निकै ठूलो आशा र अपेक्षासहित दिल्ली भ्रमणमा गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नभेटी फर्किएका छन्। उनको भ्रमणलाई निकैले अर्थपूर्ण ढंगले हेरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि भारतमै भएको बेला भएको यो भेटलाई धेरैले केही नयाँ तयारी भएको छ कि भन्ने आशंकाले पनि हेरेका छन्। त्यसो त प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगर्नु वा भेट नदिनुको कारण के हुन सक्छ। प्रचण्डको भ्रमण कति उपलब्धिमुलक हुनसक्यो। यससँगै माओवादीभित्र अझै पनि पदाधिकारी चयन हुन किन नसकेको ? गठबन्धनको विषयलाई लिएर माओवादी अझै किन अलमलमा रहेको त ? यस्तै विषयमा आधारित भएर माओवादी केन्द्रका प्रभावशाली नेता गणेश साहसँग धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः
प्रचण्डको भारत भ्रमणलाई निकै ठूलो आशा र अपेक्षाका साथ हेरिएको थियो। तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिनु भएनछ, किन ?
नेपाली समाजमा नेताको भ्रमणलाई ठूलो विषय बनाउने परम्परा छ। र, यो भेट कुनै भारतीय सरकारको निम्ता होइन। यो निम्ता भाजपाको हो। पार्टी पार्टीको हो। यसमा चाहिँ दुई पार्टीबीचको सम्बन्ध सुमधुर बनाउन, आर्थिक अवस्थामा सुधार ल्याउनको लागि हो। त्यसैले यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन पनि सक्छ, नहुन पनि सक्छ। यो भेटमा पनि दुई देशका पार्टीबीचको आपसी सम्बन्ध हो। तर हाम्रो देशमा प्रचण्ड वा त्यस्तो व्यतिmहरु भारत भ्रमणमा गयो भने अलि शंकाको दृष्टिले हेरिन्छ।
प्रचण्ड खास भारत भ्रमण जानुको उद्देश्य के थियो ?
प्रचण्डजीले त्यहाँ गएर दुई पार्टीबीचको सम्बन्ध सरल र शान्तिपूर्ण बनाउने हिसाबले नेपालकोे राजनीतिज्ञको भारतप्रतिको हेर्ने दृष्टिकोणले हेर्दा भेटघाटलाई शिष्टाचारका रुपले हेर्न सकिन्छ। त्यसमा उहाँले जुन किसिमको वा दुई देशबीचको सम्बन्ध लिखित वा सार्वजनिक अभिव्यक्ति दिनु भएको छ। त्यो चाहिँ पार्टीको दृष्टिकोण भनौं वा नेपाली जनताको हितका लागि हो।
प्रचण्डले भ्रमण सफल भयो अब चाँडै परिणाम देखिने छ भन्नुभयो, त्यो के भन्न खोज्नु भएको हो ?
दुई देशबीचको सम्बन्धमा आएको धमिलोपना छ। त्यसलाई सुमधुर बनाउन लागिएको हो। नेपालको राजनीतिमा यो स्थानीय निर्वाचन सम्पन्न भयो। त्यो बेला वा अरु राजनीतिक घटनाक्रममा जुन किसिमको भारतीय छिमेकी मुलुकको चासो धेरै हुन्थ्यो। त्यो अहिले सानो लेभलमा झरेको छ। यसले धेरै नै परिर्वतन ल्यायो। त्यसलाई नेपालले पनि मन पराएन।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले नेपाल भ्रमण सकेर फर्केको पर्सीपल्ट प्रचण्ड दिल्ली जाँदा धेरैले फेरि सत्ता परिर्वतनको खेलतिर माओवादी लागेको हो कि भन्ने शंका गरेका छन् नि ?
सत्ता परिर्वतनलाई यो बीचमा हेर्ने हो भने ओलीजी र नारायणकाजी श्रेष्ठजीको पनि एउटा कार्यक्रमको अभिव्यक्तिको रुपमा लिनु पर्दा अहिले जुन सत्ता गठबन्धन छ। त्यसमा तात्विक परिवर्तन आउँला जस्तो लाग्दैन। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको भ्रमण जुन छ। त्यसले प्रचण्डज्यूको भ्रमणलाई जोड्न खोज्यो भने त केही देखाउन पनि सकिएला। तर, अहिले प्रचण्डले आगामी दिनमा सार्न लागेको त्रिदेशीय नेपाल, चीन र भारत दुवै देशको कुनै समयमा मनमुटाव थियो। तर, पनि दुवै देशबीचमा व्यापार भइरहेको थियो। त्यसलाई नेपालले सहजीकरण गर्नुमा कहिलेकाँही हाम्रो क्षमता छ कि छैन हेर्नु पर्दछ। चीन र भारत दुई देशबीचको जुन कूटनीतिक सम्बन्ध हिजो थियो। त्यो अहिले विक्षिप्त भएको छ। त्यसलाई प्रचण्डजीले समाधान गर्न खोज्नु भएको होला।
माओवादी केन्द्र गठबन्धन बदल्नेसँगसँगै सरकार बदल्ने रणनीतिमा गएको हो ?
देशमा जुन गठबन्धन बनेको छ। त्यसलाई गएको निर्वाचन पश्चात हाम्रो गतिविधि र समझदारीका हिसाबले हेर्ने हो भने बरु यहि गठबन्धनभित्र तालमेलको कुरा केही हुनसक्छ। सत्ताको बाँडफाँड हुनसक्छ। यो भन्दा अगाडि प्रधानमन्त्रीको कुुरा थियो, त्यो पनि आलोपालो प्रधानमन्त्री बन्ने कुरा थियो। त्यसको लागि कसरत भएको छैन भन्न सकिन्न।
माओवादीले आधा सरकार चलाउन पाउनुपर्छ भन्ने मागसहित बार्गेनिङ गरिरहेको हो ?
बार्गेनिङ त होइन। तर, समझदारी रुपमा अगाडि बढ्नु पर्दछ। गठबन्धन कत्तिको व्यावहारिक बन्नसक्छ। त्यसलाई हेर्न बाँकी छ। पार्टीले मुलरुपमा माओवादी र एमाले बीचमा तालमेल कति भयो, त्यो बेग्लै कुरा हो। नभए गठबन्धन त अगाडि बढ्छ। हामीले एउटा योजना बनाएर अगाडि बढ्ने भन्छौँ। तर त्यसमा जनताले के सोचेको हुन्छ ? त्यसैले हाम्रो प्रयास भनेको गठबन्धनलाई आपसी समझदारीका रुपमा अगाडि लैजाने हो। संघीय निर्वाचन र प्रदेशको निर्वाचनको लागि तालमेलमा बागे्रनिङ होला। त्यसको आधारमा जुन परिणम हुन्छ, त्यसले चाँही प्रधानमन्त्री दिने या आलोपालो प्रधानमन्त्री दिने कि प्रधानमन्त्री र उप–प्रधानमन्त्री दिने यसमा सबै सहमत भएर गर्नुपर्दछ।
माओवादी पार्टी जता लाभ हुन्छ, त्यतै किन दौडिराखेको छ ?
पहिला जनयुद्धको पृष्ठभूमि आएको हो। त्यति बेला युद्धको मानसिकता, संकटजनक अवस्था थियो। यो जब शान्ति पूर्ण भयो। अहिले यो नमिठो नराम्रो जे भने पनि एउटा विधा र मानसिकताका आधारबाट हुर्केको पार्टी हिजोसम्म संसदीय व्यवस्थालाई हामीले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने मानसिकताबाट आएको पार्टीको अहिले जनतासँग भोट लिएर कुनै पनि निर्वाचन बनाउने धेरै महंगो हो। यो विषयमा मलाई के लाग्छ भने हाम्रो पनि यो क्षेत्रको क्षमता जुन किसिमले विकास हुनुपर्ने हो। माओवादीले अहिले पनि यो व्यवस्था स्वीकार गर्न नसकेको हो। तर, यही व्यवस्थामा बाझिनु परेको हो। त्यसैले यसको लागि चुनाव र सत्ताको बारेमा बोल्नु पर्ने हुन्छ। त्यसैले हामी हिजोको दिनमा भन्दा फरक ढंगले अगाडि बढ्नुपर्छ।
तपाईंको पार्टीमा अहिलेसम्म पदाधिकारी चयन हुन किन नसकेको हो ?
पार्टी भन्दा पनि अध्यक्ष निर्णयमा पुग्न नसकेको हो। सबै जनाले त्यो अधिकार उहाँलाई दिएको छ। तर, अध्यक्षले नै कसलाई रोज्दा राम्रो हुन्छ भनेर निर्णय नगर्दा समस्या भएको हो।
आफूले रोजेको मान्छेलाई पदाधिकारी बनाउन सक्ने माहोल नबनेर हो कि ?
त्यो पनि हो। यसरी भन्नु भन्दा पनि निर्णयमा पुग्न नसके अवस्था छ। हामीले पदाधिकारी छनोट सम्बन्धी कुराहरु पनि राखेका छौँ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया