दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

सत्ता गठबन्धनमा महानगर र उपमहानगरको सिट बाँडफाँट टुंगियो
सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको बाँडफाँटमा सहमति जुटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलको बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयर बाँडफाँटमा सहमति जुटाएको हो ।सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ । त्यस्तै कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरको उपप्रमुख पाएको छ ।माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ भने ललितपुर महानगर, धरान र धनगढी उपमहानगरको उपप्रमुख पाएको छ ।

पार्टीको निर्णयविपरीत कांग्रेसले चुनावी तालमेललाई अघि बढायोः कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको निर्णय विपरीत कांग्रेसले चुनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन् । नेविसंघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताए । उनले कम्युनिष्टसँग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सवै लाग्नुपर्ने धारणा राखे ।  त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एक भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउनुपर्ने बताए । उनले चुनावमा हुने पदको बार्गेनिङसँग कांग्रेस डराउन नहुने तर्क गरे ।

पोखराको मेयर नेकपा एसलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा ताला
पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन् । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन् । सचिवद्वयले विज्ञप्ति जारी गरी प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको उल्लेख गरिएको छ ।

ठेक्का कारोबार नभएका पालिकामा उम्मेदवार बन्नबाट ठेकेदारलाई नरोक्नू
सर्वोच्च अदालतले सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई उम्मेदवार बन्नबाट नरोक्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ । निर्वाचन आयोग नेपाललाई विपक्षी बनाएर यादव श्रेष्ठले उत्प्रेषणको माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार यस्तो आदेश दिएको हो । आदेशमा ‘कानूनले निर्धारित योग्यता पुगेको र कानूनमा तोकिएको अन्य अयोग्यता नभए’ मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणा पत्रको देहाय (ठ) बमोजिम गरिएको घोषणाका आधारमा ठेक्का कारोबार भएका स्थानीय तह बाहेक अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्न अन्तरिम आदेश गरेको छ ।

न्यायपालिकामा पार्टी कार्यकर्ता लैजान हुँदैनः ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा राजनीतिक दलका कार्यकर्ता न्यायाधीशका रूपमा लैजान नहुने बताएका छन् । पार्टीले ललितपुरमा आज गरेको कार्यक्रममा ओलीले न्यायालय सुधारका लागि र जनताको विश्वास कायम राख्न दीर्घकालीन योजनासहित लाग्नुपर्ने पनि बताए । सर्वोच्च अदालतसम्बन्धी अन्तरक्रियामा सहभागीले गरेको प्रश्नको जवाफ दिनेक्रममा ओलीले न्यायालयको बारेमा आफ्नो धारणा राखे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाएकोप्रति पनि ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । यसैबीच ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेका छन् ।

संविधान संशोधन र पुनर्लेखन पनि स्थानीय चुनावको मूल मुद्दा : जसपा
जनता समाजवादी पार्टीले यो चुनावमा पनि संविधान संशोधन र पुनर्लेखनको मुद्दा उठाउने घोषणा गरेको छ । आज स्थानीय तह निर्वाचनको घोषणा पत्र जारी गर्दै जसपाले यस्तो जनाएको हो । संविधान जारी गर्दा असहमति राखेको यो दल अहिले यही संविधानअन्तर्गतका चुनावमा भाग लिने र सरकारमा समेत सहभागी हुँदै आएको छ । तर‚ उसले संविधान पुनर्लेखनको एजेन्डा नछाडे पनि संविधानका सकारात्मक प्रावधानहरूको भने आत्मसात् गर्ने उल्लेख गरेको छ ।

राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक
ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय समेटेर राप्रपाले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो ।घोषणापत्रमा भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबै वर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनाव जितेको ६ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमा लगायतका विषय समेटिएको छ ।

गभर्नर महाप्रसाद अधिकारी नियमित काममा
सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् । हिँजो सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी आजबाट नियमित काममा फकिएका हुन् । राष्ट्र बैंक पुग्दा कर्मचारीहरूले अधिकारीलाई भव्य स्वागत गरेका थिए । काममा फर्किएपछि गभर्नर अधिकारीले आफूले सिस्टमका लागि आवाज उठाएको भन्दै यसमा सबैले साथ दिएको धारणा राखे ।

क्यान इन्फोटेकको २७ औँ संस्करण आजबाट काठमाडौँमा सुरु
सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औँ संस्करण आजबाट काठमाडौँमा सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरे । कार्यक्रममा मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई अनुकूल हुने गरी प्रविधिमैत्री नीति बनाउने प्रतिबद्धता जनाए । सरकारले व्यवस्थापनका काम अटोमेसन बनाउँदै लगेको जानकारी दिँदै उनले आगामी दिनमा सबै सरकारी काम डिजिटलाइजेसन हुने बताए ।

प्राकृतिक स्रोत प्रयोग नीति पुनरावलोकन गरी संयन्त्र निर्माण गर्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले प्राकृतिक स्रोत साधनको प्रयोग गर्नका लागि नीतिगत पुनरावलोकन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले शैलेन्द्रप्रसाद अम्बेडकरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको विरुद्धमा दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सरकारका नाममा उक्त परमादेश जारी गरेको हो । सर्वोच्च अदालतले प्राकृतिक स्रोतको दोहनका लागि संसद्ले कानुन नबनाएसम्मका लागि अन्य निर्णयबाट काम नगर्न भनेको छ । गिटी, ढुंगा, बालुवालगायतका प्राकृतिक स्रोत निर्यातका लागि संसद्बाट कानुन बन्नुपर्ने परमादेशमा उल्लेख छ ।

बल प्रयोग गरी खुलाइयो बीपी राजमार्ग
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि आज बिहानदेखि अवरुद्ध बनेको बीपी राजमार्ग बल प्रयोग गरी खुलाइएको छ । राजमार्गको सिन्धुलीको कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा प्रहरीले बल प्रयोग गरी यातायात सञ्चालनमा ल्याएको हो । स्थानीय र प्रहरीबीच झडप हुँदा दिनभर तनावग्रस्त बनेको राजमार्गमा सदरमुकामबाट थप सुरक्षाकर्मी झिकाइएको थियो । प्रहरीका अनुसार पीपलभञ्ज्याङ–पचभैया जाने सडकमा मंगलबार राति जिपले ठक्कर दिँदा घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको उपचारको क्रममा सिन्धुली अस्पतालमा आज बिहान मृत्यु भएको थियो । यातायात खुलाउने क्रममा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन् ।

अछाममा सेनाको गाडी दुर्घटना, ५ जना घाइते
अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। आज जिल्लाको साँफेबगर नगरपालिका वडा नं ८ चण्डिकाको जमालगाउँमा सेनाको गाडी दुर्घटना भएको हो।डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना बोकेको गाडी (भ्यान) दुर्घटना हुँदा ५ जना घाइते भएको बताइएको छ। उक्त गाडी (भ्यान) आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो। घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पल प्रकरण– पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्
नायक पल शाहविरुद्ध बलात्कारको आरोप लगाएकी नाबालिगले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । आज भएको बकपत्रमा पीडित भनिएकी नाबालिगले जाहेरीको ब्यहोरा झुट्टो भएको बयान दिएकी छन् ।यसअघि तनहुँ जिल्ला अदालतमा पनि ती नाबालिगले बयान फेरेकी थिइन् । जाहेरी दिएका उनका बुबाले पनि बयान फेरेका थिए ।यसअघि अनुसन्धान अधिकारीसँगको बयानमा पीडित र जाहेरवाला दुवैले पलविरुद्ध बलात्कारको आरोप लगाएका थिए ।पीडितले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् ।

प्रतिकूल मौसमका कारण हवाइ उडान प्रभावित
मौसम प्रतिकूलताका कारण हवाइ उडान प्रभावित भएको छ। जसकारण यात्रुहरू मर्कामा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान केहीबेर प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएको बताए । मौसम विभागकाअनुसार काठमाडौं उपत्यकासहित देशको पहाडी भागमा वर्षा भइरहेको छ ।

भंगाहा नगरका मेयरले बैंकमा ताला लगाइदिए
महोत्तरीको भंगहा नगरपालिकाका मेयरले सामाजिक सुरक्षा भत्ता नबाँडेको भन्दै स्थानीय कुमारी बैंकमा ताला लगाइदिएका छन् । नगरपालिकाबाट खातामा जम्मा गरेको पैसा बैंकले ४ महिनासम्म पनि वितरण नगरेको भन्दै मेयर सञ्जीव कुमार साहले सीतापुर बजारमा अवस्थित सो बैंकको मूल गेटमै ताला लगाइदिएका हुन् । मेयर साहले नगरपालिकाले करिव ४/५ महिना पहिले नै वृद्धभत्ता र एकल महिला भत्ताको पैसा बैंकमा जम्मा गरिसक्दा पनि बैंकले हालसम्म नबाँडेकोले बाध्य भएर ताल्चा लगाएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय २८ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ३ सय ४९ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना पुष्टि भएको हो । आज २५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३ सय १८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

भारतले कोशी सडक नबनाएको भन्दै सीमावर्ती क्षेत्रका बासिन्दाद्वारा प्रदर्शन
कोशी सम्झौता गरेको भारत सरकारले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् । कोशी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जीर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले आज बिहान प्रदर्शन गरेका हुन् । वडा अध्यक्ष उमेश यादवको अगुवाइमा उनीहरूले प्लेकार्ड बोकेर नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार राति भएको वर्षाका कारण हिलाम्य सडकमा उनीहरूले प्रदर्शन गर्दै कोशी सम्झौता खारेजको माग गरेका छन् ।

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने
अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरूले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्डमोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउन लागेको हो । यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरू आगामी आइतबारसम्म नेपालमा रहने जनाइएको छ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको छ ।

तीन महिनामा पर्यटन क्षेत्रबाट साढे १४ अर्बको आम्दानी
कोरोना भाइरस (कोभिड–१९) को महामारी कम हुँदै जाँदा पर्यटक आगमनमा केही सुधार देखिएको छ । यसबाट पर्यटनका माध्यमबाट मुलुकले गर्ने आयमा समेत सुधार हुँदै गएको तथ्यांकले देखिएको छ । अर्थ मन्त्रालयका अनुसार सन् २०२२ को पहिलो तीन महिना (जनवरी–मार्च) सम्म पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो । सन् २०२१ को पहिलो तीन महिनामा ७ अर्ब २६ करोड रुपैयाँ मात्र पर्यटन क्षेत्रका माध्यमबाट आय भएको थियो । तथ्यांक अनुसार सन् २०२२ को पहिलो तीन महिनामा पर्यटक आगमन ७८ हजार ७ सय ४७ पुगेको छ ।

सेयर बजार ३६ अंकले घट्यो
नेप्से परिसूचक आज एकैदिन ३६ दशमलव ७३ अंकले ओरालो लागेको छ । एकैदिन १.५३ प्रतिशतले घटेको नेप्से २३ सय २० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६९ अंकले घटेर चार सय ८१ दशमलव ८ अंकमा पुगेको छ ।  मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज भने ओरालो लागेको हो । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार र सोमबार पनि ओरालो लागेको थियो ।  मंगलबार नेप्से १३ दशमलब ६७  अंकले बढेर २३ सय ५७ दशमलव २५ अंकमा पुगेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ३७ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति