यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज वैशाख ६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

पूर्वी युक्रेनमा रुसले आक्रमण थाल्यो

रुसले पूर्वी युक्रेनमा विशाल स्तरको सैनिक आक्रमण थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा अपेक्षित ठूलो स्तरको सैनिक आक्रमण थालेको जनाएका हुन् ।

बीबीसीका अनुसार उनले ‘डोनबासका लागि युद्ध’ चलिरहेको बताएका हुन् । नियमित भिडियो सन्देशमा उनले रुसले पूर्वी युक्रेनमा आक्रमणका लागि ठूलो स्तरमा सैनिक तैनाथ गरेको समेत बताए ।

यद्यपि युक्रेनको रक्षाका लागि आफूहरू तयार रहेको उनको भनाइ छ । ‘जतिसुकै रुसी सैनिक तैनाथ भएपनि हामी लड्नेछौँ । हामी हाम्रो रक्षा गर्नेछौँ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यता पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले भने ‘नियमित’ लडाइँका कारण आफ्नो क्षेत्रको अवस्था ‘नर्क’ भएको टिप्पणी गरेका छन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध सैनिक आक्रमण थालेको थियो । यद्यपि तेज युक्रेनी प्रतिरोधका कारण राजधानी कब्जा गर्न नसकेपछि हाल रुसी फौजले आफ्नो ध्यान पूर्वी युक्रेन तर्फ केन्द्रित गरेको बताइएको छ ।

पूर्वी युक्रेनमा आक्रमण थालेको रुसी फौजद्वारा एक शहर कब्जा

पूर्वी युक्रेनमा सैनिक आक्रमण थालेका रुसी फौजले लुहान्स्क क्षेत्रको एउटा शहर कब्जा गरेका छन् । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले रुसी फोजले लुहान्स्क क्षेत्रको क्रेमिन्ना शहरमा नियन्त्रण जमाएको बताएका हुन् ।

उनका अनुसार युक्रेनी सैनिक पछि हटेपछि उक्त शहर रुसी नियन्त्रणमा गएको हो । सो शहरमा रुसी फौजले चारैतिरबाट आक्रमण गरेको उनको भनाइ छ ।

‘हाम्रा रक्षकहरूले पछि हट्नुपर्यो । अहिले उनीहरु नयाँ स्थानबाट रुसी फौजविरुद्धको लडाइलाई निरन्तरता दिइरहेका छन् ।’ शेरी हाइडाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनका अनुसार शहरमा २ सय जति सर्वसाधारणको मृत्यु भइसकेको छ । यद्यपि उनीहरूको कुन अवधिमा मृत्यु भएको भन्ने बारे उनले नखुलाएको रोयटर्सले जनाएको छ ।

रुसी फौजको नियन्त्रणमा गएसँगै सरकारी अधिकारीहरूले सो क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने प्रयासमा रहेको बताइएको छ ।

यस शहर रुसी फौजको नियन्त्रणमा गएको पुष्टि भएमा पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसले कब्जा गरेको यो पहिलो शहर हुनेछ । रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि सो शहरको जनसंख्या १८ हजार रहेको रोयटर्सले जनाएको छ ।

अफगानिस्तानको विद्यालयमा विष्फोट हुँदा ६ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयमा भएको विष्फोटनमा ६ जनाको मृत्यु भएको छ । काबुलको दस्तबराची क्षेत्रमा रहेको विद्यालयमा दुई वटा विष्फोट भएको काबुल प्रहरी प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विष्फोटबाट अरु ११ जना घाइते भएको जनाइएको छ । दस्तबरची क्षेत्रमा रहेको अब्दुल रहिम शहीद उच्च विद्यालयमा दुईवटा बम विष्फोट भएको प्रहरी प्रवक्ता खालिद जाद्रानले एएफपीलाई बताएका हुन् ।

‘यो प्रारम्भिक संख्या हो । हामी घटनाबारे थप विवरण संकलन गर्दैछौँ ।’ जाद्रनले भने । विद्यार्थीहरु बिहानको कक्षा सकेर विद्यालयबाहिर निस्कने बेला विष्फोट भएको बताइएको छ । त्यसबेला विद्यालयमा १ हजारभन्दा धेरै विद्यार्थीहरु रहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यसबाहेक घटनास्थलबाट केही किलोमिटरको दूरीमा रहेको अर्को अंग्रेजी विद्यालयमा पनि विष्फोट भएको जनाइएको छ । यद्यपि तेश्रो विष्फोटको कारण र यसबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

यसअघि एकै विद्यालयमा तीन विष्फोट भएको समाचार आएको थियो । आक्रमण भएको क्षेत्रमा अफगानिस्तानका अल्पसंख्यक शिया सम्प्रदायका हजारा जातीको बसोबास रहेको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

हालसम्म कुनै समूहले पनि आक्रमणको जिम्मा नलिएपनि अफगानिस्तानमा विगतमा आतङ्ककारी संगठन इस्लामिक स्टेटले सियाहरूलाई लक्षित गर्दै आक्रमणहरू गराउँदै आएको छ ।

पाकिस्तानमा ६ जनालाई मृत्युदण्डको सजाय

ईश्वरको निन्दा गरेको भन्दै गत वर्ष एक श्रीलंकाली नागरिकलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको लाहौर शहरमा रहेको प्रतिआतंकवाद अदालतले उनीहरूलाई श्रीलंकाली नागरिक प्रियन्था कुमारा दियावदनाको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको हो ।

यी बाहेक घटनामा संलग्न नौ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको र अरु ७२ जनालाई दुई वर्ष जेल सजाय सुनाइएको बताइएको छ । सजाय पाउनेमध्ये आठ जना नाबालिग रहेको अल जजिराले जनाएको छ ।

‘अदालतमा यो मुद्धा पुर्‍याएन र यो फैसलासम्म पुग्नका लागि अभियोजन पक्षले निकै मिहिनेत गरेको छ ।’ सार्वजनिक अभियोजनकर्ता अब्दुल रउफ वाटूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

४८ वर्षे दियावदनाको गत वर्षको डिसेम्बर महिनामा सियालकोट शहरमा ईश्वरको निन्दा गरेको भन्दै आक्रोशित मानिसहरुको भीडले कुटेर हत्या गरेका थिए । हत्यापश्चात उनको शवलाई जलाइएको थियो । भीडमा रहेका केही मानिसहरूले जलेको शवसँग सेल्फी खिचाएको समेत बीबीसीले जनाएको छ ।

सियालकोटको एक कारखानामा म्यानेजर रहेका दियावदनाले इस्लाम धर्मका पैगम्बर मोहम्मदको नाम लेखेको पोष्टर च्यातेको भन्दै आक्रोशित भीडले उनको हत्या गरेका थिए । यता उनीसँगै काम गर्ने सहकर्मीले भने भवनलाई सफा गर्ने बेला भएका कारण उनले उक्त पोष्टर च्यातेको बताएका छन् ।

यस घटनाले पाकिस्तानभर आक्रोश पैदा गरेको थियो । घटनापछि तत्कालीन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनी टिप्पणी गरेका थिए ।

बहुसंख्यक इस्लाम धर्मावलम्बीको बसोबास रहेको पाकिस्तानमा ईश्वर निन्दाको विषय निकै संवेदनशील मानिन्छ ।

मोस्कवा डुब्दै गरेको तस्वीर र भिडियो सार्वजनिक

कृष्ण सागरमा डुब्दै गरेको रुसी युद्धपोत मोस्कवाको तस्वीर र भिडियो सार्वजनिक भएको छ । नेप्चुन क्षेप्यास्त्रले मोस्कवामाथि आक्रमण गरेको भन्दै युक्रेनी पक्षले दाबी गरेको भोलिपल्ट अर्थात् अप्रिल १४ मा उक्त तस्वीर तथा भिडियो खिचिएको हुनसक्ने बीबीसीले जनाएको छ ।

उक्त तस्वीर र भिडियोमा देखिएको युद्धपोतको आकार र बनावट मोस्कवासँग हुबहु मिल्ने बताइएको छ । तस्वीर तथा भिडियोमा मोस्कवा डुब्दै गरेको देखिन्छ । साथै उक्त युद्धपोतबाट धुवाँको मुस्लो पनि उडिरहेको देखिन्छ ।

गत अप्रिल १४ मा युक्रेनले नेप्चुन क्षेप्यास्त्र प्रहार गरी मोस्कवालाई ध्वस्त पारेको दाबी गरेको थियो भने रुसी पक्षले आगो लागेका कारण युद्धपोत क्षतिग्रस्त भएको जनाएको थियो । त्यसको भोलिपल्ट रुसी पक्षले मोस्कवा डुबेको पुष्टि गरेको थियो ।

यद्यपि हालै सार्वजनिक तस्वीर तथा भिडियोले दुबै पक्षको दाबीलाई पुष्टि गर्न नसक्ने बीबीसीले जनाएको छ ।

पुटिनको टिप्पणी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुसविरुद्ध लगाएका प्रतिबन्धहरू असफल भएको टिप्पणी गरेका छन् । मुलुकका शीर्ष अर्थ अधिकारीहरूसँगको छलफलका क्रममा पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

पुटिनले पश्चिमा मुलुकले ‘वित्तीय–आर्थिक अवस्थालाई तुरुन्तै बिगार्ने, बजारमा आतंक मच्चाउने, बैंकिङ प्रणाली ध्वस्त पार्ने जस्ता अवस्थाको अपेक्षा गरेको’ टिप्पणी गरे । उनले पश्चिमा मुलुकले अवलम्बन गरेको ‘आर्थिक ब्लित्ज’ को रणनीति असफल भएको समेत बताए ।

दोश्रो विश्वयुद्धका बेला नाजी जर्मनीले अवलम्बन गरेको सैनिक रणनीतिलाई पश्चिमी विश्वमा ‘ब्लित्ज’ को संज्ञा दिइन्छ ।

उनले रुसमाथि लगाइएका प्रतिबन्धले ‘पश्चिमा मुलुककै अर्थतन्त्र धराशायी भएको समेत टिप्पणी गरेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेपछि पश्चिमा मुलुकहरूले रुसी आर्थिक प्रणालीलाई लक्षित गरी विशाल स्तरमा प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

बाढीपछि उद्धारकार्यका लागि दक्षिण अफ्रिकामा सेना परिचालन

भारी वर्षा सँगैको बाढीका कारण व्यापक जनधनको क्षति भएपछि दक्षिण अफ्रिकाले उद्धार र राहत कार्यका लागि सेना परिचालन गरेको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा उद्धार तथा राहत कार्यका लागि दक्षिण अफ्रिकी फौज परिचालन गरिएको हो ।

दक्षिण अफ्रिकाको दक्षिण अफ्रिका राष्ट्रिय रक्षा बलले आफूहरूलाई यस कार्यका लागि १० हजार सैनिक परिचालन गर्न निर्देशन प्राप्त भएको बताएको छ ।

बीबीसीले जनाएअनुसार भारी वर्षापछिको बाढी र पहिरोमा परी हालसम्म ४ सय ४० भन्दा धेरैको ज्यान गइसकेको छ भने अरु दर्जनौं बेपत्ता छन् । प्रकोपको स्तरलाई मध्यनजर गर्दै दक्षिण अफ्रिका सरकारले राष्ट्रिय विपद्को घोषणा गरेको जनाइएको छ ।

सरकारी अधिकारीले यसलाई क्वाजुलु नटाल प्रान्तमा हालसम्मकै सबैभन्दा खराब प्रकोपको संज्ञा दिएका छन् । प्रान्तका प्रमुख शिहले जिकालालाले जानकारी दिएअनुसार ४ हजारभन्दा धेरै घट ध्वस्त भएका छन् भने अरु ८ हजार घरमा क्षति पुगेको छ ।

बाढीपछि दक्षिण अफ्रिकाका केही स्थानमा विद्युत, खानेपानी, औषधि, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव हुन थालेको बताइएको छ ।

युक्रेनी पक्षले रुसमा आक्रमण गरेको रुसी गभर्नरको आरोप

युक्रेनी पक्षबाट भएको आक्रमणका क्रममा एक जना घाइते भएको रुसको बेलगोरोद क्षेत्रका गभर्नरले आरोप लगाएका छन् ।

युक्रेनी पक्षको गोलाबारीका क्रममा एक जना घाइते भएको बेलगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका हुन् ।

बेलगोरोद क्षेत्रको ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा युक्रेनी पक्षबाट गोलाबारी भएको उनको भनाइ छ । गोलाबारीबाट क्षति पुगेको बताएपनि उनले यसबारे विस्तृत जानकारी नदिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

‘युक्रेनी पक्षबाट ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा गोलाबारी भएको छ ।’ टेलिग्राममा उनले लेखेका छन्, ‘गोलाबारीबाट क्षति भएको छ । यसबारे विस्तृत सूचना म पछि दिनेछु ।’

केही समयअघि गभर्नर ग्लादकोभले युक्रेनी फौजले बेलगोरोद क्षेत्रमा रहेको तेल भण्डारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका थिए । उक्त आक्रमणमा ८ जना घाइते भएको जनाइएको थियो ।

यद्यपि युक्रेनी पक्षले भने यस आक्रमणको जिम्मा लिन अस्वीकार गरेको बताइएको छ ।

युक्रेनी देशद्रोहीको प्रस्ताव

देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका रुस समर्थित एकजना राजनीतिक नेताले आफ्नो रिहाइको बदलामा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरबाट बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान दिनुपर्ने प्रस्ताव गरेका छन् ।

युक्रेनी गुप्तचर निकायले जारी गरेको भिडियोमा केही दिनअघि देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका राजनीतिक नेता भिक्टोर मेद्भेदचुकले आफ्नो रिहाइको बदलामा मारिउपोलका बासिन्दालाई सुरक्षित स्थानमा जान दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

रुस समर्थित विपक्षी पार्टीका पूर्व नेता मेद्भेदचुकले भिडियोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम नै किटेर यस्तो प्रस्ताव गरेको अमेरिकाको राजधानी वाशिङ्टन डीसीबाट प्रकाशित हुने वाशिङ्टन एक्जामिनरको अनलाइन संस्करणले जनाएको छ ।

भिडियोमा उनले ‘मानवीय करिडोरबाट सुक्षित निकासको अवसर नपाएका मारिउपोलका रक्षक एवम् त्यहाँका नागरिकको बदलामा आफूलाई रुसको जिम्मा लगाउन’ युक्रेनी पक्षसँग आग्रह गरेका छन् ।

यसअघि देशद्रोहको आरोपमा नजरबन्दमा रहेका मेद्भेदचुक गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फरार भएका थिए । पछि उनलाई पुनः गिरफ्तार गरिएको थियो ।

पुटिनसँग निकट रहेको ठानिने मेद्भेदचुकले रुसी तेलका माध्यमबाट ठूलो परिणाममा पैसा कमाएको बताइन्छ ।

मारिउपोलमा रुसी आक्रमण जारी रहँदा उनको यस्तो प्रस्ताव आएको हो । रुसी आक्रमणका कारण भग्नावशेषमा परिणत भएको मारिउपोल शहरमा रुसी एवम् युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल लडाइ मारिउपोल शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ५६ बजे

भोटेकोशी जलविद्युत‍को ढलान खस्दा दुई मजदुर पुरिए, १० जना घाइते

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजना-१ को

अर्थसंक्षेप : सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ६३ करोड बढी ऋण प्रवाह, विनियोजन विधेयक पारित 

काठमाडौं– सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी

अशोक राईले पनि छाडे प्रचण्डको साथ, तीनै मन्त्रीले बुझाए राजीनामा

काठमाडौं- गत वैशाख २१ गते जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर

अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी

सिंहदरबारमा ‘प्रचण्डराज’- योजना आयोगलाई दुरुपयोग गरेर उल्टो यात्रा !

काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच