राष्ट्र बैङ्कमा तिलक रावलको पुनर्बहाली हुँदा महेश आचार्य अर्थमन्त्री थिएनन्, रक्षा मन्त्री थिए « Khabarhub

राष्ट्र बैङ्कमा तिलक रावलको पुनर्बहाली हुँदा महेश आचार्य अर्थमन्त्री थिएनन्, रक्षा मन्त्री थिए



काठमाडौँ- नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गत चैत २४ गते निलम्बन गर्यो। समाचारहरुमा जनाइएअनुसार अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी बीच मतभेद भएपछि मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गरेको थियो । निलम्बन सँगै राष्ट्र बैङ्क स्वतन्त्र निकाय भएकोले यसमा हस्तक्षेप गर्ने अर्थमन्त्रीले राजिनामा गर्नुपर्ने चर्चा चल्यो।

सर्वोच्च अदालतले वैशाख ६ गते अधिकारीलाई सोही पदमा पुनर्बहाली गरेपछि अर्थमन्त्री शर्मामाथि राजीनामा दिनुपर्ने नैतिक दबाब परेको भनिएको छ। गभर्नर अधिकारीको पक्षमा अदालतको आदेश आएपछि करिब २० वर्षअघि पनि यस्तै घटनामा तत्कालीन अर्थमन्त्रीले राजीनामा दिएको भन्दै समाचार प्रकाशित भएका छन् ।

तत्कालीन अर्थमन्त्री महेश आचार्यको विरोधका बावजुद २०५६ साल माघ १७ गते नेपाली का‌ङ्ग्रेसको सरकारले डा. तिलक रावललाई राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेको थियो । २०५७ साल भाद्र १२ गतेको मन्त्रिपरिषद बैठकले रावललाई पदमुक्त गर्यो । सरकारको उक्त निर्णय विरुद्ध उनी सर्वोच्च अदालत गएका थिए।

सर्वोच्च अदालतले २०५७ चैत्र १५ गते डा. रावललाई पूर्ण कार्यकालका लागि पुनर्बहाली गर्ने आदेश दियो। सर्वोच्चको यो आदेशपछि तत्कालीन रक्षामन्त्री आचार्यले प्रधानमन्त्री समक्ष २०५७ चैत्र १६ गते राजीनामा पेश गरेका थिए।

यही घटनालाई आधार बनाउँदै कान्तिपुर, द काठमाण्डौं पोष्ट, र सेतोपाटीमा त्यतिबेला गभर्नर डा. तिलक रावललाई अदालतले पुनर्बहाली गरिदिएपछि नैतिकताको आधारमा अर्थमन्त्रीबाट आचार्यले राजीनामा दिएको दाबी सहितको समाचार हालै प्रकाशित भएको छ।

हामीले यस दाबीको तथ्य जाँच गरेका छौँ । यसका लागि हामीले नेपालका पत्रपत्रिका र विदेशी सञ्चारमाध्यमका अभिलेख उद्धृत गरेका छौँ ।महेश आचार्यले २०५७ चैत्र १६ गते रक्षामन्त्रीबाट राजीनामा दिएका थिए। त्यतिबेला आचार्य अर्थमन्त्री नभई रक्षामन्त्री थिए। २०५७ माघ २५ गते मन्त्रिमण्डल हेरफेर हुँदा त्यसबेलासम्म अर्थ र रक्षा दुवै मन्त्रालय सम्हालिरहेका आचार्यलाई रक्षा मन्त्रालयमा सीमित गरिएको थियो।

२०५७ साल माघ २६ को कान्तिपुरमा प्रकाशित समाचारमा भनिएको छ, “प्रधानमन्त्रीको अति निकट मानिएका महेश आचार्य दातृ संस्थाहरुको राम्रो सद्भाव हुँदाहुँदै अर्थ मन्त्रालयको गहन जिम्मेवारीबाट पन्छी रक्षामा सीमित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।” कान्तिपुर दैनिकमा २०५७ साल फागुन २ गते प्रकाशित समाचार अनुसार सोही साल फागुन १ गतेदेखि रामशरण महत अर्थमन्त्री नियुक्त भएका थिए।

महेश आचार्य रक्षा मन्त्रालयमा सीमित भएको बारे माघ २६, २०५७ मा कान्तिपुरमा प्रकाशित समाचार

तत्कालीन रक्षामन्त्री महेश आचार्यले राजीनामा गरेको समाचार कान्तिपुरको पहिलो पृष्ठमा २०५७ साल चैत १७ गतेप्रकाशित भएको थियो। कान्तिपुरको समाचारमा भनिएको छ, “राजीनामापत्रमा आचार्यले विभागीय मन्त्रीका रुपमा आफैंले निर्णय गरी हटाएको व्यक्तिलाई सर्वोच्च अदालतले गैरकानुनी र नियमविपरीत भन्दै पुनर्बहाली गरेकाले पदमा बस्नु नैतिकताले नमिल्ने उल्लेख गर्नुभएको छ। आफुले हटाएको व्यक्तिलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्ने फैसला गरेको हुँदा निर्णयको उच्च सम्मान गर्दै राजीनामा दिएको रक्षामन्त्री आचार्यले कान्तिपुरलाई बताउनुभयो।”

तत्कालीन गभर्नर रावल पुनर्बहाली भएपछि आचार्यको राजीनामा बारे चैत्र १७, २०५७ मा कान्तिपुरमा प्रकाशित समाचार

भारतको जी न्युजले २०५७ चैत १६ गते ‘नेपाल्स डिफेन्स मिनिस्टर रिजाइन्स‘ शीर्षकमा रक्षामन्त्री महेश आचार्यले गभर्नरको पुनर्बहाली सँगै राजीनामा गरेको समाचार प्रकाशित गरेको थियो।

यसर्थ नेपाली का‌ङ्ग्रेसका नेता महेश आचार्यले २०५७ साल चैत १६ गते अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् भन्ने दाबी गलत हो । त्यसबेला उनी रक्षामन्त्री थिए।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ५४ बजे

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा