थारू सङ्ग्रहालय बनाउने विकासमन्त्री चौधरीको घोषणा  | Khabarhub Khabarhub

थारू सङ्ग्रहालय बनाउने विकासमन्त्री चौधरीको घोषणा 


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– आफ्नो रीतिथिति र परम्परा झल्कने सङ्ग्रहालय आफ्नै क्षेत्रमा बन्ने कुराले महोत्तरीका आदिवासी थारू अहिले दङ्ग छन् । आइतबार जिल्लाको भङ्गाहा नगरपालिका-७ मेघरोल पुगेका संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले सो ठाउँमा थारू सङ्ग्रहालय बनाउने घोषणा गरेपछि उक्त समुदायमा खुसी छाएको हो । 

‘अब हाम्रो आफ्नै ठाउँमा थारु जातिका वेशभूषा, रीतिथिति, खाद्य परिकार र रहनसहनसमेत झल्कने सङ्ग्रहालय बन्ने घोषणा भएको छ’, स्थानीय नेकपा (एमाले) भङ्गाहा नगर कमिटी अध्यक्ष चन्द्रनारायण सिंह थारुले भने, ‘सङ्ग्रहालय बनेपछि थारु संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धनमा सहयोग पुग्नेछ ।’

उक्त  नगरपालिका थारू बाहुल्य भएको क्षेत्र मानिन्छ । जम्मा नौ वडा रहेको नगरपालिकाका सबै वडामा थारूको बसोबास छ । सबै वडामा धेरथोर थारूको  बसोबास भए पनि भङ्गाहा, धर्मपुर, थारुटोल बनरा, बखरी, मदनपट्टी, पर्सा, करुणा, मझौलिया, मेघरोल, गोरहन्ना, रामनगर र भीमगढ थारू बसोबासका मुख्य बस्ती मानिन्छन् । 

साविकका भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, मेघनाथ गोरहन्ना र हरिहरपुर हरिनमरी गाविस क्षेत्र समेटेर भङ्गाहा नगरपालिका घोषणा गरिएको हो । जिल्लामा भङ्गाहाका अतिरिक्त गौशाला नगरपालिका क्षेत्रका रजखोर बिर्ता, निगौल र बिसरपुरसहित बस्तीमा थारु जातिको बसोबास रहँदै आएको छ ।

यी ठाउँका आदिवासी  भएर पनि स्थानीय जाति र समुदायको उत्थान तथा पहिचानका लागि खासै काम हुन नसकेका बेला हालै (महोत्तरी-२) कै प्रतिनिधिसभा सदस्य शरत्सिंह भण्डारीसहित मेघरोल पुगेका मन्त्री चौधरीले सङ्ग्रहालय निर्माणको काम तत्काल थालिने बताएपछि आफूहरू हौसिएको भङ्गाहा–६ मदनपट्टी निवासी  राजनारायण राय थारुले बताए । 

सङ्ग्रहालय निर्माणका लागि  प्रथम चरणमा गुरुयोजनाको काम थालिने र गुरुयोजना सम्पन्न भए पछि सङ्ग्रहालय निर्माणको काम थालिने जनाइएको छ । आठ बिघा क्षेत्रफलमा पोखरी, मनोरम बाटिकासहित निर्माण हुने  सङ्ग्रहालयमा थारू संस्कृति र परम्पराका आधारभूत सबै कुरा राखिनेछन् । यसले थारु समुदायको मात्र नभई जिल्लाकै शाख वृद्धिमा योगदान दिने नगरपालिकाकी उपप्रमुख शान्तिसिंह थारुको भनाइ थियो ।  

आमरूपमा सरल व्यवहारका अत्यन्त मिलनसार मानिने थारु जाति इमान्दार र मेहनेती हुन्छन् । आफ्नै समुन्नत कला, संस्कृति र परम्पराको सङ्ग्रहालय बन्ने कुराले थारु जातिको इतिहास जगेर्ना हुने नगरप्रमुख सञ्जीवकुमार साहले बताए । ‘सङ्ग्रहालय हामी सबैका लागि गौरवको कुरा बन्नेछ’ उनले भने ।

यसअघि मदनपट्टी वेलफेयर सोसाइटीका अध्यक्ष सुदीपकुमार चौधरी थारूले सङ्ग्रहालय निर्माणका लागि मन्त्री चौधरीलाई स्मरणपत्र बुझाएको थियो । सङ्ग्रहालयमा थारु संस्कृति झल्किने सामग्रीको प्रदर्शनीसँगै थारू खानाका परिकार उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल पनि निर्माण गरिने बताइएको छ । 

विभिन्न पर्व र उत्सव पनि मनाउने योजना रहेको उक्त सङ्ग्रहालय निर्माण भएपछि सो क्षेत्र नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्यसमेत बन्ने महोत्तरीवासीको अपेक्षा छ  । सङ्ग्रहालय निर्माणका लागि  अनुमानित रु छ करोड खर्च हुने बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : ३९ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित