ट्र्याक खुलेको २५ वर्षमा सडक कालोपत्र « Khabarhub

ट्र्याक खुलेको २५ वर्षमा सडक कालोपत्र


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका-५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो ।

दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन वर्षदेखि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । कोभिड-१९ का बेला भएको बन्दाबन्दीका बीचमा मानुङकोट ‘भाइरल’ नै भएको थियो । त्यतिबेला एकैदिनमा १० हजारभन्दा बढी पर्यटक मानुङकोट पुगेको तथ्यांक छ । 

विसं २०७५ साउन १७ गते सम्झौता भएर कालोपत्र थालिएकामा गत असार १५ गते कालोपत्र सम्पन्न भएको सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । सात करोड तीन लाखको लागतमा ४.६ किलोमिटर सडक कालोपत्र भएको हो । उक्त सडक खण्डमा ४.९ किलोमिटर नालीसमेत निर्माण गरिएको छ । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ । अझै दुई किलोमिटर सडकखण्ड कालोपत्र गर्न बाँकी छ ।

मानुङ पर्यटकीय मोटरमार्गका अध्यक्ष वीरबहादुर थापाले विसं २०५४ सालमा खनिएको सडक अहिले बल्ल कालोपत्र भएको बताए । ‘अझै पनि बाटो कालोपत्र पुरा भइसकेको छैन, ठाउँ ठाउँमा अझै कालोपत्र बाँकी छ,’ थापाले भने। बाटो कालोपत्र हुँदा मानुङ पुग्ने सर्वसाधारणलाई समस्या हुँदै आएकामा अब कालोपत्र सडकमा सजिलैसँग यात्रा गर्न पाइने थापाले बताए । 

सडक कालोपत्र भएपछि मानुङकोट पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । यसअघि कच्ची सडक हुँदा मानुङकोट जान पर्यटकलाई सास्ती हुँदै आएको थियो । कोभिड-१९बन्दाबन्दीपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ । ‘कालोपत्र सडकले मानुङकोटमा पर्यटक बढायो, पर्यटकको चहलपहल बढेपछि मानुङकोटमा होटल खुल्नेक्रम बढ्यो’, श्रेष्ठले भने । 

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छिन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनःमानुङकोट उक्लिएको उनले बताइन् । ‘अहिले त बाटो कालोपत्र भइसक्यो, जे चाहिए पनि दमौलीबाटै लैजान सकिन्छ’, उनले भने, ‘गाउँमै सम्भावना देखेपछि फर्किएर होटल चलाइरहेको छु ।’

मानुङकोटको विकास अभियानमा व्यास नगरपालिकाको मुख्य चासो रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘मानुङकोटमा लगानी गर्न निजी क्षेत्र आकर्षित भइरहेका छन्’, उनले भने, ‘सरकारी र निजी क्षेत्रको साझेदारीमा मानुङकोटको विकास गर्छौं ।’ यसअघि बतास समूहले मानुङकोटमा चार अर्ब योजनाको प्रस्ताव गरे पनि त्यसमा मुद्दा परेपछि रोकिएको बताउँदै अहिले मुद्दाको फैसला आइसकेकाले अब त्यो प्रक्रिया अगाडि बढ्ने न्यौपानेले बताए । 

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा पर्यटकको सङ्ख्या झनै बढ्छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाकाे दृश्य हेर्न लालयित आन्तरिक पर्यटक मानुङकोट पुग्छन् । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला र तनहुँ जलविद्युतको ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ५० बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा