कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा | Khabarhub Khabarhub

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

टीकापुर – कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ। जिल्लाको भजनीस्थित हुलाकी सडकमा  दुई वर्ष मुनीका बालबालिका पनि छन्। सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन्। बालबालिका र आमाहरुलाई थप समस्या भएको छ।

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ। उनको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आए। बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उहाँलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ। ‘आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैँ भोकै छु’, उनले भनिन्, ‘पेटभरि पानी खान पनि पाइएको छैन। गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ।’

दीपा सुनार र उनको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ। ‘घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ’, उनले भनिन्, ‘यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोँच्छ। बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो।’ अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आइन्। भिज्दै आएकाले होला उनको नौ महिनाको बच्चा बिरामी भइसकेको छ। उनको बच्चालाई रुघाखोकी सुरु भएको छ। ‘घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ, बच्चा भिजेर निर्थुक्कै भएको थियो’, उनले भनिन्, ‘लौ न सरकार भएको महसुस गराइदिनुपर्‍यो। हामी त बर्बाद भयौँ।’

भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ। घरमा छिनछिनमा खानेकुरा खाने सानुको बच्चाले शनिबार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ। ‘हामी त दुःखसुख सहन सक्छौँ, बच्चाले सहन सकेको छैन, घर जाउ भन्छ, घर बाढीमा डुबेको छ’, उनले भनिन्, ‘लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन। घरमा के के बग्यो थाहा छैन।’

भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै सो दिन खटिसकेका जानकारी दिए। ‘हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँ, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ’, उनले भनिन्, ‘यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन। अब हामी पोषणमा समेत ध्यान दिन्छौँ।’

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन्। यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ। महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताइन्। ‘सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा चाहिन्छ’, उनले भनिन्, ‘महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय, पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ।’

यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उनको भनाइ छ। बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन्। प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ५६ बजे

शान्ति सम्झौता भएन भने युक्रेनी नेता संकटमा : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष

प्रचण्डले भने- जनताले पाएका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो

कैलाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व

ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं– ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले

सुदूरपश्चिम स्पोट्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

धनगढी–  ‘छैटौँ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य

परम्परागत खेतीको विकल्प खोज्दै शैलुङका किसान 

दोलखा– जिल्लाको शैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरीखेतीप्रति आकर्षित