तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

कोभिडका कारण सांघाईमा थप सात जनाको मृत्यु

By खबरहब

April 20, 2022

काठमाडौं- चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा नयाँ लकडाउन लागू गरिएयता कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

तीव्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको जनाइएको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्लो पटक मृत्यु भएका सातै जनामा दीर्घरोग रहेको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेको एएफपीले जनाएको छ । 

‘अस्पताल भर्ना भएपछि बिरामीहरु गम्भीर अवस्थामा पुगेका थिए । निस्प्रभावी उद्दार प्रयत्नपछि उनीहरुको मृत्यु भयो । मृत्युको मुख्य कारण दीर्घकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ ।