काठमाडौँ– नेपालमा हाल प्रचलित विकास मोडल बिस्तारै ‘सामाजिक आतंक’ मै परिणत हुने हो कि भन्ने खतरा उत्पन्न हुँदैछ । अहिले राजधानीलगायत देशका विभिन्न भागमा जग्गा प्लटिङका नाममा पहाड खोस्रने क्रमले तीव्रता लिएको छ भने क्रसर उद्योगमार्फत नदी र पहाड दोहनसँगै बस्तीहरुमा टिपर आतंक मौलाएको छ ।
प्रकृति दोहन, जग्गा प्लटिङ र टिपर आतंकको त्रिपक्षीय ‘कनेक्सन’मा स्थानीय नेता, जनप्रतिनिधि, गुण्डा नाइके र प्रशासनको समेत मिलेमतो देखिन्छ । भ्यू टावर निर्माण यसको एउटा पाटो मात्र हो ।
बितेका तीन दशकमा रातारात उदाएको नव धनाढ्य वर्गले शहरमा कम्तीमा तीन–चार तल्ले घर निर्माण गरिरहेकै छ । तिनले ‘रेसीडेन्सीएल’ क्षेत्रमा गाडी जाने बाटो निर्माण या जग्गा प्लटिङका नाममा वन, बारीका पाटा र डाँडा फाँड्न थालेका छन् ।
परिवर्तनको दुहाइ दिएर एकाएक माथि उठेको वर्गको ध्याउन्न पनि जग्गा प्लटिङ र आलिसान भवन निर्माणमै केन्द्रित छ । अनि उनीहरु नै निर्माण ठेक्का, डोजर, टिपरदेखि जग्गा दलालीसम्ममा संलग्न छन् । केही नेताका सन्तान अचेल नदी दोहन गरेर बालुवा ठेक्कामा भिडेका छन् ।
जनताका मुख्य प्राथमिकताका विषय शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र पर्यटन प्रवर्धन रहेको भए पनि सरकारको विकास मोडलमा भ्यू टावर, फास्ट ट्रयाक, व्यापारिक प्रयोजनका भवन निर्माण, अनावश्यक ठाउँमा आकाशे पुल निर्माणमा बजेट खन्याइँदैछ ।
विकास भइरहेको देखिने, तर जनताको जिवनस्तर उकास्न त्यसले खासै योगदान नदिने मोडलको विकासको होडमा दिनहुँ टिपरहरु गिटी, बालुवा र ढुँगा बोकेर मानव वस्तीहरुमा आतंक मच्चाउँदै, धूलो उडाउँदै र मान्छे मार्दै कुदिरहेको दृश्यले हरेक नेपालीको मन पिरोलिइरहेको छ ।
टिपर आतंकको अन्तरवस्तु
‘विचौलिया विकासे मोडल’को विभत्स सिलसिला टिपर आतंकसम्म जोडिन्छ । एउटा विद्यार्थी सुन्दर भविष्यको आशमा स्कूल गइरहेको हुन्छ। विचौलिया दलालको कुनै टिपरले आएर उसलाई किचेर मार्छ र गुण्डा र पहुँचका भरमा क्षतिपूर्तिको बहानामा मुद्दा सामसुम पारिन्छ ।
टिपरले दिनहुँ मान्छे मार्न थालेपछि वि.सं. २०७५ असार २७ मा सरकारले काठमाडौँ उपत्यकाका तीन सहरमा दिउँसो टिपर चलाउन नपाउने नियम लागू गरेको थियो । राति ८ बजेपछि मात्र टिपर कुदाउन पाउने नियम भए पनि राजनीतिक नेता र गुण्डाका टिपर दिउँसै कुदिरहेको देखिन्छ ।
स्कूल र कार्यालय समयमै टिपर कुदीरहेका छन् भन्ने त गोकर्णमा विद्यालय गइरहेका दुइ बालिका मारेको घटनाबाटै स्पष्ट हुन्छ । केही दिनअघि गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय गइरहेका दुई कलिला बालबालिकालाई टिपरले किचिक्कै पार्यो ।
बुबा रोहन तामाङसँग विद्यालय गइरहेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङ टिपरको ठक्करबाट मारिए । बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको यो घटना सेलाउन नपाउँदै सप्तरीमा टिपरले अर्का मान्छे मारिहाल्यो ।
सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुर सडकखण्डमा टिपरको ठक्करबाटै एक बोलेरो चालकको मृत्यु भयो । बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवले चलाइरहेको विद्युत कार्यालयको बोलेरोलाई बिहीबार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
गत फागुनमा दाङमा त टिपरले साइकल यात्रीलाई नै पेल्यो । पाखापानीकी डिला पौडेल साइकल चलाउँदै थिइन् । पछाडिबाट आएको रा १ ख १२८६ नम्बरको टिपरले डयाम्मै ठक्कर दिँदा उनको मृत्यु भयो । त्यसको एक महिनापछि नेपालगञ्जमा भे १ क ६५७ नम्बरको टिपरको ठक्करबाट हुम्लाका ६५ वर्षीय वीरवल भण्डारीको मृत्यु भयो ।
इतिहास खोतल्दै जाने हो भने बितेका केही वर्षमै टिपरको ठक्करबाट मारिएकाहरुको संख्या सयबाट हजार नाघ्छ ।
टिपर आतंकका कहालीलाग्दा देशव्यापी भइरहेकै छन् । २०७८ माघ २१ मा मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यानलाई विपरीत दिशाबाट आइरहेको लु २ ख १७०१ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको थियो ।
२०७८ पुस २ मा सिराहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भयो । सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादवको मृत्यु भएको थियो ।
यस्तै २०७८ असार ३ मा पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुपमा सडक खण्डमा टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४० वर्षीया साइकल यात्री कौसिला चौधरी मारिइन् । २०७८ वैशाख २७ मा भक्तपुर, सूर्य बिनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवाल ठहरै भए ।
२०७७ माघ ३० मा संखुवासभा, मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालक मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई मारिए । २०७७ मंसिर ७ मा पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गयो।
२०७७ मंसिर १४ मा महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा टिपरले ठक्कर दिँदा एक बालिका ठहरै भइन् । औरही–८ निवासी नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनीलाई टिपरले किचिमिची पारेको थियो ।
२०७६ जेठ ९ मा मोरङको खोर्साने केराबारी सडक खण्डमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक केराबारी ९ कै ४८ वर्षिय बम बहादुर बस्नेतको निधन भयो । टिपरको ठक्करले उछिटिएका बस्नेतलाई चालकले टिपर ब्याक सारेर मारेको मृतकका परिवारको आरोप थियो । २०७६ चैत्र ४ मा मिनी टिपरले ठक्कर दिँदा भक्तपुर, चाँगुनारायण, जय ब्रम्हायणी इँटाभट्टामा कार्यरत सर्लाही–जिरायलका ईश्वर मोक्तानका १८ महिने छोरा शिशिर मोक्तान मारिए ।
इतिहास खोतल्दै जाने हो भने बितेका केही वर्षमै टिपरको ठक्करबाट मारिएकाहरुको संख्या सयबाट हजार नाघ्छ । यस्ता घटनामा कति त आपसी सहमतिमा क्षतिपूर्तिपछि सामसुम गराइन्छ भने कति त्यसै गुपचुप राख्ने गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७७-२०७८ मा देशभर ५ सयभन्दा बढी टिपर दुर्घटना भइसकेका छन् । यसैगरी आर्थिक वर्ष २०७६-०७७ मा देशभर ७ सय ८० र आर्थिक वर्ष २०७५-०७६ मा देशभर ७ सय १९ र टिपर दुर्घटना भएको तथ्यांक छ। आर्थिक वर्ष २०७४-७५ मा देशभर ४ सय बढी टिपर दुर्घटना भएका थिए ।
नेता, गुण्डा र प्रकृति दोहन
देशभर प्रकृति दोहन, नदी नाला दोहन र निर्माण कार्य बढिरहँदा सडकमा टिपरको जगजगी पनि बढिरहेको हो । अहिले देशका पहाडदेखि तराईसम्म प्रकृति दोहन तीव्र छ । नदीहरूमा जथाभाबी क्रसर उद्योग सञ्चालन भइरहेका छन् ।
देशभर ७ हजारभन्दा बढी क्रसर उद्योग सञ्चालन भइरहेका छन् । तीमध्ये कमै मात्र दर्ता भएको पाइन्छ । पहाड खोस्रेर, नदी नालाको प्राकृतिक बहाव नै रोकेर दोहनको क्रम बढिरहेको छ । यसरी रोडा, ढुंगा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र गुण्डाहरु संलग्न देखिन्छन् ।
ठेकेदार, जनप्रतिनिधि र गुन्डाहरूको कनेक्सनमा अवैधानिक ढंगले सञ्चालन हुने क्रसर उद्योग र बालुवा ठेक्काले प्रकृति दोहन त गरिरहेकै छ । त्यहाँबाट रोडा, डुङ्गा गिट्टी, बालुवा बोकेर आउने टिपरले मानव बस्तीमै आतंक मच्चाइरहेका छन् ।
प्रकृति दोहन र टिपर आतंकमा दलका नेता र गुण्डाहरुको कनेक्सन भएकाले टिपरले मान्छे मारे पनि उम्काउने प्रयास हुँदै आएको छ । अझ टिपर व्यवसायमा गुण्डाहरुकै लगानी बढी देखिन्छ । नदीमा बालुवा ठेक्कादेखि टिपरसम्मको धन्दामा फ्याउरे गुण्डाहरुबीच झै–झगडा पनि हुँदै आएको छ ।
तथ्यांक अनुसार नेपालका प्रमुख शहरहरुमा अहिले पनि दिनहुँ १० हजार बढी टिपर कुदिरहेका हुन्छन् ।
धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायतका नदीहरूमा गुण्डाहरुले एक साथ तिन काम गर्छन् । क्रसर उद्योग संचालन, त्यसबाट उत्पादित निर्माण सामग्रीको विक्री र टिपर ढुवानीको समेत कारोबारमा उनीहरुकै बोलबाला ।
खेपमाथि खेप माल ढुवानीको हानाथापका कारण टिपर चालकहरुले घना वस्तीमा पनि बेगका साथ टिपर कुदाउँछन् । टिपरको बनावट नै यस्तो छ कि त्यसमा चालकले छेउमै आएको सवारी साधन देख्दैनन् । देखिसकेपछि पनि तीव्र बेगको टिपरले ठक्कर दिइहाल्छ ।
तीव्र गतिमा टिपर चलाउने, ट्राफिक नियम नमान्ने, अन्य सवारी तथा यात्रुलाई ओभरटेक गर्न खोज्ने मात्र हैन, ओभरलोड बोकेर सडक नै बिगार्ने काममा बदनाम छन् । जतिबेला सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख थिए, त्यतिबेला उनले सडकमा आतंक मच्चाउने टिपरमाथि कारबाहीको जमर्को गरेका थिए । उनले त्यसबेला टिपर व्यवसायमा गुण्डाको लगानी बढ्दै गएकोसमेत जानकारी दिएका थिए ।
काठमाडौँको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको छलफलमा खनालले टिपर व्यवसायी संघका प्रतिनिधि सामु भनेका थिए, ‘प्लटिङका नाममा डाँडा पाखामा खोस्रने, क्रसर चलाउने र सडकमा टिपर आतंक फैलाउने प्रवृत्ति बढिरहेको छ । टिपरले सडकमा मललाग्दी गर्नुको एक कारण यसमा गुण्डाको लगानी पनि हो ।’
हुन पनि एक तथ्यांक अनुसार नेपालका प्रमुख शहरहरुमा अहिले पनि दिनहुँ १० हजार बढी टिपर कुदिरहेका हुन्छन् । अधिकांश टिपरमा गुण्डा, नेता र स्थानीय जनप्रतिनिधिको लगानी भएको पाइन्छ । पछिल्लो कालखण्डमा डोजरमै लगानी गर्न थालेका स्थानीय जनप्रतिनिधिसँग चार–पाँच वटा टिपर हुनु सामान्य मानिन्छ ।
हरिया डाँडामा भू–माफिया
डोजर र टिपर आतंकका पछाडि त्यही वर्ग छ, जो जग्गा दलाली र भू–माफियाको सञ्जाल फैलाइरहेका छन् । अहिले काठमाडौँ उपत्यकाका वरिपरिका हरिया डाँडामा बिस्तारै पहेँला टाटेपाटे क्षेत्र देखिन थालेका छन् । भू–माफियाले जग्गा प्लटिङका नाममा डोजर लगेर डाँडापाखा खोस्रिन थालेपछि ती मरुभूमिजस्ता देखिन थालेका हुन् ।
केही वर्षअघिसम्म घना हरित डाँडो चन्द्रागिरीमा केबलकारले त पहाड खोस्रियो नै, अचेल त्यहाँ रिसोर्टहरुले खोस्रन थालेका छन् । काठमाडौँ बूढानीलकण्ठ–११ कपनको भिरालो जग्गामा डोजर आतंक छ । भिरालो जमिन नै भासिने खतरा छ ।
ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौर, चापागाउँ, ठेचो र विशंखुनारायण क्षेत्रमा सार्वजनिक बाटो, वन, राजकुलो मिचेर भू–माफियाले डाँडा पाखा सबै मासिरहेका छन् । काठमाडौँको बूढानीलकण्ठ, टोखा, नागार्जुन, तारकेश्वर, चन्द्रागिरि, गोकर्णेश्वर, शंखरापुर आदिमा स्थानीय जनप्रतिनिधि, गुण्डा समूह र भू–माफियाको मिलेमतोमा प्रकृति दोहन तीव्र छ ।
सरकारले २०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा विक्रीवितरण गर्न-गराउन नपाउने निर्णय गरेको थियो । तर, जग्गा खण्डीकरण रोक्दा सर्वसाधारणलाई समस्या भएको भन्दै २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुञ्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरियो ।
सरकारको कित्ताकाट खुलाउने निर्णयलाई सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासले बदर गरिदिएको थियो । सर्वोच्चको आदेश त भयो, तर प्लटिङसँगै प्रकृति विनास चलिरहेकै छ ।
भक्तपुरको साँगा होस् या ललितपुरको गोदावरी । चारैतिर जग्गा प्लटिङका नाममा सामुदायिक वनदेखि सार्वजनिक जग्गासमेत मिचिन थालेका छन् । अहिले सबैभन्दा बढी गोदावरी नगरपालिकामा डाँडा मासेर प्लटिङ भइरहेको छ र यसमा स्थानीय जनप्रतिनिधि, भू–माफिया र गुण्डाहरुको मिलेमतो देखिन्छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले महालक्ष्मी, ललितपुर र गोदावरी नगरपालिकामा स्वीकृतिविना ७३ स्थानमा प्लटिङ भइरहेको भन्दै प्लटिङ गर्ने समूहलाई सम्पर्कमा आउन २०७८ मघ २८ मा सूचना जारी गरेको थियो । यसमा गोदावरी नगरपालिकामा मात्र ३१ ठाउँमा प्लटिङ भइरहेको उल्लेख थियो । मापदण्ड विपरीत प्लटिङ गर्नेहरुले सार्वजनिक सम्पत्ति र ऐलानी जग्गाहरुसमेत मिचेको कार्यालयले जनाएको थियो । तर, गुण्डा, नेता र शक्तिको आडमा प्रकृति विनाश जारी छ ।
काउली बारीमा डोजर
भक्तपुरमा कुनै बेला मुला, काउली, चुकन्दर, चम्सुर र रायोको साग फल्ने मलिला जग्गा त करिब–करिब मासिइनै सकेको छ । अब भिराला जमिनमा पनि भू–माफियाका डोजर कुद्न थालेका छन् ।
भक्तपुरको सूर्य विनायक नगरपालिका–८, ९ र १० का विभिन्न स्थानमा जग्गा व्यवसायीले जग्गा सम्म्याउने भन्दै जग्गा कटान गरिरहेका छन् । डोलेश्वर ठूलोगाउँ, दोर्लाङ, नंखेल, चित्तपोललगायतका ठाउँमा डाँडा नै भत्किने गरी प्लटिङ भइरहेको छ । स्थानीय बासिन्दाका अनुसार सिपाडोल र नलिञ्चोकमा भू–माफियाले राजनीतिक शक्तिको आडमा खोलासमेत मिचेर जग्गा प्लटिङ गरिरहेका छन् ।
यसरी डाँडा भत्काउने क्रममा केही दिनअघि भक्तपुरको ताथलीमा जग्गा प्लटिङको ढिस्को खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको नालाछापमा गरिएको सो प्लटिङको ढिस्को खस्दा काभ्रेका दुई जनाको ज्यान गएको थियो । साँझ करिब ५ बजे काम गरिरहेको ढिस्को खस्दा काभ्रेको रोसी गाउँपालिका ५ का चतुरसिङ लामा र चौरी देउराली गाउँपालिकाका वसमान तामाङ मारिए ।
भक्तपुर जिल्लामा अहिले अनुमति नै नलिई प्लटिङ गर्ने होड नै छ । चाँगुनारायण–८ सुडाल पात्लेवनको स्विटी खोला अतिक्रमण गरेर पर्खाल गरिएको छ । भक्तपुर सूर्य विनायक–९ नंखेलस्थित अरनिको राजमार्ग आसपास धमाधम डोजरले जमिन खोस्रिरहेका छन् ।
यसरी जथाभावी प्लटिङ भइरहेका भक्तपुरका सूर्य विनायक, मध्यपुर थिमि र चाँगुनारायण नगर क्षेत्रभित्र ९२ ठाउँमा जग्गा नकिन्न सरकारले नै आम जनतालाई आग्रह गरिरहेको छ । उपत्यका विकास प्राधिकरणले स्वीकृति नलिई भक्तपुरका चार नगरपालिकामा मापदण्ड विपरीत डाँडा, पाखा, सार्वजनिक सम्पत्ति र ऐलानी पर्ती जग्गासमेत मिचेर अवैध प्लटिङ भइरहेको सूचनामा उल्लेख गरेको थियो ।
सार तत्व
पँक्तिकारले माथि उल्लेख गरेका दृष्टान्तको सार वस्तु के हो भने स्थानीय निर्वाचनमा गठबन्धन, दल बदल र अनेक माध्यमबाट पुनः डोजर सञ्चालन, ठेक्कापट्टा, प्रकृति दोहन गर्नेहरु नै चुनिने सम्भावना बढेको छ । गठबन्धन संस्कृतिका कारण स्थानीय तहमा गलत प्रवृत्तिको विरोध गर्नुपर्ने विपक्षी शक्ति पनि भागबण्डामा सामेल भएको छ ।
अर्थात् नेपाली कांग्रेसले जितेका निकायमा उसले गलत गरेमा विरोध गर्नुपर्ने अन्य दल पनि भागबण्डामा समाहित भएपछि यो एक हिसाबको मिलिभगतको सिण्डीकेट हुनेछ । कतै कांग्रेस र माओवादीको सिण्डीकेट, कतै एमाले र अन्य दलको सिण्डीकेट । अनि कतै सबै दलको छ्यासमिस संरचना ।
यस्तो सिण्डीकेटले अन्ततः ठेक्कापट्टा, प्रकृति दोहन, टिपर आतंक र जग्गा प्लटिङलाई झन् बढवा दिनेछ, जसबाट रातारात धनी हुने माफिया वर्गको निर्माण हुनेछ । अनि यही वर्ग पुनः राजनीतिमा हाबी हुनेछ, जसले समाजवादको त कुरै छाडौँ, लोक कल्याणकारी र सामाजिक न्यायमूलक राज्यको निर्माणमा समेत अवरोध सिर्जना गर्नेछ ।
अतः जनताले यसपाली कुनै अमुक दलको उम्मेदवारको साटो सच्चा र इमानदार स्वतन्त्र उम्मेदवारतर्फ पनि दृष्टि लगाउनुपर्ने देखिन्छ । दलको हैन, दरिलो उम्मेदवार । गठबन्धनका नाममा केन्द्रबाट थोपरिएको आदेशलाई उपेक्षा गर्दै आफ्नै क्षेत्रको आवश्यकता हेरेर योग्य उम्मेदवारलाई जिताउने दायित्व जनताको काँधमा आएको छ ।
यस्तो उम्मेदवारले जितोस्, जसको कुनै डोजर नहोस्, जसले ठेक्का पट्टा नगरोस् र जसले चुनाव जित्न साम, दाम, दण्ड, भेदका उपयोग नगरेको होस् । दलबाट त्यस्ता उम्मेदवार उठेका छैनन् भने जनता आफैले सल्लाह गरेर योग्य उम्मेदवार खोज्न पनि त सक्छन् । सधैँ दल र नेतालाई गाली गर्नुको साटो यसपटक जनता आफै सजग भएर स्वच्छ छविका र भरपर्दा उम्मेदवारलाई जिताउने हो कि ?
प्रतिक्रिया