काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेका छन् ।
चीनको हाइनान टापुस्थित बोआओ शहरमा आयोजित बोआओ एसिया मञ्चमा बोल्दै राष्ट्रपति सीले नयाँ ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
यद्यपि प्रस्तावित सुरक्षा पहलको विशेषता तथा यसबारे विस्तृत विवरण भने सीले उपलब्ध नगराएको जनाइएको छ ।
उनले हरेक मुलुकको ‘जायज’ सुरक्षा चासोलाई ख्याल गर्दै विश्वले सबै मुलुकको सार्वभौमिकता एवम् भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने बताए ।
‘हामीले सुरक्षा अखण्डताको सिद्धान्तको पालना; सन्तुलित, प्रभावकारी एवम् दिगो सुरक्षा पूर्वाधारको निर्माण र अरु असुरक्षित हुनेगरि राष्ट्रिय सुरक्षा निर्माण गर्ने नीतिको विरोध गर्नुपर्दछ ।’ सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसविरुद्ध प्रतिबन्धको घोषणा गरेको सन्दर्भमा कुनै मुलुकको नाम नलिई टिप्पणी गर्दै उनले एकपक्षीय प्रतिबन्धको पनि आलोचना गरे ।
चीनले लामो समयदेखि पश्चिमा मुलुकहरूले घोषणा गर्ने यस्ता प्रतिबन्धको विरोध गर्दै आएको छ ।
प्रतिक्रिया