विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार ५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १९ , २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

जेलेन्स्कीको प्रतिबद्धता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले ‘दक्षिणी भाग कसैलाई नदिने’ बाचा गरेका छन् । युद्ध मोर्चाको भ्रमणका क्रममा उनले हाल रुसी फौजको नियन्त्रणमा रहेका मुलुकका दक्षिणी भूभाग पुनः फिर्ता ल्याउन आफूले निर्णायक कदम चाल्ने समेत बताएका छन् ।

‘हामी दक्षिण कसैलाई दिनेछैनौँ, हामी हाम्रो सबै चीज फिर्ता गर्नेछौँ र युक्रेन र युक्रेनी सुरक्षित रहनेछन्’ दक्षिणी सहर माइकोलाइभको भ्रमणपछि राजधानी किभ फर्कने क्रममा सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गरिएको भिडियोमा जेलेन्स्कीले भनेका छन् । भ्रमणका क्रममा आफूले सेना र प्रहरीसँग कुराकानी गरेको पनि उनले बताएका छन् ।

यसैबिच उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले चेतावनी दिँदै युद्ध लामो समय जान सक्ने भन्दै यसका लागि वर्षौँसम्म तयार रहनुपर्ने टिप्पणी गरेका छन् ।

जर्मन दैनिक पत्रिका बिल्डसँग कुरा गर्दै, स्टोल्टेनबर्गले भने, ‘जति नै मूल्य तिर्नुपरे पनि हामीले युक्रेनलाई हाम्रो समर्थनमा कमजोर हुन दिनु हुँदैन, सैन्य सहयोगको हिसाबले मात्र होइन, ऊर्जा र खाद्यान्नको मूल्य बढेको कारण पनि यो जटिल बन्न पुगेको छ ।’

राजधानी कब्जा गर्न असफल भएपछि रुसी सेनाले हालैका हप्ताहरूमा युक्रेनको पूर्वी र दक्षिणमा आफ्नो आक्रमणलाई तीव्र पार्दै लगेको छन् । रुसी सेनको आक्रमणका कारण युक्रेनको दक्षिण एवम् पूर्वी भागका आवासीय क्षेत्रहरू, सडक पुलजस्ता अत्यावश्यक पूर्वाधार एवम् विद्यालय, अस्पतालजस्ता गैर सैनिक नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ ।

‘मैले आफ्ना प्रियजनहरू गुमाएका मानिसहरूलाई थप प्रणालीगत रूपमा सहयोग गर्ने जिम्मेवारी दिएको छु । हामी पक्कै नष्ट भएका सबै चीजहरू पुनर्स्थापित गर्नेछौँ । रुससँग जति क्षेप्यास्त्र छन्, हाम्रा जनतामा त्योभन्दा धेरै बाँच्ने इच्छा धेरै छ ।’ उनले भने ।

युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण दक्षिणी बन्दरगाह सहर ओडेसाको बाटोमा रहेको माइकोलाइभ रूसको प्रमुख लक्ष्य रहेको जनाइएको छ ।

बङ्गलादेशी सरकारको निर्देशन

बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटेल रेष्टुरेन्टहरु बन्द गर्न निर्देशन दिएको छ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रूपमा बङ्गलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरू बन्द गर्न निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्यालयका प्रशासनिक महानिर्देशक मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो ।

यस निर्देशनको उद्देश्य विश्वव्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको पृष्ठभूमिमा शक्ति र ऊर्जा बचत गर्ने रहेको जनाइएको छ ।

सार्वजनिक सुरक्षा महाशाखा, वाणिज्य मन्त्रालय, ऊर्जा तथा खनिज श्रोत महाशाखा, स्थानीय सरकार महाशाखा, विद्युत् महाशाखा, उद्योग मन्त्रालय, कलकारखाना तथा प्रतिष्ठान निरीक्षण विभागलगायतका सम्बन्धित मन्त्रालय तथा महाशाखाका सचिवहरू, प्रहरी नायब महानिरीक्षकहरूलाई बङ्गलादेश श्रम कानून २००६ को प्रतिबन्धसम्बन्धी दफा ११४ बमोजिम सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्न सबै डिभिजन र जिल्लाका उपयुक्त र प्रहरी उपरीक्षकहरूलाई आदेश दिइएको छ ।

पटनाबाट दिल्लीका लागि उडेको विमानमा आगलागी

भारतको बिहार राज्यको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानमा आगलागी भएको छ । विमानको बायाँ इन्जिनमा आगो लागेको अधिकारीले जनाएका छन् ।

विमानमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढङ्गले अवतरण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोहरूमा विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ ।

विमान चालकले विमानको इन्जिनलाई बन्द गरेर सुरक्षित ढङ्गले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ ।

उक्त विमानमा विमानमा १८५ यात्रु सवार रहेको जनाइएको छ । घटनामा कुनै पनि मानवीय क्षति भने नभएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

श्रीलंकाको सेनाले इन्धन भर्ने स्टेसनमा गोली चलायो

श्रीलंकाको सेनाले तेल भर्ने इन्धन स्टेसनमा दंगा नियन्त्रण गर्न गोली चलाएको छ । पेट्रोल र डिजेलको भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो ।

शनिबार अबेर राजधानी कोलम्बोबाट ३६५ किलोमिटर उत्तरमा रहेको भिस्वामाडुमा सेनाले गोली चलाएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

सेनाको ‘सुरक्षा चौकी’ मा केही मानिसहरूको समूहले ढुङ्गा प्रहार गरेपछि हावामा गोली चलाउनु परेको सेनाले जनाएको छ ।

२० देखि ३० जनाको समूहले ढुङ्गा हानेर सेनाको ट्रकमा क्षति पुगेको बताइएको छ । तनाव नियन्त्रण गर्न सेनाले पहिलो पटक गोली चलाउँदा चार सर्वसाधारण र तीन सैनिक घाइते भएका प्रहरीले जनाएको छ ।

पम्पमा पेट्रोल सकिएपछि सवारी चालकहरूले विरोध गरेका थिए । झडप नियन्त्रणमा प्रहरीले गोली चलाएको थियो । श्रीलंका स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । देशले खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक वस्तुहरू आयात गर्न डलर पाउन असमर्थ छ ।

आर्थिक संकट बढिरहेका बेला सर्वसाधारणले राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् ।

भारत र बङ्गलादेशमा बाढीको प्रकोप

भारतका उत्तर पूर्वी राज्यहरू आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर ३२ जनाको ज्यान गएको छ ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । आसामका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरूमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ ।

त्यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ । यसैबिच, विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको छ । रेडियो पाकिस्तानले बङ्गलादेशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ । भारी वर्षाका कारण बुधबारबाट त्यस क्षेत्रमा बाढी आएको हो ।

सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।

त्यसैगरी हबिगञ्ज जिल्लाको अजमिरीगञ्ज, नबीगञ्ज, हबिगञ्ज सदर उपजिल्ला र हबिगञ्ज शहर शुक्रबारको बाढीले डुबानमा परेका छन् ।

आगामी दुई दिनभित्र बङ्गलादेश र भारतको उत्तर पूर्वी क्षेत्रमा बाढी तीव्र हुने अनुमान मौसमविद्हरूले गरेका छन् । छिमेकी मुलुक भारतको आसम राज्यमा १ लाख २३ हजार लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले जिल्लाका कैयौं तटबन्ध र सडक भत्काउनुका साथै धेरै घरहरू बगाएको छ ।

जिल्लाका पश्चिम नलबारी, घोगरापार, बारभाग, नलबारी, तिहु, बनेकुची र बर्खेत्री राजस्व सर्कलमा बाढीको प्रकोप जारी छ भने २०३ गाउँ डुबानमा परेका छन् ।

ईयूका विदेश नीति प्रमुखको टिप्पणी

युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धको नाकाबन्दीमार्फत रुसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको युरोपेली संघ ईयूको विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।

खाद्य सुरक्षाको खतरा र युक्रेनविरूद्ध रुसले सुरु गरेको युद्धका कारण मस्कोमाथि पश्चिमी प्रतिबन्धबारे सोमबार लक्जमबर्गमा युरोपेली संघका विदेश मन्त्रीहरूबिच छलफल हुने तयारी भइरहँदा ईयूका अधिकारीको यो भनाइ आएको हो । ‘सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनमिक फोरम’ लाई सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेको दृष्टान्तलाई लिएर बोरेलको यो भनाइ आएको हो ।

‘विश्वव्यापी खाद्य सुरक्षामा कुनै पनि अवाञ्छित प्रभाव रोक्न हामी संयुक्त राष्ट्र संघ र हाम्रा साझेदारहरूसँग काम गर्न तयार छौँ’ बोरेलले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित लेखमा उल्लेख गरेका हुन् ।

‘रूसको सचेत राजनैतिक छनौट भनेको अन्न निर्यातलाई रोक्नु हो र युक्रेनमा आफ्नो आक्रमणको विरोध गर्ने जो सुकैविरुद्ध विश्वव्यापी खाद्य असुरक्षा (सङ्कट) को नारालाई प्रचार गर्नु हो’ बोरेलले भने ।

उनले भने, ‘रुसले कृष्ण सागरलाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको छ र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको छ, यसले रुसी व्यापारीहरूको ढुवानीमा पनि असर गरेको छ । रुसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ ।’

युरोपेली संघले लगाएको प्रतिबन्धले स्वीकृत व्यक्ति वा संस्थाहरू संलग्न नभएमा कुनै पनि कृषि वस्तु निर्यात गर्न, त्यस्ता रुसी निर्यातका लागि भुक्तानी वा बीउको व्यवस्था गर्न रुसलाई निषेध नगर्ने उनको दाबी थियो ।

अफगानिस्तानमासिख मन्दिरमा गराइएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिसनले काबुलको सिख मन्दिरमा भएको आक्रमणको कडा निन्दा गरेको छ । उक्त आक्रमणमा धेरै जनाको हताहत भएको उल्लेख गरिएको छ ।

शनिबार काबुल शहरको एक गुरुद्वारामा अज्ञात आक्रमणकारीले आक्रमण गर्दा एक सिख र एक सुरक्षा गार्ड सहित कम्तीमा दुई नागरिकको मृत्यु भएको छ ।

‘युनामा काबुलको सिख मन्दिरमा गराइएको आक्रमणको कडा निन्दा गर्दछ जसमा धेरै हताहत भएको रिपोर्ट छ । गरिकहरूमाथिको आक्रमण तुरुन्तै बन्द हुनुपर्छ। संयुक्त राष्ट्रसंघ मिशनले अफगानिस्तानमा सिख, हजारा र सुफीहरू लगायत सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि आह्वान गर्दछ’ अफगानिस्तानमा राष्ट्रसंघीय सहायता मिशन (युनामा) ले विज्ञप्तिमा जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले गुरुद्वारामा भएको ’कायरतापूर्ण हमला’ को निन्दा गर्दै भारतले काबुलमा भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

‘गुरुद्वारामा भएको कायरतापूर्ण आक्रमणको सबैले कडा शब्दमा निन्दा गर्नुपर्छ । आक्रमणको खबर प्राप्त भएदेखि हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ । हाम्रो पहिलो र प्रमुख चिन्ता समुदायको हितमा छ’ जयशंकरले ट्विटमा लेखेका छन् ।

प्रारम्भिक प्रतिवेदन अनुसार काबुलमा गुरुद्वाराको गेट बाहिर विस्फोट भएको थियो जसमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि कम्प्लेक्स भित्र र गुरुद्वारासँग जोडिएका केही पसलहरूबाट अर्को विस्फोटको आवाज सुनिएको अधिकारीले जनाएका छन् ।

अफगानिस्तानको समाचार टेलिभिजन च्यानल टोलो न्युजले सार्वजनिक गरेको फोटो र भिडियोहरूमा घटनास्थलबाट धुवाँको बाक्लो कालो मुस्लो निस्किरहेको देखिएको छ ।

काबुल गुरुद्वारा कम्प्लेक्समा प्रार्थनाका लागि करिब २५ देखि ३० जना मानिस उपस्थित थिए । त्यसै बेला आक्रमणकारीहरू गुरुद्वारा परिसरमा प्रवेश गरेका थिए । अफगानिस्तानका धार्मिक अल्पसङ्ख्यकहरू अहिले आक्रमणको तारो बनेको टिप्पणी हुँदै आएका छन् ।

भारतमा १२ हजार ८९९ कोरोना सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमित यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबार यता सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यसै वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोरोना भाइरसका सङ्क्रमित थपिएका थिए । शनिबार १२ हजार ८९९ जना कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट सुरु भएको कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३२ लाख ९६ हजार ६९२ पुगेको छ ।

यसमध्ये ७२ हजार ४७४ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलव १७ प्रतिशत हो ।

पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६२ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट भारतमा १५ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ८३० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड १४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । भारतमा हिजो शनिबार चार लाख ४६ हजार ३८७ जनाको कोरोना परीक्षण भएको बताइएको छ । यसैसँग भारतमा कोरोना सुरु भएबाट हालसम्म ८५ करोड ७८ लाख जनाको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

सेना भर्तीका लागि भारत सरकारको नयाँ योजना घोषणा

सेनाको नयाँ भर्ती योजनामा चलिरहेको हिंसात्मक विरोध प्रदर्शन रोक्ने दोस्रो प्रस्तावमा भारत सरकारले नयाँ भर्तीका लागि रक्षा मन्त्रालयद्वारा गरिएको विज्ञापनमा १० प्रतिशत आरक्षणको घोषणा गरेको छ ।

यस योजनाले सुरक्षा बलको सेवा गर्न चार वर्षको अवधिको लागि युवाहरूलाई छानेको छ र त्यसमध्ये २५ प्रतिशतलाई स्थायी रोजगार दिइने छ भने बाँकी ७५ प्रतिशतले चार वर्षपछि सेवाबाट अवकाश पाउने छन् ।

सेनाको योजनाले युवाहरूलाई आन्दोलित बनाएको थियो । चार वर्षपछि आफूहरूलाई काम नलाग्ने बनाउने योजनाको विरोध गर्दै उनीहरूले चार वर्षे सेवा अवधिको सट्टा सेनामा दीर्घकालीन भर्तीको माग गरेका थिए ।

उनीहरूले भर्ती हुनका लागि वान्छनीय उमेर साढे १७ वर्षदेखि २१ वर्ष हुनुपर्ने प्रावधानको पनि विरोध गरेका छन् ।

उमेर हद नाघेका धेरैले विगत दुई वर्षदेखि कोभिड–१९ महामारीका बेला कुनै पनि नयाँ भर्ती उपलब्ध नहुँदा सेवाका लागि तयारी गरिरहेका युवाहरूले सेनामा सेवा गर्ने अवसर गुमेको भन्दै आन्दोलित भएपछि सरकारले शुक्रबार एक पटकको आवश्यकतालाई खुकुलो पार्दै भर्तीको पहिलो समूहको लागि उमेर सीमा २१ देखि २३ वर्षसम्म बनाएको छ ।

विरोध प्रदर्शनको दौडान उत्तेजित युवाहरूले थुप्रै रेलहरू जलाउनुका साथै सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेका थिए । सरकारको सेनामा भर्ना गर्ने नीतिप्रति असहमति जनाउँदै खास गरी भारतको पूर्वी राज्य बिहारमा प्रदर्शनले उग्र रूप लिएपछि सरकारले यो कदम चालेको हो ।

पाकिस्तानमा खडेरी बढ्यो

पाकिस्तान गम्भीर खडेरीबाट प्रभावित शीर्ष २३ देशमध्ये एक बनेको छ । देशको जलवायु परिवर्तन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विश्व मरुभूमि करण र खडेरी दिवसको सन्दर्भमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०२५ सम्ममा  खडेरीले विश्वको लगभग तीन चौथाइ जनसंख्यालाई असर गर्ने भविष्यवाणी गरिएको छ ।

मानव र वातावरणीय कारण मरुभूमि करणले पाकिस्तानलाई हानी गरेको छ । जसका कारण वातावरणीय ह्रास, माटोको उर्वरतामा कमी, जैविक विविधताको हानी, र भूमिको उत्पादकत्वमा कमी आएको छ ।

ठूलो वन फडानी र मानवजन्य गतिविधिहरूले समस्यालाई झनै विकराल बनाएको जनाइएको छ । पाकिस्तानमा मानिसहरूले पानीको अभाव झेलेका र लामो समयको गर्मीका कारण देशभरका नदीहरू सुक्न थालेका जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ०१ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट