सरकारी जागिर छाडेर बाख्रापालनमा लागेका रविन्द्रविक्रम | Khabarhub Khabarhub

सरकारी जागिर छाडेर बाख्रापालनमा लागेका रविन्द्रविक्रम


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

मेलम्ची–  ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुन् रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन् । 

इन्द्रावती-४ का रविन्द्रविक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गरेका छन् । व्यावसायिकरुपमा सञ्चालित फाममा उनले केही सहयोगीहरू राखेका छन् । तर पनि उनलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उनलाई फार्ममै भेट्न सकिन्छ । 

सशस्त्र प्रहरीमा कार्यरत उहाँले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोडे । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरे । उनलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाएनन् । ‘म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन’, उनले भने ।

वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उनले नेपालमै केही गर्ने सोच बनाए । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरे । सामाजिक सञ्जालमा बढी चाख राख्ने उनले त्यहीँबाट बाख्रापालनका बारेमा सिके । 

गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए । त्यसले पनि उनलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित गर्‍यो । सुरुमा एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गरे । उनको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा भैँसी र एउटा गाई पनि पालेका छन् । व्यावसायिक पशुपालनबाट अहिले मासिक ६०/७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । 

करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उनले २४ लाख लगानी गरिसकेका छन् । ‘आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने ४० लाख लगानी भएको छ’, उनले भने । कतिपय आफैँले गर्नसक्ने कामहरू उनी आफैँ पनि गर्छन् । 

जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गरेका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उनी प्रेरणाको स्रोत बनेका छन् । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् ।

उनले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिएका छन्  । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उनलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउँछन् । ‘उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु’, उनले भने । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उनको भनाइ छ ।

स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उनी बताउँछन् । बाख्रा सँगसँगै कुखुराबाट पनि उनले राम्रो आम्दानी गरेका छन्  । दश पटक ब्रोइलर कुखुरा बेच्दा छ लाख फाइदा भएको उनको भनाइ छ । उनले १८ महिनाको अवधिमा १३ लाख आम्दानी गरिसकेका छन् । उनले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरू पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् । 

बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उनी बताउँछन् । उनको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उनी बताउँछन् । ‘दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ’, उनले भने । 

कम्पोष्ट  मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उनले लगाएका छन्  । आफूलाई खान पुग्ने तरकारी आफैँ लगाएका छन् । उनको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उन च्याउखेतीसमेत गरेका थिए । च्याउबाटसमेत ८० हजार आम्दानी भएको उनी बताउँछन् । ‘भेन्टा पनि हुक्रँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो’, उनले भने । 

मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उनले बताए । व्यवसायमा उनलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । ‘हामी श्रीमान् श्रीमती मिलेर काम गर्छौं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ’, उनले भने, ‘म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।’ उनीहरूले कुटानीपिसानी मिलसमेत सञ्चालन गरेका छन् । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गरेका छन् । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ ।

सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उनले बताए । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उनले जोड दिए । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउन सके कृषकहरूमा थप ऊर्जा थपिने थापाले बताए । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उनको भनाइ छ । 

“कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उनको तर्क छ । 

–किरण थापा रासस

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ४४ बजे

देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार