दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. माओवादीले आज पनि टुंग्याइएन पदाधिकारी

नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारीको नलगाई बैठक स्थगित गरेको छ । आज बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । भोलि दिउँसो १ बजे पुनः बैठक बसेर पदाधिकारीको विषयलाई टुंग्याइने उनको भनाइ छ । आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेको बताइएको छ ।

२. एकीकृत समाजवादीले भोलि चुनाव केन्द्रित भेला गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भोलि काठमाडौँमा जिल्ला भेला गर्ने भएको छ । उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तुति, आर्थिक विवरण प्रस्तुति र कमिटीको नयाँ कार्यसमितिको निर्वाचन गरिने कमिटीका सचिवालय सचिव कृत भण्डारीले जानकारी दिए ।

३. सशस्त्रमा रासन भत्तामा अनियमितता

रासन भत्तामा अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीको ४४ नं गणका गणपतिमाथि छानविन सुरु भएको छ । दार्चुलाको खलंगास्थित गणका गणपति एसपी त्रिभुवन विष्टमाथि छानविन सुरु भएको हो ।

बिष्टलाई हेडक्वार्टर तानेर छानविन सुरु गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । उनलाई केही दिन पहिले नै हेडक्वार्डर झिकाइएको थियो । छानविनका सबै कागजात मगाइएको र एसपी बिष्टलाई गणको जिम्मेवारीबाट हटाएर छानविन भइरहेको हेडक्वार्टर स्रोतले जनाएको छ । 

४. डेंगु नाघ्यो ११ सय केस

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले पछिल्लो एक महिनामा डेंगुका बिरामी ह्वात्तै बढेको जनाएको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको हो ।

गएको पुस महिनायता झण्डै ११ सय ५० जनामा डेंगु पुष्टि भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण दाहालले गएको वर्षभन्दा यस वर्ष डेंगुको बिरामी बढेको बताए ।

गत वर्ष ०७८/०७९ मा  ५३० केस पुष्टि भएको भएको थियो । यस वर्ष भदौ पहिलो सातामै ११ सय भन्दा बढी डेंगुका केस भेटिएको उनको भनाई छ ।

 ५. देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको भिड

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको भिड लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । राजधानीको मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति छ। 

६. पूर्व–पश्चिम राजमार्ग खुल्यो

पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले बन्द गराएको पूर्वपश्चिम राजमार्ग प्रहरीले खुलाएको छ ।

ठक्कर दिएर फरार भएको गाडीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने प्रतिबद्धता प्रहरीले जनाएपछि राजमार्ग खुलाउन स्थानीय तयार भएका हुन् । राजमार्ग अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरू अहिले गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका थिए ।

७. सुकेटारमा तीन महिनापछि उडान 

ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर गएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए ।

उनका अनुसार अब तालिका अनुसार सातामा सोमवार, बुधवार र शुक्रबार उडान हुनेछ ।

८. बालबालिका विद्यालय जान पाएनन्

हाइटीमा भूकम्पपछि पनि अझै दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान  नपाएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार भूकम्प गएको  एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । भुकम्पका कारण  विद्यालयल भवन एक वर्षअघिको क्षति पुगेको  थियो ।

ती विद्यालय भवनहरू निर्माण गर्न वर्षौँसम्म लाग्नसक्ने राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घीय बालकोषले त्यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ ।

९. न्युजिल्यान्डमा बाढीका कारण सयौँ विस्थापित 

न्युजिल्यान्डको दक्षिणी टापुमा वर्षापछि आएको बाढीका कारण सयौँ परिवार  विस्थापित छन् । बाढीका कारण मुख्यगरी बुलरनेल्सनमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

बस्ती तथा जमिनमा दुई फिटभन्दा धेरै पानी जमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार टोली र सुरक्षा निकायले जलमग्न सडकमा मानिसलाई आवश्यक सहयोग गरिरहेका छन् । बाढीका कारण ढलहरू फुटेकाले सुरक्षित पिउने पानीको समस्या भएको छ ।  

१०. सन्दीप लामिछानेले ’द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ’द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण गुमाउने भएका छन् । वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको द सिक्स्टीका लागि सन्दीप जमैका तालाबाजमा आबद्ध रहेका थिए ।

द सिक्स्टी क्रिकेट २५ अगस्टबाट सुरु हुँदै छ । यसै समयमा नेपालले केन्याविरुद्ध सिरिज खेल्नेछ । नेपालले ५ खेलको टी–ट्वान्टी तथा ३ खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमण गर्दैछ । सन्दीप ५ टी–ट्वान्टी सिरिज सकेर मात्र वेस्ट इन्डिज जाने छन् ।

१० औं संस्करणको क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा सहभागी हुन सन्दीप त्यसतर्फ जाने छन् ।  

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १ : ३४ बजे

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

धरान– धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

 रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर

डोटीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु 

डोटी– डोटीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ

अनुत्तीर्ण विद्यार्थीमा पर्ने मनोवैज्ञानिक असर

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले हिजो शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई),