दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

गभर्नरमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । यस विषयमा १३ वैशाखमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।सर्वोच्चले आदेश गरेसँगै उनी भोलिदेखि काममा फर्किने छन् । जाँचबुझ समिति गठन गरी आफू निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारीले गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । गत चैत २४ गते बसेको मन्त्री परिषदको बैठकले गर्भनर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरको थियो । 

स्थानीय तह निर्वाचनः चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने
सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ । निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश आज खारेज भएको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।  

सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमति नजिक
सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो । सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ ।  बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री देउवा 
प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्ने बताए । गठबन्धन टुटे दलहरू फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै रहेको उनको भनाई छ । त्यस्तै उनले वर्तमान निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक रहेको धारणा राखे । त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले डराएको टिप्पणी गरे ।  

आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको बताएका छन् । आज काठमाडौंमा एकीकृत समाजवादले आयोजना गरेको पार्टी प्रवेश एवं घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने चेतावनी पनि दिएका छन् । अध्यक्ष नेपालले सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दा अरुको शक्तिको अवमूल्यन गर्ने गरेको र अपमानपूर्ण ढंगले पनि व्यवहार भइरहेको भन्दै आफ्नो पार्टी अपमान सहनका लागि नभएर विद्रोह गरेर जन्मेको धारणा राखे । 

अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छः उपमहासचिव खतिवडा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् । आज काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै खतिवडाले मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताए । उनले संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने दावी गरे ।

जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहन्छौँ : नेम्वाङ 
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन् । आज काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताए । उनले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दावी गरे । त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले बिभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाएका छन् । 

अमेरिकी कांग्रेसको माथिल्लो सदनका चार अमेरिकी सिनेटरको टोली नेपाल आउने 
अमेरिकी कांग्रेसको माथिल्लो सदनका चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ । डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आउँदो शुक्रबार नेपाल आउन लागेका हुन् । यस्तै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल  कार्यक्रम तय भएको  परराष्ट्र मन्त्रालयले जनाएको  छ । उनीहरू विभिन्न देशको भ्रमण गर्ने क्रममा नेपाल पनि आउन लागेका परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिए । 

लेटाङ घटना : कर्तव्य ज्यान मुद्दाका आरोपित ५० हजार धरौटीमा रिहा
मोरङको लेटाङ घटनामा संलग्न कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई जिल्ला अदालत मोरङले आज जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज सो आदेश दिएको हो । आरोपितलाई तत्काल पुर्पक्ष थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मिसिल प्रमाणबाट नदेखिएको ठहर गर्दै न्यायाधीश ढकालको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । गत चैत ६ गते हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । प्रहरीले उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको बताएको थियो । तर, पोस्टमार्टम गर्दा महिलाको शरीरमा गोली भेटिएको हो ।

पल शाह प्रकरणमा नाबालिकाका बाबुले पनि फेरे बयान
अभिनेता  पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले आज सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् ।बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । जिल्ला अदालत स्रोतका अनुसार केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरूसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । नाबालिग गायिकाले  पनि  गत आइतबार बकपत्रमा जबर्जस्ती करणी नभएको बयान दिएकी थिइन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५८ पीसीआर परीक्षणका क्रममा १० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ९९ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेप्से परिसूचक आज १३ भन्दा बढी अकंले बढ्यो
लगातार दुई दिन घटेको नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेप्से आज १३ दशमलव ३७  अकंले बढेर २ हजार ३ सय ५७ दशमलव २४ विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि सुधार आएको छ । आज कुल ३२ लाख १३ हजार १ सय ९५ कित्ता शेयर १ अर्ब ३२  करोड ६८ लाख ६५ हजार ९ सय ३२ रुपैयाँमा कारोबार भएको छ । आज सबै  उपसमूहका शेयर उकालो  लागेको छ । आज नेस्डो लघुवित्तको शेयर र  ग्रिन  भेन्चर समुहको शेयर १० प्रतिशतले बढेको छ । यस्तै आज दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशतले घटेको छ । 

वीरगंज नाकाबाट ९ महिनामा ६६ अर्ब ५२ करोडको नेपाली उत्पादन वस्तु भारत निर्यात
वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा ६६ अर्ब ५२ करोड ३५ लाख ७७ हजार रुपैयाँ बराबरको नेपाली उत्पादन वस्तु भारत निर्यात भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज नाकाबाट मात्रै ८ अर्ब ११ करोड ५३ लाख ४ हजार मूल्य बराबरको ३ करोड ७० लाख ७ हजार ५८ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ । वीरगंज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ वटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् । 

विमानस्थलबाट सुन र मोबाइलसहित २ जना पक्राउ
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४५ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली तिनपटन गाउँपालिका–३ का २२ वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका–७ का ३४ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् । एयर अरेबियाको विमानबाट दुबई हुँदै काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट आज पक्राउ गरेको हो ।

इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिहरूसहित २ पक्राउ 
काठमाडौँको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिहरूसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका–४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेका छन् । नागार्जुन नगरपालिका–६ फस्कुस्थित सडकमा एकजना पुरुष व्यक्तिले बोराभित्र चोरीका सामानहरु बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा  प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उमेश खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरू लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : ३५ बजे

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगीदर ०.६ प्रतिशतमा सीमित

कोलम्बो – श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)

इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन्

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक कार्यक्रमबारे वार्ता गर्न

अनमोलको हातमा दुई फिल्म, ‘बटुलो जुन’ पछि ‘ए मेरो हजुर ५’ गर्ने

काठमाडौं – नायक अनमोल केसी विगतमा एक फिल्म प्रदर्शनमा आएपछि

साहित्यकार पौडेलको कृति ‘देशाटन’ लोकार्पण

काठमाडौं– साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटनः घुम्दै, फिर्दै जिल्ला–जिल्ला’