बाढीले खेती नोक्सान गरेपछि कञ्चनपुरका किसान चिन्तित « Khabarhub

बाढीले खेती नोक्सान गरेपछि कञ्चनपुरका किसान चिन्तित


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पुर्‍याएपछि किसान निराश बनेका हुन् ।

लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति पुर्‍यायो ।

खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुवाले सबै पुरिदिएको छ”, उनले भने, “धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपातसमेत बाढीले भिजाएको छ ।”

बाढीले छ महिनाको मेहनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उनको गुनासो छ । “धानको बाला लागिरहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे”, उनले भने, “तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन् ।”

उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । “११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यानाश भएपछि अब के गर्ने ?”, उनले प्रश्न गरे ।

गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उनले सुनाए । “गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो”, उनले भने, “घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टाँगेर बसेका छौँ ।”

लालझाडी गाउँपालिकाको छ वटै वडामा बाढीले खेतीपातीमा ठूलो क्षति पु¥याएको कृषि शाखाप्रमुख हजमिला लावडले बताए । “बाढीले धान, उखु, बदाम, सखरखण्डलगायतमा ठूलो क्षति पुर्‍याएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “पालिकाको आधा खेतीमा क्षति पुर्‍याएको अनुमान छ ।”

वर्षदिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित छन् । उनले भने, “वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।”

एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको उनले बताए । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उनले भने ।

दोदा, वनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पु¥याएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले बताए ।

“बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरू त बिस्तारै पानी कम हुँदै गएपछि उठ्न सक्ला”, उनले भने, “बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने यकिन विवरण आएको छैन ।” आफूहरु पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ४६ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत