युक्रेनमाथि युद्ध छेडेर इरान भ्रमणमा पुटिन | Khabarhub Khabarhub

युक्रेनमाथि युद्ध छेडेर इरान भ्रमणमा पुटिन

सिरियाको द्वन्द्वबारे चिन्ता, शान्तिवार्ताको खोजी !



काठमाडौँ : गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो पहिलो विदेश भ्रमणका क्रममा इरानको राजधानी तेहरान पुगेका छन् ।

सिरियामा जारी द्वन्द्वबारे त्रिपक्षीय वार्ता गर्न राष्ट्रपति पुटिन तेहरान पुगेको इरानको प्रेस टिभीको अनलाइन संस्करणले जनाएको छ ।

प्रेस टिभीका अनुसार सिरियाली द्वन्द्वबारे इरान र टर्कीका राष्ट्रपतिहरुसँग छलफल गर्नका लागि पुटिन तेहरान आइपुगेका हुन् । युक्रेनमाथि युद्ध थालेर उनी किन सिरियाको द्वन्द्वबारे चिन्तित बन्दै तेहरान पुगे ? अन्तर्राष्ट्रिय विश्लेषकहरुले यसको खोजी गरिरहेका छन् ।

तर रुसी प्रशासन क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार यो छलफलमा इरानी राष्ट्रपति इब्राहिम रइशी र टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानको पनि सहभागिता रहने छ । एर्दाेगान यसअघि नै इरान आइसकेको जनाइएको छ ।

छलफलपछि उनीहरुले संयुक्त वक्तव्य जारी गर्ने प्रेस टिभीले जनाएको छ । छलफलपछि जारी गरिने घोषणापत्र यसअघि नै तयार भइसकेको र यसमा सहमति पनि लगभग जुटिसकेको जनाइएको छ । इरान भ्रमणका क्रममा पुटिनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

अचानक इरान भ्रमण किन ?

युक्रेनमाथिको आक्रमण जारी रहँदा पुटिनले इरानको भ्रमण गर्नुलाई निकै चासोपूर्वक हेरिएको छ । इरानमै रहेका टर्कीका राष्ट्रपति एर्दोगानसँग पनि पुटिनले भेटवार्ता गर्नसक्ने बताइएको छ ।

युक्रेनमा रुसले आक्रमण थालेबाट नै टर्कीले दुई मुलुकबीच मध्यस्थताको प्रयास गरिरहेको छ । यसैक्रममा टर्कीले दुबै मुलुकका प्रतिनिधिलाई इस्तानबुल सहरमा डाकेर शान्ति वार्ताको पहल गरेको थियो ।

यद्यपि पुटिनको इरान भ्रमणको प्रमुख एजेण्डामा भने सिरियामा जारी युद्ध नै रहेको बताइएको छ । रुस, टर्की र इरान सिरियामा जारी द्वन्द्वको समाधान गर्ने प्रयास ‘अस्ताना शान्ति प्रक्रिया’ को ग्यारेन्टीकर्ता मुलुकहरु समेत हुन् ।

यसअघि टर्कीले कुर्दिस लडाकु समूहविरुद्ध उत्तरी सिरियामा पुनः सैनिक कारवाही गर्ने चेतावनी दिएको थियो । यद्यपी रुस र इरानले भने टर्कीको उक्त चेतावनीको कडा विरोध गरेका थिए ।

टर्कीले पूर्वी टर्की र उत्तरी सिरियामा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेविरुद्ध दशकौँदेखि सैनिक कारवाही गर्दै आएको छ । यसक्रममा दशौ हजारको मृत्यु भइसकेको छ ।

राष्ट्रपति बसार अल असदको नेतृत्वमा रहेको सिरिया सरकारले भने आफ्नो भूमि कब्जा गर्ने टर्किस नीतिको कडा निन्दा गर्दै आएको छ ।

गत महिना इरानका विदेशमन्त्री होसेइन अमिर अब्दोल्लाहियानले टर्कीको राजधानी अंकाराको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा उनले इरानले टर्कीको सुरक्षा चासो बुझेको भएपनि सिरियामा अर्को सैनिक कारवाहीले क्षेत्रीय अस्थीरता बढाउने भन्दै यसो नगर्न आग्रह गरेका थिए ।

अर्कोतर्फ पीकेकेसँग संलग्न रहेको बताइने उत्तरी सिरियामा सक्रिय वाईपीजी नामक कुर्दिस लडाकु समूहका प्रमुख कमाण्डर मजलोम अब्दीले भने टर्कीलाई आक्रमण नगराउनका लागि मनाउन रुस र इरानसमक्ष आग्रह गरेका थिए ।

११ वर्षदेखि सिरियामा जारी गृहयुद्धका क्रममा हालसम्म लाखौँ मानिसहरुको मृत्यु भइसकेको छ भने अरु दशौँ लाख शरणार्थी बनेर विदेश पलायन हुन बाध्य भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ०३ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल