दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई, वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन प्रचण्डकाे निर्देशन, तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने पाैडेलकाे घाेषणा, काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको  विश्वप्रकाश शर्माकाे भनाइ, कांग्रेस नेता प्रदीप गिरिकाे भेन्टिलेटरमा राखेर उपचार सुरु, थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

आज दिनभरका मुख्य समाचारहरू:

गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई

सत्ता गठबन्धनले सिट बाँडफाँड कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । बैठकमा कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएको र नेताहरूले त्यसबारे धारणा राखेको जानकारी दिए ।

‘आजको बैठकमा कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत भयो । नेताहरूले पनि त्यसबारे धारणा राख्नुभयो,’ कार्कीले भने, ‘नेताहरूले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।’

अब कार्यदलले चाँडो सिट बाँडफाँडको काम पूरा गर्ने उनको भनाइ छ । कार्यदलले गत प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनको मत परिणाम तथा बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ । तर सिट संख्याका बारेमा भने कुरा मिलेको छैन ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन प्रचण्डकाे निर्देशन
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन ।

काठमाडौंमा आज योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै दाहालले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन ।

अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरु एक हुनुपर्ने बताए । उनले माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न नसक्ने र परिवर्तनका बाहकहरुलाई पन्छाएर मुलुकको बिकास असम्भव रहेको जिकिर गरे ।

तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने पाैडेलकाे घाेषणा
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका छन । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका हुन ।

पौडेलले यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जित्न चाहेको बताउए । आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ ।नेता पौडेलले सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने उनको भनाई छ ।

२०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल ६ हजार ८ सय २ मतातन्तरले पराजित भएका थिए ।

काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको  विश्वप्रकाश शर्माकाे भनाइ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन ।

काठमाडौंमा आज कमरेडको जनै पुस्तक बिमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताजतै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका हुन ।

उनले फोहरको दिर्घकालि समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहको जिकिर गरे ।

कांग्रेस नेता प्रदीप गिरिकाे भेन्टिलेटरमा राखेर उपचार सुरु
नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई आज भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो ।

उनी क्यान्सरको अन्तिम चरणमा रहनुभएको र अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकका अनुसार गिरीलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन ।

आजै दिउँसो कांग्रेस नेता बिमलेन्द्र निधि अस्पतालमै पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत पैसा नबाँड्न सांसदलाई निर्देशन

निर्वाचन आयोगले गण्डकी प्रदेश र प्रदेश १ लाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सांसदलाई पैसा नबाँड्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला योजना छनोट र योजना बाँड्ने तयारी भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा गण्डकी र प्रदेश १ सरकारले सांसदमार्फत बजेट खर्चन लागेका हुन्। कार्यकाल सकिन लागेका बेला अघिल्ला वर्षजस्तै ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत बजेट दिन लागिएको हो ।

प्रदेश १ मा कार्यविधि बनाएर सांसदलाई योजना छनोट गर्न लगाइएको छ भने गण्डकीमा योजना बाँड्ने तयारी छ । निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न नसकिने आयोगको भनाई छ ।

राशन घोटाला विवादमा मुछिएका सशस्त्र प्रहरीका एसपी विष्ट हेडक्वाटर तानिए
राशन घोटाला विवादमा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् ।

सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रुपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि उनलाई हेडक्वाटर तानिएको हो ।

एसपी विष्टलाई जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप छ ।

कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदा दिन सकिने प्रावधान छ । तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विद्यालय कर्मचारी परिषदद्वारा धर्ना
विद्यालय कर्मचारी परिषद्ले आज माइतीघर मण्डलामा धर्ना दिएका छन् । सरकारले आफनो माग सुनुवाइ नगरेकोले उनीहरुले आज माइतीघरमा धर्ना दिएका हुन् ।

परिषद्ले हिजो शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा तालाबन्दीसमेत गरेको थियो । प्रहरीले ताला फुटाएपछि माइतीघरमा आज पुन उनीहरुले धर्ना दिएका हुन् ।

गत बुधबारदेखि सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी)ले केन्द्र भक्तपुरमा धर्ना दिएका थिए । सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विद्यालय कर्मचारीले काठमाडौंकेन्द्रित आन्दोलन थालेका हुन् । आन्दोलनमा सहभागी हुन ५० भन्दा बढी जिल्लाका विद्यालयका लेखापाल, कार्यालय सहयोगी काठमाडौं आएका छन ।

आर्थिक वर्ष २०७८/०७९को बजेट वक्तव्यमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख गरिएको छ । माग पूरा नभए आगामी हप्तादेखि देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने परिषद्ले चेतावनी दिएको छ ।

थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय २१ पिसिआर परिषणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ४ सय ८७ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

दसैं र तिहारका लागि आयात गरिएका अर्बौं मूल्यका सामान केरुङमै रोकिए
चीनले गत सातादेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेपछि दसैं र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएका छन् ।

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको हो । निर्यातमा रोक लगाएसँगै व्यापारीका अर्बौं मूल्य बराबरका सामान केरुङमै थन्किएका छन् । केरुङमा रोकिएको सामान करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको छ ।

कोरोनाका कारण चीनले अगस्ट २१ सम्म केरुङलगायत तिब्बतमा लकडाउन गरेको छ । तिब्बतमा लकडाउन भएका कारण केरुङसम्म आइसकेको सामान डाइभर्ट गरेर ल्याउन पनि नसकिने व्यवसायी बताउँछन् । केरुङबाट एक सातामा काठमाडौं आइपुग्ने सामान डाइभर्ट गरेर ल्याउन दुई महिना लाग्छ ।

अडियाे सुन्नुहाेस् :

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ८ : ५७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा