उपनिवेशको प्रभाव हटाउँदै फ्रान्स « Khabarhub

उपनिवेशको प्रभाव हटाउँदै फ्रान्स


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सको आजको दिनको शक्ति र बलमा कुनै समय आफ्नै उपनिवेशमा रहेको अल्जेरियाको प्रभावले पक्कै काम गर्छ। फुटबल स्टार जिनेदाने जिदानदेखि एक से एक अल्जेरियाली मूलका व्यक्तिले फ्रान्सको इज्जत र सान बढाउन उत्तिकै योगदान गरेका छन्। अल्जेरिया मै भने फ्रान्स प्रतिको वितृष्णा बढ्दो छ। यसरी वितृष्ण बढ्ने क्रममा भाषा, संस्कृति र त्यहाँको जीवन शैली प्रति नै अल्जेरियालीको मोह भङ्ग हुन थालेको छ।

अल्जेरियाली राजधानीको केन्द्र नजिकै मेजेस्टीक खाडी छ। त्यहीँको क्षेत्रबाट भूमध्य सागरीय क्षेत्र पार गरेर जाने बाटो छ। त्यो भन्दा पर फ्रान्स छ। फ्रान्स त्यही देश हो, जसले १ सय ३२ वर्ष अल्जेरियामा शासन गरेको थियो ।
अल्जेरियामा अहिले धेरै कुरा परिवर्तन भएका छन्। लामो समय फ्रान्सको अधीनमा रहेका यी क्षेत्रका प्राय ऐतिहासिक स्थानको नाम पनि फ्रान्सेली भाषामै राखिए वर्षौँसम्म। पछिल्लो समय यिनीहरूको नाम पनि फेरिन थालेका छन्।

सन् १९५० र ६० को बीचमा स्वतन्त्रताका लागि अल्जेरियामा लडाइँ भएको थियो। यसै लडाइँको फल स्वरूप उनीहरूले स्वतन्त्रताको महसुस गर्न पाएका थिए। राज्य स्वतन्त्र भए पनि सांस्कृतिक र भाषिक रूपमा आफूलाई फ्रान्सबाट अलग राख्न अल्जेरियाले अझै प्रयास गरिरहेको छ।

गत महिना अल्जेरियाका राष्ट्रपति अब्देल मादद्जीद तेबाउनेले त्यस उत्तरी अफ्रिकी राष्ट्रले दोस्रो भाषाको रूपमा फ्रेन्चलाई अस्वीकार गर्दै अङ्ग्रेजीलाई मान्यता दिने घोषणा गरेका थिए। यस घोषणा अनुसार प्राथमिक तहमा फ्रेन्चको पढाइ हुने छैन। त्यसको स्थानमा नै अङ्ग्रेजीको पढाइ हुने छ। ‘यो महत्त्वपूर्ण घोषणा हो। किनकी अङ्ग्रेजी अन्तर्राष्ट्रिय विषय हो’, उनले भने।

फ्रान्सको औपनिवेशिक प्रभावबाट आफूलाई बाहिर राख्ने यो निर्णय पछि धेरैले सन् १९७० को दशकमा समाजवादी राष्ट्रपति हाउरी बाउमेडाइनले अघि सारेको ‘अरेबीजम’को मान्यता सम्झिएका छन्। त्यस मान्यता अनुसार देशको कानुनी भाषा र शैक्षिक भाषा दुवै अरेबीकलाई मात्र मान्यता दिने प्रचलन थियो।

त्यसो त अल्जेरियाका भाषा विज्ञ अब्देरजाक डाउरी पनि अङ्ग्रेजीलाई ल्याएर फ्रेन्चलाई विस्थापित गर्दा धेरै व्यावहारिक समस्या आउने बताउँछन्। उनलाई अहिले पनि एउटा चिन्ता छ। एकै पटक भाषा परिवर्तन गर्दा गुणस्तरीय शिक्षक र पाठ्यक्रमको बारे उनको चिन्ता छ। भन्छन्, ‘एउटा ट्रान्सलेटर ल्याएर उ शिक्षक हो भनेर भन्नु परेमा यसले धेरै कठिनाइ ल्याउने छ।’ तर, त्यहाँको सरोकारवाला सुरुमा यसका कारण केही अप्ठेरो देखिए पनि विस्तारै सबै कुरा व्यवस्थित हुनेमा विश्वस्त छन्।

विगतमा पनि यस्तै भएको थियो। फ्रान्सबाट मुक्त भएपछि अल्जेरियाले आफ्नै भाषालाई प्राथमिकता दिने निर्णय गरे पनि सुरुवातमा धेरै समस्या रहेको थियो। आफूहरूको सुमधुर सम्बन्ध नरहेको इजिप्ट र इराकबाट अल्जेरियाले थुप्रै अरेबीक भाषाको प्रशिक्षक झिकाएको थियो।

अल्जेरियाको काम गर्ने वर्ग र राजनीतिमा प्रभाव पार्ने वर्गमा भने फ्रान्सेली छायाबाट पूर्ण रूपमा मुक्त हुने चाहना छ। पछिल्लो समय यातायात र खानेपानी जस्ता क्षेत्रमा अल्जेरियाले फ्रान्सेली कम्पनीसँगको सम्झौता नवीकरण गर्न छाडेका छन्। नयाँ फ्रान्सेली कम्पनीले त्यहाँ प्रवेश पाउन छाडेका छन्। यसको स्थानमा लोकल फर्मलाई नै प्राथमिकता दिइएको छ।

पछिल्लो समय अल्जेरियाका चासो टर्कीको कलामा छ। अथवा त्यहाँका बासिन्दाको चासो परम्परागत फ्रान्सेली कार्यक्रम भन्दा नेटफ्लीक्समा अमेरिकी फिल्म हेर्नमा बढी छ।

कफी सपमा भेटिने युवा इन्सटाग्राम र टिकटकमा अङ्ग्रेजी भाषामा रमाइरहेका हुन्छन्। अहिले फ्रेन्चको बारेमा एउटा भिन्न धारणा बनेको छ। मध्य उमेरमा अभिजात वर्गको भाषामा रूपमा अल्जेरियामा फ्रेन्चलाई लिन थालिएको छ।

अमेजीक, स्पेनिस र फ्रेन्चको मिश्रण रहेको माज्रेबीक अरेबीक अहिले त्यहाँ धेरै नै लोकप्रिय छ। कानुनी र पत्रिकाको क्षेत्रमा भने परम्परागत अरेबीककै प्रचलन छ। युवा अल्जेरियालीमा त अङ्ग्रेजी सिक्ने अनौठो चाहना छ। त्यहाँ रहेका युवा आइटी र भिडियो उत्पादनको काम गर्दा पनि अङ्ग्रेजी नै प्रयोग गर्ने गर्छन्।

यस वर्ष अल्जेरियाले स्वतन्त्रताको ६० औ वर्षगाँठ भव्यताका साथ मनाएको थियो। त्यो वर्षगाँठ मनाउँदा पनि फ्रान्सेली उपनिवेशको समय र त्यहाँबाट स्वतन्त्र हुनका लागि गरेका सङ्घर्ष भने उनीहरूले बिर्सन सकेनन्। त्यसो त, स्वतन्त्र हुने क्रममा गरिएका ती सङ्घर्षमा भएको दमन त बिर्सने कुरै भएन।

आठ वर्ष लामो युद्धपछि सन् १९६२ को मार्चमा दुई पक्षको बीच युद्ध बिराम भएको थियो। त्यसै वर्ष ५ जुलाईका दिन जनमत सङ्ग्रह भएको थियो। त्यस जनमत सङ्ग्रहमा ९९.७२ प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए।

यस पटकको स्वतन्त्रता दिवसमा भएको कार्यक्रमलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रले चासो पूर्वक हेरेका थिए। प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बास, ट्युनेसीयाका हइस सायद तथा नाइजरका मोहम्मद बाजुम लगायत अन्तर्राष्ट्रिय व्यक्तित्वको उपस्थितिमा स्वतन्त्रता दिवसको कार्यक्रम भएको हो। अल्जेरियाको त्यो स्वतन्त्रता सङ्ग्राममा लाखौँको ज्यान गएको थियो।

अल्जेरियामा स्वतन्त्रताको आवाज उठाउने काम सुरुवाती पार्टी अफ अल्जेरियाली पिपुलले गरेको थियो। यो दल सन् १९३० को दशकको अन्त्यमा प्रतिबन्धित भएको थियो। यसलाई प्रतिस्थापन गर्ने काम ४० को दशकको मध्यमा ‘मुभमेन्ट फर द त्रीफ्थ अफ डेमोक्रेटिक लिबरटीज’ ले गरेको थियो। यसका धेरै नेता पछिल्लो समय गिरफ्तारीमा परे।

सन् १९५४ मा ‘रेभुलेसनरी कमिटी अफ युनिटी एन्ड एक्सन’को स्थापना भएको थियो। यो नै पछि एफएलएनको रूपमा परिमार्जन भएको थियो। यसले सैन्य अभ्यास समेत गर्न थालेको थियो।

३१ अक्टोबर १९५४ को राति अल्जेरियामा स्वतन्त्रता सङ्ग्राम सुरु भएको थियो। एफएलएनकै नेतृत्वमा भएको त्यस स्वतन्त्रता सङ्ग्रामको लक्ष्य नै स्वतन्त्र अल्जेरियाको स्थापना थियो।

यसले सामाजिक प्रजातन्त्रको वकालत गरेको थियो भने इस्लामिक फ्रेम वर्क अन्तरगत चल्ने यसको मान्यता थियो। सबै अल्जेरियालीलाई समान हकको मुद्दा यस युद्धले उठाएको थियो। देश भित्र गुरिल्ला युद्ध गर्ने र अन्तर्राष्ट्रिय निकायसँग सम्पर्क गरी रहने यिनीहरूको नीति थियो। फ्रान्सले त्यसै समयमा संकटकाल मात्र लगाएको थिएन । सन् १९५५ मा नयाँ गभर्नरको रूपमा ज्याक्स साउसटेल त्यहाँ पुगेका थिए।

सन् १९५५ को अगस्टमा विद्रोहीले १ सय जना अधिकारी मारेपछि सत्ता पक्षले पनि एकै पटक १ हजार २ सय जनाको ज्यान लिएको थियो। लामो समय चलेको युद्धले धेरैको ज्यान लिएको थियो। यसको तथ्याङ्कका बारे एकमत छैन। एउटा अनुमान अनुसार २७ हजार फ्रान्सेली सेना मरेका थिए भने ५ हजारदेखि ६ हजार सामान्य फ्रान्सेलीको पनि ज्यान गरेको थियो। फ्रान्सकै अनुसार ३ लाख देखि ५ लाख अल्जेरियाली मरेका थिए। अल्जेरियाको दाबी अनुसार १५ लाख जना मारिएका थिए। त्यसरी लाखौँको ज्यान गएर अल्जेरिया स्वतन्त्र भए पनि स्वतन्त्रता पनि अल्जेरियामा धेरै समस्या देखिए।

फ्रान्सेली उपनिवेशबाट मुक्त भए पनि अल्जेरियामा शान्ति कायम हुन सकेन। सन् १९९० को दशकमा इस्लामिक सङ्गठन र आर्मीको बीचमा गृह युद्ध नै चलेको थियो। त्यसै दशकमा गृहको अन्त्य भएर नयाँ संविधान पनि बनेको थियो।

९० को दशकमा जस्तो गृह युद्धको कारण धेरैले ज्यान गुमाउनु परेन। परन्तु भ्रष्टाचार, घरेलु झडप र अशान्ति अल्जेरियाको पहिचान नै भए। पछिल्लो समय शान्त रहेको यसै देश नयाँ युगमा जाँदै छ। जुन युगमा फ्रान्सेली उपनिवेशको कुनै प्रभाव बाँकी नहोस्। स्रोत : बीबीसी, ब्रीटानीका, फ्रान्स २४

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ८ : ०३ बजे

मोदीले गरे गान्धी र शास्त्रीको योगदानको स्मरण

काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रपिता महात्मा गान्धी र पूर्वप्रधानमन्त्री

राष्ट्रपति भण्डारीको समुपस्थितिमा फूलपाती बढाइँ

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

कर्णाली– जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२

‘बालुवा बोक्न थालेकै पाँच दशक भयाे, कति समय घाटकै छेउको ढुङ्गामुनि बसेँ’

लेखनाथ– उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अभियान सञ्चालन

काभ्रेपलाञ्चोक– यहाँको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात