विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज चैत्र ५, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च १९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

फिनल्याण्ड लगातार पाचौँ पटक विश्वकै सबैभन्दा खुशी मुलुक बन्न सफल
फिनल्याण्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्याण्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्याण्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्विट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जेम्बर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्विडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।

नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ ।
त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औँ स्थानमा छ ।

युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी
रुसले युक्रेनमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । रुसको इन्टरफ्याक्स समाचार संस्थाले युक्रेनमा पहिलो पटक किन्जल नामक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो ।

हाइपरसोनिक क्षेप्यास्त्र प्रहारबाट युक्रेनको पश्चिममा रहेको हतियार भण्डार केन्द्रलाई ध्वस्त बनाइएको दाबी गरिएको छ ।

‘हवाई ब्यालिष्टिक प्रणालीको किन्जल हवाई क्षेप्यास्त्रले इभानो फ्रान्किभ्स्क क्षेत्रमा रहेको डेलियाटिन गाउँस्थित क्षेप्यास्त्र एवम् हवाई सैनिक उपकरण राखिएको भूमिगत भण्डारणलाई ध्वस्त बनाइदिएको छ ।’ रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले भने ।

इभानो फ्रान्किभ्स्क क्षेत्रको ५० किलोमिटर सीमा नेटो सदस्य मुलुक रोमानियासँग जोडिएको छ । आवाजको वेगभन्दा १० गुण तीव्र गतिमा उड्ने किन्जल क्षेप्यास्त्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आदर्श हतियार’ को संज्ञा दिएका थिए ।

किन्जल हाइपरसोनिक क्षेप्यास्त्रलाई रुसले सन् २०१८ मा सार्वजनिक गरेको थियो ।

अमेरिकाद्वारा १ सय रुसी विमानमाथि उडान प्रतिबन्धको घोषणा
रुसी प्रशासनसँग सम्बन्ध रहेको भनिएका १ सय विमानलाई अमेरिकामा उडान भर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले युक्रेनविरुद्ध आक्रमण गरिरहेको रुसमाथि लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने १ सय विमानलाई उडान भर्न प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी उडान प्रतिबन्धमा परेको विमानको सूचीमा इङ्गलिस क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचको एउटा विमान पनि परेको जनाइएको छ । यो सूचीमा रुसको हवाई सेवा प्रदायक कम्पनी एरोफ्लोटका विमानहरू पनि छन् ।

सूचीमा अधिकांश अमेरिकी जहाज निर्माता कम्पनी बोइङका विमान रहेपनि अब्रामोभिचले प्रयोग गर्ने गल्फस्ट्रिमको एउटा विमान पनि रहेको बीबीसीले जनाएको छ ।
अमेरिकाको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता विमानमा इन्धन भर्ने, मर्मत गर्ने र अरु प्राविधिक सहायता गर्ने काम पनि अमेरिकी प्रतिबन्धात्मक व्यवस्थाको विरुद्धमा हुने बताइएको छ ।

यससँगै विश्वका कुनै पनि ठाउँमा यस्ता विमानलाई सेवा दिने कार्य अमेरिकी प्रतिबन्धको विरुद्धमा हुने ठहर गर्दै भारी जरिवाना र सम्भावित कारावासको सजाय हुने समेत चेतावनी दिइएको छ ।

अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्दोले पछिल्लो कदम युक्रेनमाथि रुसको कठोर ‘चाहनाको युद्ध’ को प्रतिक्रियास्वरूप आएको जनाएकी छिन् । ‘हामी यो सूची सार्वजनिक गर्दैछौँ, ता कि विश्वले थाहा पाओस् हामी कुनै पनि रुसी वा बेलारुसी कम्पनी वा धनाढ्यले दण्डरहित हिसाबमा यात्रा गर्न नसकून् ।’ उनले भनिन् ।

१२ रुसी हवाई निशाना ध्वस्त पारेको युक्रेनी दाबी
२४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ ।

युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो । फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो ।

यीमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त पारेको जनाइएको छ भने बाँकी दुई निशाना जमिनमा आधारित हवाई रक्षा एकाइले ध्वस्त पारेको युक्रेनी वायुसेनालाई उद्धृत गर्दै युक्रेनबाट प्रकाशित हुने युक्रेइन्फोर्म अनलाइनले जनाएको छ ।

रुसले गत फेब्रुअरी २४ यता युक्रेनमा आक्रमण थालेको हो । त्यसयता युक्रेनी पक्षले १४ हजार २ सय भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको र अरु सयौँ हतियार एवम् सैनिक उपकरण ध्वस्त पारिदिएको दाबी गरेको छ ।

पुटिनद्वारा युक्रेनमा जारी ‘सैनिक कारबाही’ को बचाउ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी ‘सैनिक कारवाही’ को बचाउ गरेका छन् । युक्रेनको क्राइमियालाई आफ्नो मुलुकमा गाभेको ८ वर्ष पूरा भएको उपलक्ष्यमा राजधानी मस्कोमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनमा रुसी फौजले गरेको ‘सैनिक कारवाही’ को बचाउ गरेका हुन् ।

‘हामीबीच यस्तो एकता धेरै लामो समयदेखि थिएन ।’ उनले भने । रुसी प्रशासनले युक्रेनमा जारी आक्रमणलाई युद्ध नभई ‘विशेष सैनिक कारवाही’ को संज्ञा दिँदै आएको छ । यसअघि त्यहाँका मिडियाहरूलाई युक्रेनमा जारी रुसी सैन्य गतिविधिका सन्दर्भमा ‘युद्ध’ शब्द प्रयोग नगर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।

रुसको समाचार संस्था रिया नोभोस्तीका अनुसार मस्कोको लुज्निकी रङ्गशालामा आयोजित ¥यालीमा ९५ हजार जनाको उपस्थिति थियो भने अरु १ लाख जना रङ्गशालाबाहिर पुटिनको भाषण सुन्न भेला भएका थिए ।

यद्यपि रुसका स्वतन्त्र समाचार संस्थाहरूले भने उक्त र्‍यालीमा केही मानिसहरूलाई आउन बाध्य पारिएको समेत आरोप लगाएका छन् । ‘उनीहरूले हामीलाई बसमा हालेर यहाँसम्म ल्याइपु¥याए ।’ रङ्गशालाबाहिर एक महिलाले सोता समाचार संस्थालाई भनिन् । यसबाहेक ¥यालीमा सहभागी हुन केही मानिसहरूलाई ५०० रुबल दिइएको अभ्तोजाक लाइभ टेलिभिजनले जनाएको छ ।

र्‍यालीमा रुसी प्रोपागाण्डा समाचार च्यानल आरटीकी प्रधानसम्पादक मारगारिटा सिमोन्यान र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाको पनि उपस्थिति रहेको मस्को टाइम्सको अनलाइन सँस्करणले जनाएको छ ।

अर्थपूर्ण वार्ताका लागि युक्रेनी राष्ट्रपतिको आह्वान
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् ।

रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले विलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् ।
वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ ।’

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना
उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा चार जना सवार रहेको नर्वेजियन उद्धार केन्द्रले जनाएको छ ।
दुर्घटनामा चारै जनाको मृत्यु भएको बताइएको छ ।

एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको अमेरिकी मरिन कोरको एमभी २२– बी ओस्पेरी विमान उत्तरी नर्वेको बोडो नगर नजिकै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

खराब मौसमका कारण उद्धार गर्न गएका हेलिकोप्टर अवतरण गर्न समस्या परेको स्थानीय अधिकारीले जनाएका छन् । सोही कारण स्नोमोबिलको प्रयोग गरी घटनास्थलमा टोली पठाइएको जनाइएको छ ।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो ।
‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ ।’ प्रवक्ताले भने ।

जापानी प्रधानमन्त्री भारत भ्रमणमा
जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी सङ्कटको बीचमा आफ्नो पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । दुईदिने भारत बसाइका क्रममा उनी १४ औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलन पछिल्लो पटक टोकियोमा सन् २०१८ को अक्टोबरमा भएको थियो । सो अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने भारतको एएनआई समाचार संस्थाले जनाएको छ ।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएका समयमा किशिदाको भारत भ्रमणलाई अत्यन्त महत्त्वको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो साझेदारीलाई अगाडि बढाउन पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

यसअघि मोदीले जापानी प्रधानमन्त्रीले पदभार ग्रहण गरेलगत्तै अक्टोबर २०२१ मा किशिदासँग टेलिफोन वार्ता गरेका थिए । सन् २०१४ मा मोदीको जापान भ्रमणका क्रममा जापानले भारतका लागि ३५ खर्ब येन लगानी गर्ने घोषणा गरेको थियो ।

हाल भारतमा १४ सय ५५ जापानी कम्पनीहरू रहेको जनाइएको छ । राजस्थानको नीमराना र आन्ध्रको श्री शहरसहित ११ स्थानमा जापान औद्योगिक टाउनशिप पनि स्थापना गरिएको छ ।

जापान भारतको सबैभन्दा ठूलो विकास साझेदार हुनुको साथै प्रत्यक्ष वैदेशिक लगानी एफडीआईका आधारमा भारतको पाँचौँ ठूलो साझेदार मुलुक पनि हो ।

योगीको दोश्रो सपथको मिति तय
उत्तर प्रदेशमा बहुमतसहित जित हात पारेको भारतीय जनता पार्टीले सरकार बनाउँदै छ ।

सपथ ग्रहण कार्यक्रम आगामी चैत ११ गते (२५ मार्च) लखनउमा हुने भएको छ । सहिद पथ स्थित इकाना स्टेडियममा दिउँसो ४ बजे सुरु हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जहाँ मुख्यमन्त्री आदित्यनाथले दोस्रो पटक शपथ लिनेछन् । कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायत सहभागी हुने जनाइएको छ ।

कोरोना संक्रमित घटेनन्
विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन ।

पछिल्लो २४ घण्टामा मात्र १६ लाख ४० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
थपिनेमा सबैभन्दा धेरै दक्षिण कोरियामा मात्रै ४ लाख ७ हजारमा संक्रमण पुष्टि भएको छ ।

जर्मनीमा २ लाख ८४ हजार थपिँदा फ्रान्समा ९७ हजार, बेलायतमा ९० हजार, नेदरल्याण्डमा ५४ हजार, ब्राजिलमा ४८ हजार, अमेरिकामा २९ हजारमा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा निको हुनेको संख्या ११ लाख ९१ हजार ८७७ छ भने ४ हजार ९७६ जना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ३० बजे

बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी

बागलुङ – कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले

छुम्बी लामा बने क्यानको प्रवक्ता

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई

विकास र समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

बुटवल उपमहानगरको बजेट पारित

लुम्बिनी – बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः