दिनभर आज: पर्यटनमन्त्री आलेविरुद्ध उजुरी, नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी | Khabarhub Khabarhub

दिनभर आज: पर्यटनमन्त्री आलेविरुद्ध उजुरी, नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आज दिनभर नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी, पर्यटनमन्त्री आलेविरुद्ध उजुरी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख साहमाथि आक्रमण  लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका शीर्ष समाचारहरूः

राष्ट्रिय सभाको बैठकमा व्यवस्थापन समितिका प्रतिवेदन पेश

राष्ट्रिय सभाको बैठकमा विभिन्न विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश भएका छन् ।

आज बसेको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सांसद नारायण दत्त मिश्रले अध्यागमन विधेयक, अनुगमन तथा मुल्याङ्कन विधेयक, प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक, विद्युत विधेयक पेश गरेका हुन् ।

त्यस्तै सार्वजनिक सेवा प्रसारण विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ तथा सुरक्षण मुद्रण सम्बन्धी विधेयक–२०७७ को विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश भएको छ ।

प्रधानमन्त्री र माओवादीका कारण मन्त्री फेरबदलमा ढिलाइ भयो: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाइ भएको बताएका छन् ।

काठमाडौंमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीभित्र पनि मन्त्री फेरबदलको माग आइरहेकाले केही दिन पर्खन भनेको र यसका कारण ढिलाइ भएको बताएका हुन् ।

उनले ६ महिनाका लागि मात्र भनेर अहिलेका मन्त्री पठाएको र अब अन्यलाई मन्त्रीपरिषदमा पठाइने धारणा राखे ।

आईजीपी बढुवाविरुद्ध परेको रिट हेर्दाहेर्दैमा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सिहंलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा परेको हो । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

गत जेठ ३० मा हेर्दाहेर्दैमा राखिएको रिटको पेशी आजका लागि तोकिएको थियो । वैशाख १८ गतेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेपछि वरिष्ठताका आधारमा आफूमाथि अन्याय भएको भन्दै एआईजी पोखरेलले सर्वोच्चतमा रिट दायर गरेका थिए ।

बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले, समितिको बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम समयमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराएको भन्दै यसको कारणका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

एसपीपीका विषयमा निकै नकारात्मक कुराहरु आएको विषयमा जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको समिति सभापति पवित्रा निरौला खरेलले समितिमा आउन प्रधानमन्त्रीलाई पत्रचार नै गरेको जानकारी दिए ।

पर्यटनमन्त्री आलेविरुद्ध उजुरी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरीत गतिविधि गरेको भन्दै कारवाहीको मागसहित उजुरी परेको हो ।

कानून व्यवसायी किशोर पौडेल, अनुपम भट्टराई र कानुनका विद्यार्थी विद्यार्थी रेजिना पौडेयालले उजुरी गरेका हुन् ।

उजुरीमा प्रतिनिधिसभा सदस्यको आचारसंहिता उलंघन गरेको भन्दै आलेविरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा संस्कारयुक्त समाज निर्माणको जिम्मा पाएका मन्त्रीले नियमको बर्खिलाप गरेको भन्दै यस्ता घटनालाई सामान्य मान्य नहुने भन्दै कारवाही माग गरिएको छ ।

सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था आयोः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दाबी गरेका छन् ।

आज काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै दाहालले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दाबी गरेका हुन् ।

दाहालले एकताको विभाजनको श्रृंखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करीब–करीब पूर्वमाओवादी भन्नेहरु एक ठाँउमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वभाविक रहेको धारणा राखे ।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम

काठमाडौं महानगरपालिकाले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९÷०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरिभवन (बागदरबार)को प्रवलीकरणको लागि आवश्यक व्यवस्था गर्ने बताएका हुन् ।

नयाँ मेयर साहले ऐतिहासिक–पुरातात्विक महत्वको बागदरबारलाई प्रवलीकरण गर्ने नीति ल्याएका हुन् । त्यस्तै काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख साहमाथि आक्रमण

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आक्रमण भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गरेको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी हुन् ।

बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय बासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।

नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरुले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाएका थिए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्ने क्रममा उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएकी थिइन् । त्यसलगत्तै आक्रोशित स्थानीयले र साहमाथि हातपात गर्न शुरु गरेका थिए ।

नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी

नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिक गरी १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

नक्कली मृत्यु दर्ता बनाई जग्गा बिक्री

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा विक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्रि गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले जानकारी दिए ।

बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ

मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरीलाई आज सोही नगरपालिकास्थित छप्कैयाबाट पक्राउ गरेको हो । गिरीले २०६२ जेठ २ गते मध्यरातमा नामथर र ठेगानासमेत बताउन नसक्ने अवस्थामा रहेकी २६ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेको पर्साका डीएसपी ओमप्रकाश खनालले बताए ।

प्रहरीको प्रतिवेदन जाहेरी अनुसार जिल्ला अदालतले २०७० जेठ १७ गते गरेको फैसलाले गिरीलाई ५ वर्ष कैदको सजाय तोकेको थियो ।

२३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय ५४ पीसीआर परिक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १२ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

पाँच वर्षदेखि ११ वर्षका बालबालिकाका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आज दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

यता अमेरिकी दूतावासले पनि आज एक विज्ञप्ति जारी गर्दै ५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित गरी नेपाललाई फाइजर खोपका २२ लाख ६० हजार फाइजर खोप प्रदान गरिएको उल्लेख गरेको छ ।

परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरिनेछ ।

हुम्लाको नाम्खामा ५७ विद्यार्थीमा ठेउला रोगको लक्षण

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रावासमा बस्दै आएका ५७ विद्यार्थीमा ठेउला (चिकेनफक्स) रोगको लक्षण देखिएको छ ।

कवडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले सो रोगको आशङ्का गरिएको हो । स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एक विद्यार्थीमा देखिएको ठेउलाको लक्षण अन्य ५७ विद्यार्थीमा सरेको जानकारी दिए ।

पुँजी बजारको सुधारको माग गर्दै राष्ट्र बैंकका गभर्नरलाई १९ बुँदे मागपत्र

पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताहरुले आफ्ना मागका बारेमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएका छन् ।

पुँजी बजार सुधार सङ्घर्ष समितिले आज बालुवाटारसम्म विरोध प्रदर्शन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे मागपत्र बुझाएका हुन् ।

विगतको सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पूरा हुनुपर्ने उनीहरुको भनाइ छ ।

सो क्रममा उनीहरुले बैंकहरुलाई ब्रोकर लाइसेन्स देऊ, चार बाह्रको नीति खारेज गर, ब्रोकर कमिसन कम गर लगायतका प्लाकार्ड प्रदर्शन गरेका छन् ।

शेयर बजार भारी अंकले गिरावट

कारोबारको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्से भारी अकंले गिरावट आएको छ ।

नेप्से आज ३७ दशमलव २७ अंकले घटेर १ हजार ९ सय ३४ दशमलव ११ विन्दुमा पुगेको हो । आज २२३ कम्पनीको ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता शेयर कुल १ अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ रुपैँयामा कारोबार भएको छ ।

आज आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशत बढेको छ । यस्तै रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज नेपाल टेलिकम, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहेका छन् ।

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको भेट

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे ।

विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : २५ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट