नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोसः

प्रधानमन्त्री देउवाद्वारा नयाँ खिम्ती सबस्टेसनको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको खिम्तीमा निर्माण सम्पन्न भएको नयाँ खिम्ती सबस्टेसनको औपचारिक उद्घाटन गरेका छन् । आज हेलिकोप्टरमार्फत् खिम्ती पुगेका प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत निर्यात गर्ने नेपालकै दोस्रो ठूलो सबस्टेसनको उद्घाटन गरे ।

उक्त सबस्टेसनबाट हाल माथिल्लो तामाकोसी आयोजनाको ४५६ मेगावाट, लिखु ४ को ५२ मेगावार्ट र लिखु ए जलविद्युत आयोजनाको २४ मेगावाट विद्युत नेसनल ग्रिडमा जोडिएको छ । तामाकोसी करिडोरका सानाठूला गरी आधा दर्जन निजी तथा सरकारी लगानीको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

एमालेले निर्वाचनमा अत्यधिक सिटमा विजय हासिल गर्छ: अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् । आज काठमाडौँमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताए ।

उनले अव हुने स्थानीय तहको चुनावको नतिजाले प्रादेशिक र संघीय चुनावको झलक दिने धारणा राखे । अव २० हजार भन्दा बढि जनप्रतिनिधि जिताउनुपर्ने र ४०० भन्दा बढि पालिकामा एमालेले विजयी हासिल गर्नुपर्ने उहाँको भनाइ छ ।

आगामी निर्वाचनमा सही विचार लिएर जनतामा जानुपर्छः ओली
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा सही विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि र समाजवादका लागि सही विचार लिएर जनतामाझ जानुपर्ने बताए ।

उनले समृद्ध नेपाल, सुखी नेपाली भन्नु नै जनताको बहुदलीय जनवादको रूपान्तरण भएको तर्क गरे । केहीलाई समृद्ध नेपाल, सुखी नेपाली नारा नै मन नपरेको र यसलाई परिवर्तन गर्न खोजेको उनले बताए ।

गठबन्धन दल मिलेर अघि बढ्ने नेकपा एसका नेता खनालको दाबी
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी चुनावमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा खनालले खास खास स्थानमा गठबन्धन दल मिलेर अघि बढ्ने बताए ।

उनले मुलुकलाई निकास दिनका लागि गठबन्धनको आवश्यकता र औचित्य पुष्टि भइसकेको धारणा राखे । उनले निर्वाचनमा पार्टीको घोषणापत्रका साथ तयारीमा जुट्न निर्देशन दिए ।

आगामी निर्वाचनमा एमालेले ठूलो पराजय ब्यहोर्छ: पर्यटनमन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दावी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताए ।

उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे ।

पुरानो इतिहास बोकेको समय फल्चाको पुनःनिर्माण सम्पन्न
ललितपुरको पुल्चोकस्थित दुईसय वर्ष पुरानो इतिहास बोकेको समय फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ । आज ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आयोजित एक कार्यक्रमका बीच उक्त फल्चाको शिलालेखको अनावरण गरेका हुन् ।

महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण सम्पन्न गर्न सफल भइसकेको जानकारी दिए । उनले पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको भन्दै आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गरे ।

सबै नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु: विद्यासुन्दर शाक्य
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको बताए ।

आज काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरूले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए । उनले सबै वडा कार्यालयहरूलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर गरे ।

जनकपुरधाममा आज होली मनाइयो
मधेश प्रदेशसहित मुलुकको विभिन्न स्थानमा शुक्रबार नै होली पर्व मनाइए पनि मिथिला क्षेत्र (जनकपुर)मा भने आज धुमधामका साथ होली पर्व मनाइएको छ । जनकपुरसहित यस क्षेत्रमा १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने चलन छ ।

हिजो परिक्रमा सम्पन्नभएपछि आज यहाँ एक दिन ढिलो होली पर्व मनाइएको हो । होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम आयोजना गरेका थिए । रंग अबिरको यो पर्वमा एकापसमा रंग लगाउने गरिन्छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सत्ता गठबन्धनका विद्यार्थीको विरोध
सत्ता गठबन्धन दल आबद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति आपत्ति जनाएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले आज विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । आज जारी गरिएको विज्ञप्तिमा नेविसंघबाहेकका सत्ता गठबन्धनमा आबद्ध विद्यार्थी संगठनको मात्रै हस्ताक्षर छ ।

विज्ञप्तिमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।

त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित गरेको छ । आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।

आयोगले आज एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९३ पीसीआर परिक्षणका क्रममा ८ जना र २ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ४०९ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल सम्म नेपालमा ९ लाख ६२ हजार ५ सय ८२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार ५ सय ९५ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

चितवनमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु, चार घाइते
चितवनको भरतपुर महानगरपालिका–१ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार झापाको दमक नगरपालिका–५ का ७६ वर्षीय सोमप्रसाद पोखरेलको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ । अटोमा सवार अरू चार घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

१५ जना घाइतेलाई घोराही ल्याइयो
दाङको सीमा क्षेत्र तथा प्युठानमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो ।

प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार चलिरहेको छ ।

भक्तपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गएराति काठमाडौंबाट भक्तपुर जाँदै गरेको ट्याक्टरबाट खसेर उदयपुरको गाइघाट घर भई ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो ।

बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट एक्कासी सडकमा खसेका कार्की घाइते भएको र समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

सात महिनामा करिब सात अर्बको फलफूल आयात
चालु आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरको फलफूल आयात भएको छ । यस अवधिमा आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात ह्वात्तै बढेको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ ।

भन्सार विभागका अनुसार छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको छ ।

एटीएमबाट पैसा निकाल्ने घटे
पछिल्ला महिनामा एटीएम मेसिनको संख्या बढ्दै गए पनि त्यसबाट पैसा निकाल्ने क्रम घट्दै गएको छ । विद्युतीय भुक्तानी (वालेट, मोबाइल बैकिङ, कनेक्ट आईपीएस आदि)मा मानिसहरू अभ्यस्त हुन थालेपछि एटीएमबाट पैसा निकाल्ने क्रम घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

एकातिर वालेट, मोबाइल बैकिङ, क्यूआर कोड लगायत विद्युतीय भुक्तानीका माध्यमहरूका प्रयोगकर्ता र कारोबार रकम बढ्नु अर्कोतिर एटीएमका प्रयोगकर्ता र कारोबार रकम दुबै घट्नुले उल्लिखित तथ्य पुष्टि हुने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : १५ बजे

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ ।