ प्याकेट बजारमा आएको छ । त्यसको माग एकदमै बढेको छ । अहिले यसको विक्री एकदमै धेरै छ । नाइजेरियाको पछिल्लो आर्थिक अवस्थाको चित्रण गर्ने यो एउटा उदाहरण हो ।

नाइजेरियामा बढ्दै गएको गरीबीको तीतो यथार्थलाई पनि यसले छर्लङ्ग पारेको छ ।

नाइजेरियाकी महिला स्वास्थ्यविद् डा. चिओमा न्वाकन्मा यो अवस्थालाई दर्दनाक भन्न रुचाउँछिन् । यो नै अन्तिम विकल्प नहुन सक्छ । परन्तु यो यथार्थ यो हो कि, दुई प्याडले पूरै महिनावारीलाई पार गर्ने प्रयास अधिक नाइजेरियाली महिलाले गर्छन् ।

डा. न्वाकन्मा सामान्यतया: आठ वटा प्याड पनि पर्याप्त नहुने र यसका लागि थप खरिद आवश्यक रहेको बताउँछिन् ।

यसरी प्याडको साटो अन्य टिस्यु पेपर तथा जथाभावी कपडाको प्रयोग गर्ने प्रचलन बढ्दो छ । डा. न्वाकन्माकै विचारमा यो स्वास्थ्यका लागि असाध्यै घातक छ । अति आवश्यक सामानको विक्री यसरी भइरहेका यी दृश्यले नाइजेरिया जीवन नै कति कठिन बनेको छ भन्ने कुरालाई चित्रित गरेको छ ।

गत मार्चमा नाइजेरियाको वार्षिक मुद्रास्फीति १८ प्रतिशत पुगेको थियो । खाद्यान्नमा मुद्रास्फीति २३ प्रतिशत पुगेको थियो । यसपछि उत्पन्न अवस्थालाई झोलाको व्यवसायको संज्ञा दिन थालिएको हो ।

सेनीटरी प्याडदेखि बच्चाको दूधसम्म खरिद गर्न उपभोक्तालाई कठिन भइरहेको छ । खाना पकाउने तेलदेखि सेरलेकसम्म पनि खरिदका लागि कठिनाइ उत्पन्न हुन थालेको छ । तलब वृद्धिको तुलनामा अस्वाभाविक र नाटकीय रूपमा सामानको मूल्य वृद्धि भएपछि हरेक वस्तु साना–साना प्याकेटमा खरिद गर्दै जसोतसो गर्जो टार्ने प्रचलन सुरु भएको छ ।

‘मैले हरेक सामान कार्टुनमा किन्ने गरेको थिएँ । तर, अहिले हरेक सामान किन्न कठिन भएको छ ।  जत्ति सानो प्याकेट भए पनि सस्तो र आफूले खरिद गर्न सक्ने मात्र किन्ने गरेको छु,’ नाइजेरियाकी एक गृहिणी चिका अडाटोयवा आफ्ना तीन बच्चालाई पर्याप्त खाने कुरा किन्न सक्ने या नसक्ने भन्ने चिन्तामा अल्झिएकी छिन् ।

बेली क्रिम लीक्वीरले सन् २०२० को अन्त्यमा नै यस खालको सानो प्याकेटको अवधारणा सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो । सो समयमा नाइजेरियाका बासिन्दा आफ्ना लागि यति खराब दिन आउन सक्छ भन्ने सोचेका पनि थिएनन् ।

अहिले मूल्य वृद्धिले साना प्याकेटमा  सामान किन्न त सबै बाध्य छन् नै ।  साथै ताजा सामान पाउन पनि कठिन हुन थालेको छ ।

बजारमा सामान किन्न एक दिन छाडेर अर्को दिन पुग्यो भने मूल्य वृद्धि भइसकेको हुन्छ । यसरी हरेक दिन मूल्य वृद्धि भइरहेका कारण पसलका मालिक पनि केही दिन सामान राखेर बेच्न थालेका छन् ।

लागोसको ओइंगो बजार कुनै समय अत्यन्त व्यस्त हुने गर्थ्यो । त्यहाँ त्यत्तिकै भिड पनि हुने गर्थ्यो । मानिसहरू मज्जाले बार्गेनिङ गरेर सामान किन्ने गर्थे । अहिले त्यहाँको अवस्था त्यस्तो छैन ।

अन्यत्र बजारमा जस्तै त्यहाँ पनि सामान लुकाइन्छ । सामान किन्नलाई कठिन छ । किन्नेहरू भाउ मिली हाले पनि पहिलेको जस्तो कार्टुनका कार्टुन सामान किन्दैनन् । उनीहरू एउटा सानो झोलामा सकेसम्म धेरै वस्तु अटाउन खोज्छन् ।

त्यहाँ एउटा चियाजस्तो हरियो घाँसको प्रचलन थियो । तितो स्वादको त्यो घाँसको मूल्यमा त एक वर्षमा दुई गुणाले वृद्धि भएको छ । कुनै समय एउटा सिङ्गो काठको अर्डर हुने त्यहाँ अहिले साना टुक्रा अर्डर हुन थालेका छन् ।

चीओमा चोउकुले यस वर्षको क्रिसमस गत वर्षको भन्दा धेरै फरक भएको महसुस गरिन् । ‘गत वर्ष म २० हजार नैरा (नाइजेरियाको मुद्रा) लिएर बजार आएको थिएँ । यस वर्ष ३० हजार नैरा लिएर आएँ । तर, त्यो भन्दा धेरै/थोरै सामान लिएर फर्केँ,’ उनले भनिन् ।

नाइजेरियास्थित विश्व बैङ्कका वरिष्ठ अर्थशास्त्री ग्लोरिया जोसेफ राजी यो मूल्यवृद्धि सरकारको नीतिका कारण भएको बताउँछिन् । सन् २०१५ मा त्यहाँको केन्द्रीय बैङ्कले धान गहुँ, आलु र निजी जेट लगायत ४१ वस्तुको सूची तयार गरेको थियो । ती कुनै पनि चिज वैदेशिक विनिमयको रूपमा खरिद गर्न पाइँदैन थियो ।

यसको उद्देश्य आयातलाई  एउटा सीमाभित्रै राख्ने तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्ने थियो । यस सूचीमा अधिकारीहरूले गत अप्रिलमा चिनी र मकै पनि थपेका थिए । यसपछि स्मगलिङ हुन नदिनका जमिनका सीमाहरू सन् २०१९ मा बन्द गरिए ।

जोसेफ राजी यसरी सन् २०१९ मा सीमा बन्द भएपछि नै यसरी मूल्यवृद्धि हुन थालेको बताउँछिन् । यसले खाद्यान्न र सीमाबाट आउने अन्य खालको उत्पादन तथा सहयोगी खाद्यान्नलाई पूर्ण रूपमा रोकेको थियो ।

सन् २०२० को डिसेम्बरमा सीमाहरू खुला गरिए । तथापि, त्यहाँ अझै अभाव छ । जब आपूर्तिको तुलनामा माग बढी हुन्छ, मूल्यवृद्धि हुने अर्थशास्त्रको स्वभाविक नियम हो ।

जोसेफ राजीकै मत छ कि, ‘सीमाहरू खुला भए । तर, त्यहाँका बजार अझै सुस्त नै छ, यस कारण नाइजेरियामा सामानको निर्यात बढाएर मागको तुलनामा आपूर्ति हुन सकेन भने मूल्य घट्ने कुनै सम्भावना नै छैन ।’

अति आवश्यक वस्तुमा देखिएको यस ढङ्गको मूल्यवृद्धिले त्यहाँको जनजीवनलाई नराम्रोसँग प्रभावित पारेको छ । विश्व बैङ्कमा अनुसार यसरी मुद्रास्फीति कायम रहे नाइजेरियामा थप ७० लाख जना गरीबीको रेखामुनि पुग्ने छन् । अहिले नै नाइजेरियामा करीब आधा जनसङ्ख्या चरम गरिबीसँग सङ्घर्ष गरिरहेका छन् ।

हुन सक्छ, नाइजेरियाको मुद्रास्फीतिले उचाइ पार गरिसकेको छ । तर, यो कहिले लाग्छ भनेर अनिश्चित छ ।

नाइजेरियाको विगतलाई आधार मान्दा त्यहाँको अर्थतन्त्र पनि औपनिवेशिक राजनीतिक इतिहाससँग जोडिएको छ । धेरै अफ्रिकी मुलुकहरू चरम आर्थिक सङ्कट र गरीबीको मारमा रहे पनि नाइजेरिया सुधारोन्मुख देशको रूपमा आफूलाई उभ्याउन सफल रहँदै आएको थियो । १५ औँ शताब्दीमा पोर्चुगलले अफ्रिकाबाट सुनहरू युरोप लैजाने काम गरेको थियो ।

यसमा नाइजेरियालाई सबैभन्दा बढी प्रयोग गरिएको थियो । कतिसम्म भने त्यहाँको सुन भारतसम्म पनि आइपुगेको  जनाइन्छ । त्यस समयदेखि नाइजेरियाको अर्थतन्त्र धेरै अफ्रिकी देशको तुलनामा बलियो मानिएको हो ।

सन् १९०० देखि १९४५ मा उत्तरी नाइजेरियामा बेलायती साम्राज्यले व्यापारलाई तीव्र बनाएको थियो । यसलाई नाइजेरियाको अर्थतन्त्रको अर्को युग पनि मान्न सकिन्छ । सन् १९८० देखि २००० सम्म पेट्रोलियम पदार्थको आपूर्तिको कारण नाइजेरियाको अर्थतन्त्र अर्को चरणमा प्रवेश गरेको हो ।

यसपछि नाइजेरियाको अर्थतन्त्रलाई बोको हरामको सङ्घर्ष र आन्दोलनले प्रभावित पारेको थियो ।

त्यसो त पेट्रोलियम पदार्थको आपूर्तिसँगै सम्पन्नताको बाटोमा  गइरहेको देखिए पनि सो समयमा पनि नाइजेरियामा वितरणमा समस्या थियो । गरीबीको रेखामुनि धेरैजना रहेकै कारण बोको हरामको गतिविधिमा धेरैको आकर्षण बढेको हो ।

तर, त्यसले नाइजेरियाको अर्थतन्त्रमा नराम्रोसँग धक्का दिएको थियो । त्योभन्दा नराम्रो धक्का सन् २०१९ को सीमा बन्द गर्ने निर्णयबाट भएको थियो । शायद अबको केही समय सेनीटरी प्याडदेखि तरकारी किन्न समेत नाइजेरियालीले कन्जुस्याइँ गर्ने छन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ०५ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना