कसले मिलाउँदैछ आरोपित उम्काउने ‘सेटिङ’ ? | Khabarhub Khabarhub

कसले मिलाउँदैछ आरोपित उम्काउने ‘सेटिङ’ ?



सन् २०१८ नोभेम्बरमा हिन्दी धारावाहिक ‘तारा’की लेखिका विनिता नन्दाले अभिनेता आलोकनाथमाथि १९ वर्षपछि आफूमाथि बलात्कारको आरोप लगाइन्। भारतमा ‘मि टू’ अभियान प्रारम्भ भएपछि नन्दाले १९ वर्षअघिको बलात्कार सार्वजनिक गरेकी थिइन्। तर, कानुनका हात आलोकनाथसम्म कसरी पुग्थ्यो र ? समय धेरै घर्किसकेको थियो। यसबीचमा अनेक ‘सेटिङ’ भए। आलोकनाथ उम्किए।

आलोकनाथ यस्ता अभिनेता हुन्, जो टेलिभिजनमा सबैभन्दा संस्कारी पात्रको भूमिकामा देखिन्छन्। सलमान खानको हिट चलचित्र ‘मैने प्यार किया’मा नायिका भाग्यश्रीका पिताको भूमिका निर्वाह गर्ने आलोकनाथ चलचित्र र टेलिभिजनमा पिता, काका र हजुरबुवाको नैतिकवान र संस्कारी भूमिकामा देखिन्छन्। तिनै आलोकनाथमाथिको यो आरोप दर्शकलाई पचाउन कठिन भयो, जसरी अहिले नेपाली अभिनेतामाथि नाबालिकमाथि बलात्कारको आरोप पचाउन एकथरीलाई सकस छ।

भारतमा ‘मि टू’ अभियान प्रारम्भ भएपछि नन्दाले १९ वर्षअघिको बलात्कार सार्वजनिक गरेकी थिइन्।

सन् १९९३ मा ‘तारा’को सेटमा मुख्य अभिनेत्री नवनीत निशानसँग दुव्यर्वहार गरेपछि नै धारावाहिकले आलोकनाथलाई निकाली दिएको थियो। नवनीतले चलचित्र संसारका अनेक बाध्यताका कारण यसलाई सार्वजनिक मुद्दा बनाइनन्। तर, लामो समय मौन रहेकी नन्दाले भने ‘फेसबुक स्टाटस’मार्फत् आलोकनाथले एउटा पार्टीमा आफूमाथि यौन शोषण गरेको हाकाहाकी खुलासा गरिन्।

यतिबेला नेपालमा पल शाहविरुद्ध बलात्कारको उजुरी दिने नाबालिक गायिकाले बारम्बार बयान बदलीरहँदा पीडितको संवेदतातर्फ कसैले ध्यान दिइरहेको पाइदैन। एकथरी महिला अधिकारकर्मी, केही नायक÷नायिका र दृश्यमा नदेखिने ठूलो गिरोह पल शाहलाई निर्दोष सावित गर्ने चलखेलमा छ। पिडित ‘होस्टाइल’ भएकोमा एकथरीले खुशीयाली मनाइरहेका छन्।

सेटमा मुख्य अभिनेत्री नवनीत निशानसँग दुव्यर्वहार गरेपछि नै धारावाहिकले आलोकनाथलाई निकाली दिएको थियो। नवनीतले चलचित्र संसारका अनेक बाध्यताका कारण यसलाई सार्वजनिक मुद्दा बनाइनन्।

आखिर ‘पलले आफूमाथि बलात्कार गरेको’ स्वभाविक क्रन्दनका साथ सार्वजनिक रुपमा बताउने गायिका र तीनका पिताले एकाएक बकपत्रमा बयान फेर्नु स्वभाविक देखिदैन। हालसम्म बाहिर आएको तथ्य अनुसार अभिनेता शाह बियरको बोतल लिएर नाबालिक गायिकाको कोठामा जानुबाटै उनको नियत स्पष्ट हुन्छ।

गायिकासँगको संवादका क्रममा उनले शारीरिक सम्पर्क स्वीकार गरेका छन्। पीडितको योनीको झिल्ली च्यातिएको चिकित्सकले पुष्टि गरिसकेका छन्। सहमतिमै सम्पर्क भए पनि बलात्कार ठहरिने स्पष्टै छ। अतः पीडितले बयान फेरेकै आधारमा यो मुद्दा शाहको पक्षमा जाने देखिदैन।

हो, अहिले पीडितको बयान फेर्न लगाउने, उनलाई मानसिक सन्तुलन ठिक नभएको साबित गर्ने र शाहलाई उम्काउने डिजाइन बमोजिम चलखेल गर्नेले ठूलै हदसम्मको आर्थिक र अन्य पहुँचको दबाब सिर्जना गरेका हुनसक्छन्।

नाबालिगले अदालतमा बकपत्र गर्ने क्रममा शाहले बलात्कार नगरेको बयान दिएपछि पीडितको पक्षबाट बिना पारिश्रमिक बहस गर्ने सरिता तिवारीले पनि शक्ति र पैसाको प्रभावको संकेत गरेकी छिन्। उनले ‘पल शाह प्रकरणको यो मोड शक्ति, पैसा र प्रभावको अर्को विडम्बनायुक्त उदाहरण’ भएको बताएकी छिन्।

पीडितको योनीको झिल्ली च्यातिएको चिकित्सकले पुष्टि गरिसकेका छन्। सहमतिमै सम्पर्क भए पनि बलात्कार ठहरिने स्पष्टै छ। अतः पीडितले बयान फेरेकै आधारमा यो मुद्दा शाहको पक्षमा जाने देखिदैन।

तिवारीले फेसबुकमा लेखकी छन्, ‘जबरजस्ती करणीलगायत यौन दुव्र्यवहारका मुद्दामा राज्यबाट पीडितको सुरक्षा संवेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पीडित स्वयं प्रतिवादी जोगाउने हतियार बन्न पुग्छन् ! पल शाह प्रकरणको यो मोड शक्ति, पैसा र प्रभावको अर्को बिडम्बनायुक्त उदाहरण हो।’

उम्कन्छन्, ‘आलोकनाथ’हरु
धाराबाहिक लेखिका नन्दाको आलोकनाथ हर्कतबारे सार्वजनिक बयानपछि बलिउडमा हंगामा मच्चियो। नन्दाले लेखेकी थिइन्, ‘एक साँझ आलोकनाथको घरमा आयोजित पार्टीमा मेरो ड्रिंक्समा केही मिलाइयो। मलाई अनौठो महसुस हुनथाल्यो। राति दुई बजे म उनको घरबाट निस्किएँ। कसैले मलाई घर छाडिदिने कुरा गरेनन्, जुन मेरा लागि विचित्र थियो। मलाई लाग्यो, यहाँ बस्नु ठिक हुँदैन। म सुनसान सडकमा घरतिर गइरहेकी थिएँ। मेरो घरको दूरी धेरै टाढा थियो। बीच बाटोमा मैले उस (आलोकनाथ)लाई भेटें। उसले मलाई घरसम्म छाडिदिने कुरा गर्यो। विश्वास गरेर म उसको कारमा बसें। त्यसपछि मलाई होस रहेन। मलाई सम्झना छ कि मेरो मुखमा मदिरा हालिएको थियो र राति अबेरसम्म यौन शोषण गरियो। जब म अर्को दिन दिउँसो जागें, मलाई पीडा भइरहेको थियो। मेरो बलात्कार मात्र गरिएन, मलाई मेरो घर लगियो र बर्बर व्यवहार गरियो।’

जब नन्दाले यो घटनाबारे आफ्ना साथीहरुलाई बताइन्, उनीहरुले उनलाई मौन रहन र बलात्कारलाई बिर्सन सल्लाह दिएका थिए। आलोकनाथले आफ्नो ‘संस्कारी व्यक्तित्व’को उपयोग गर्र्दै त्यसपछि पनि आफूमाथि यौन शोषण गरेको नन्दाको आरोप थियो।

विश्वास गरेर म उसको कारमा बसें। त्यसपछि मलाई होस रहेन। मलाई सम्झना छ कि मेरो मुखमा मदिरा हालिएको थियो र राति अबेरसम्म यौन शोषण गरियो।

आखिर १९ वर्षसम्म लेखिका नन्दा किन मौन रहिन् ? यसमा उनका अनेक बाध्यता थिए। नन्दाका अनुसार उनलाई जागिर र पैसाको खाँचो थियो, करिअर बचाउनु थियो। आर्थिक र सामाजिक प्रतिष्ठाको बाध्यताका कारण उनी लामो समयसम्म आफूमाथि भएको ज्यादतीबारे मौन रहिन्।

१९ वर्षपछि नन्दाले आलोकनाथविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। तर, आलोकनाथको पहुँचको आलोकले उनलाई निर्दोष साबित गरिदियो। मुम्बईको सेसन कोर्टले आलोकनाथमाथि नन्दाले लगाएको आरोपलाई गलत ठहर गरिदियो।

‘अभिनेता शाहलाई फँसाउन षडयन्त्र गरिएको’ भन्ने एकथरीको दाबी छ। यस्तै प्रकृतिको फैसला अदालतले आलोकनाथको हकमा पनि गरेको थियो। अदालतले ‘आरोपीलाई गलत ढंगले आलोकनाथलाई फँसाइएको हुनसक्ने’ भन्दै आरोपीलाई रिहा गरिदियो।

नन्दाजस्ती एउटी नाम चलेकी लेखिका त १९ वर्षसम्म मौन रहन्छिन् भने नेपालकी एक नाबालिक गायिकाले किन बलात्कार हुनासाथ अभिभावकलाई बताइनन् या उजुरी दिइनन् भनेर तर्क गर्नु असंवेदनशीलता हो। र, अहिले आएर बयान फेर्नुको कारण के हो ? भन्ने पक्षको गहिराइमै नपुग्दासम्म यो प्रकरणको न्यायोचित निरुपण हुन सक्दैन।

बलात्कृत चेलीमाथि नकारात्मक दृष्टि राख्ने सामाजिक मानसिकताका कारण अहिले पनि धेरै महिलामाथि भएका बलात्कारका घटना सार्वजनिक हुँदैनन्। ती कानुनको पहुँचसम्म पुग्दैनन्। पुगेपछि बयान बदल्न लगाउन महिला अधिकारकर्मीदेखि समाजका सभ्य भनाउँदा नै सक्रिय हुँदोरहेछ भन्ने स्पष्ट भइसकेको छ।

नन्दाजस्ती एउटी नाम चलेकी लेखिका त १९ वर्षसम्म मौन रहन्छिन् भने नेपालकी एक नाबालिक गायिकाले किन बलात्कार हुनासाथ अभिभावकलाई बताइनन् या उजुरी दिइनन् भनेर तर्क गर्नु असंवेदनशीलता हो।

आलोकनाथ या शाहजस्ता अभिनेताको मात्र होइन, मदिरा सेवन गराएर बलात्कार गर्नु सेलिब्रेटी पीडकको आम प्रवृत्ति देखिन्छ। सन् २०२१ अगस्तमा चीनमा चर्चित पप गायक एवं अभिनेता क्रिश बुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरियो। एक विद्यार्थीले आफू १७ वर्षको उमेरको छँदा गायक वुले आफ्नो यौन शोषण गरेको आरोप लगाएकी थिइन्।

सन् २०१८ मा चीनमा ‘मीट टू’ अभियान चलिरहेको बेला ती विद्यार्थीले यस्तो दाबी गरेकी थिइन्। नेपाली नायक पल शाहमाथि पीडित गायिकाले गरेको जस्तै उजुरी ती विद्यार्थीको थियो। ‘वुको घरमा आयोजित पार्टीमा मलाई बोलाइएको थियो। मलाई मदिरा सेवन गर्न दबाब दिइयो। बिहान उठदा मैले वुको ओछ्यानमा आफूलाई पाएँ’, ती विद्यार्थीको आरोप थियो।

केही वर्षअघि हिन्दी टेलिभिजनका अभिनेता करण ओबरायमाथि एक ३४ वर्षीया महिलाले बलात्कारको आरोप लगाइन्। आरोप थियो, ‘करणले विवाहको सपना देखाएर ममाथि बलात्कार गरे र त्यसको भिडियो क्लीप सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेलिङ गरे।’

महिलाबाट यस्तो उजुरी पर्नासाथ मुम्बई प्रहरीले अभिनेता करणलाई पक्राउ गर्यो। अब मुद्दा चलिरहेकै बेला पीडित भनिएकी महिला पक्षबाट एउटा नाटक मञ्चन हुन्छ। पीडित महिलाले बिहान प्रभातफेरीमा निस्कदा आफूमाथि मोटरसाइकलमा सवार दुई व्यक्तिले हमला गरेको उजुरी दिइन्।

अभिनेताले आफ्नो बदनाम गरेको र उजुरी दिएको झोंकमा आफूमाथि हमला गराएको साबित गर्ने पीडित महिलाको दाउ थियो। यो नाटकको पर्दाफास भएपछि यसमा संलग्न अधिवक्ता पनि पक्राउ परे। पीडित महिलाको पछिल्लो नियोजित हमलालाई आधार बनाएर अभिनेताका फ्यानले पीडित महिलालाई नै दोषी मान्दै सामाजिक संजालमा लेख्न थाले। यसले पीडित महिलाले दिएको बलात्कारको उजुरीलाई ओझेलमा पारिदियो।

यसरी उम्किए, ‘चिन्मयानन्द’
पहुँचवाला बलात्कारको मुद्दामा कसरी उम्कन्छन् भन्ने भारतकै अर्को उदाहरण हेरौं। भारतमा अटल बिहारी बाजपेयीजस्ता स्वच्छ छविका प्रधानमन्त्रीको क्याबिनेटमा गृहराज्यमन्त्री भइसकेका स्वामी चिन्मयानन्दलाई बलात्कार अभियोगमा सन् २०१९ सेप्टेम्बर २० मा पक्राउ गरिएको थियो। कानुन पढ्ने एक छात्राले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि पक्राउ परेका मन्त्री चिन्मयानन्दलाई विशेष अदालतको सुनुवाइपछि रिहा गरियो। यसमा पनि ‘होस्टाइल’को खेल चल्यो।

उत्तर प्रदेशको शाहजहाँपुरस्थित शुकदेवानन्द विधि महाविद्यालयमा एलएलएममा अध्ययनरत छात्राले एक भिडियोमार्फत् स्वामी चिन्मयानन्दमाथि यौन शोषणको गम्भीर आरोप लगाएकी थिइन्। चिन्मयानन्दबाट आफ्नो ज्यानकोसमेत खतरा भएको उनले बताएकी थिइन्। यो खुलासासँगै ती छात्रा बेपत्ता भइन्।

कानुन पढ्ने एक छात्राले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि पक्राउ परेका मन्त्री चिन्मयानन्दलाई विशेष अदालतको सुनुवाइपछि रिहा गरियो। यसमा पनि ‘होस्टाइल’को खेल चल्यो।

केही समयपछि छात्राका पिताले चिन्मयानन्दविरुद्ध अपहरण र ज्यान मार्ने धमकीको मुद्दा हाले। यसैबीच छात्रा र उनका केही मित्रले म्यासेज पठाएर चिन्मयानन्दबाट ५ करोड रुपैयाँ मागे। र, भने जति रकम नदिए चिन्मयानन्दको अश्लील भिडियो भाइरल गरिदिने धम्की पनि दिए। एकातिर छात्राको पिताको मुद्दा छँदैथियो, अर्कोतिर छात्रा र उनका तीन मित्रविरुद्ध अर्को मुद्दा पनि दायर भयो।

अनुसन्धानका क्रममा क्राइम ब्रान्चको टोलीले राजस्थानको एउटा होटलबाट छात्रा र उनका साथीलाई हिरासतमा लियो। उनीहरुलाई सर्वोच्च अदालतमा प्रस्तुत गरियो। अदालतको आदेशबाट विशेष अनुसन्धान कमीटी गठन गरियो। अनुसन्धान टोलीले एउटा यस्तो भिडियो बरामद गर्यो, जसमा कानुनकी ती छात्राले चिन्मयानन्दको मसाज गरिरहेको देखिन्थ्यो। यो भिडियो छात्राले भूमिगत क्यामराबाट छायांकन गरेकी थिइन्। छात्रालाई मसाज गराएको प्रमाणकै आधारमा चिन्मयानन्दलाई थुनामा राख्ने आदेश भयो। उता, ब्ल्याकमेलिङ गर्दै ५ करोड रुपैयाँ मागेको आरोपमा छात्रासहित उनका साथीहरु पनि जेल चलान भए।

अन्ततः चिन्मयानन्दले सन् २०२० फरवरीमा उच्च न्यायालयबाट जमानत पाए। अदालतको फैसलामा भनिएको थियो, ‘कसले कसको शोषण गर्यो, त्यो ठहर गर्न मुस्किल छ। पीडित छात्राका परिवार आरोपी व्यक्तिको उदार व्यवहारबाट लाभान्वित भएको देखिन्छ। तर, यस्तो कुनै चिज रेकर्डमा छैन, जसबाट छात्रामाथि यौन उत्पीडन भएको प्रमाणित होस्। यसबारेमा पीडितले परिवारलाई जानकारी दिएको पनि देखिँदैन। त्यसैले कुनै लाभका लागि केही काम गरेकोजस्तो देखिन्छ।’

छात्रालाई मसाज गराएको प्रमाणकै आधारमा चिन्मयानन्दलाई थुनामा राख्ने आदेश भयो। उता, ब्ल्याकमेलिङ गर्दै ५ करोड रुपैयाँ मागेको आरोपमा छात्रासहित उनका साथीहरु पनि जेल चलान भए।

अदालतको यस्तो फैसला आउनुको कारण थियो, पीडित छात्राले अदालतमा आफ्नो बयान बदल्नु। उनले भनेकी थिइन्, ‘प्रहरी अधिकारीले अदालतमा प्रस्तुत गरेजस्तो कुनै पनि आरोप मैले पूर्वमन्त्रीविरुद्ध लगाएकी छैन, पूर्वमन्त्री विरुद्धको आरोप सबै झूठो हो।’

पीडित छात्राले बयान बदलेपछि मुद्दा दायर गर्ने पक्षले उल्टै छात्राविरुद्ध कार्वाहीको माग गर्दै अर्को रिट हालेका थिए। तर, अदालतले पूर्वमन्त्री र पीडित भनिएकी छात्रा दुबैलाई रिहा गरिदियो। अर्थात् पीडित र आरोपी दुबैबीचको मिलिभगतमा बयान फेरेर यो मुद्दा सल्टेको देखिन्छ।

अहिले पल शाहको मुद्दामा पनि दुबै पक्षलाई मिलाउन भूमिगत रुपमा कसैले सेटिङ मिलाएको नहोला भन्न सकिन्न। नेपालमा हरेक द्वन्द्व, कलह र सत्ता भागबण्डामा सेटिङ मिलाउनेको बिगबिगी भइरहेको बेला चर्चित अभिनेताको सार्वजनिक प्रतिष्ठा जोगाइदिन लेखिका सरिता तिवारीले भने झैं यो सबै प्रकरणमा शक्ति, पद र पैसाको पक्ष प्रभावकारी भएको हुनसक्छ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ३६ बजे

जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल

एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प

काठमाडौं– अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी

पूर्वका पहिचानवादी संगठनबीच मोर्चाबन्दी, पार्टी नै बनाउने

सुनसरी – पूर्वका चार पहिचानवादी संगठनबीच एउटै पार्टी बनाउने गरी

सुजुकी मोटर कम्पनीका संस्थापकको निधन

टोकियो– सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको

सम्पदाको बजारीकरण गरेर रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

भक्तपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न