अडियो सुन्नुहोस्ः
एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा आज ललितपुरमा एमालेले आयोजना गरेको नयाँ पार्टी कार्यालयको उद्घाटन, घोषणा पत्र सार्वजनिक तथा कम्युनिष्ट योद्धा सम्मान कार्यक्रममा ओलीले आफूले गरेका भ्रष्टाचार, अनियमितता लगायतका कामहरूको दोष लगाएर एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धन भ्रम छरिरहेको बताए । उनले जति नै भ्रम फैलाएपनि अव तीन तहको सरकारमा एमाले आउने दावी गरे । एमालेले आफ्नो घोषणापत्रमा शिक्षा सुधारको विषयलाई प्राथमिकता दिएको छ । त्यस्तै स्वास्थ्य, खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले घोषणापत्रमा समेटेको छ ।
प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. गेब्रेयससबीच भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जानकारी गराएका थिए । साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गरे । प्रधानमन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरूको क्षमता अभिबृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षिय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा भेटमा राखेका थिए ।
पुराना कानुन खारेज नभएको भन्दै दायर गरिएको रिटमाथि कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले संविधानसँग बाझिएका कानुनको खारेजी माग गर्दै दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको संवैधानिक इजलासले नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्यञ्जुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिइएको छ । गत फागुन ३० गते संविधान जारी भएको साढे ६ वर्षसम्म पनि पुराना कानुन खारेज नभएको भन्दै नगरपालिकाको छाता संगठन नगरपालिका संघले अदालतमा रिट दर्ता गराएको थियो ।
अमेरिकी संसदीय टोली काठमाडौँमा
अमेरिकी ५ सदस्यीय सांसदको टोली आज काठमाडौँ आइपुगेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष गाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा टोली तीन दिने नेपाल भ्रमणमा आएको हो । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सिनेटरहरूको आज नेपाल आइपुगेको हो । टोलीका अन्य सदस्यमाडेमोक्र्याटिक पार्टीका सेनेटरहरू (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली रहेका छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि रहेका छन् । अमेरिका–नेपाल बीचको जारी दौत्य साझेदारीको एक हिस्साका रूपमा अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भनिएकोमा विशेष कारणवश भोलि दिउँसो ११ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका बारेमा छलफल हुने बताइएको छ । बैठकमा उपस्थिती हुन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।
फेरि वामपन्थी एकता हुनुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औँ लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइरहेको भन्दै माओवादी आन्दोलनका घटकहरू एक हुनुपर्ने बताए । माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई विभाजन गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुर्नप्राप्ति हुन सक्छ भन्नेहरू र फेरि निरंकुश लाद्न खोज्नेहरू अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उनको भनाइ छ ।
अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भयो : मोहन बैद्य
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले आज काठमाडौंमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताए । उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । जनयुद्धका बेला प्रतिक्रियावादीको रक्षा कबज भन्दै एमाले प्रवृत्तिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसरका खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरको उनले बताए ।
मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोडमा संलग्नलाई कारबाही गर्न माग
मदन भण्डारी फाउन्डेसनले हेटौंडामा भएको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै फाउण्डेसनले तोडफोडमा संलग्नलाई कारबाही गर्न आज विज्ञप्ति जारी गर्दै माग गरेको हो। फाउन्डेसकी सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गर्दै शालिक तोडफोडको छानबिन गर्दै दोषी मात्र कारबाही गर्न माग गर्नु माग गरिन् । लोकतन्त्रको उच्चतम् अभ्यासको रुपमा रहेको स्थानीय निर्वाचनको प्रकृया सुरु भएसँगै घटेको यो घटनाले लोकतान्त्रिक शक्तिहरूलाई चुनौति दिएको अनुभूति भएको विज्ञप्तिमा उल्लेख छ ।
आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने निर्माण व्यवसायी महासङ्घको घोषणा
नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले वैशाख ११ गते आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो । ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान राख्दै पार्टी कार्यालयमा तालाबन्दी
नेताहरूले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आज पार्टी कार्यालय कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान सार्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । सत्तारुढ गठबन्धनमा भएको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेसले उपप्रमुख लिएको छ ।भरतपुरको मेयर कांग्रेसकै हुनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरूले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।
कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले छाडे पार्टी
सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशकोे जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी परित्याग गरेका छन् । आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले कांग्रेस परित्याग गरेको जानकारी दिए । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाए ।
नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ३३ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ५ सय १८ एन्टीजेन परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ८१ संक्रमित निको भएका छन् । हाल नेपालमा २ सय ८२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
दुई पक्षबीच झडप हुदाँ दाङमा ८ जना घाइते
दाङको एक मस्जिदमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झडप भएको हो । नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो । तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।घाइतेहरू मध्ये चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज मनाइएको छ । दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ ।बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।
बाग्लुङमा जिप पल्टिँदा चार जना घाइते
बाग्लुङमा यात्रुवाहक जिप पल्टिँदा चार जना घाइते भएका छन् ।दुर्घटनामा घाइते हुनेमा ढोरपाटन नगरपालिका वडा नं. ९ की ६० वर्षीया जैकला बिक, ४० वर्षीया लक्ष्मी बिक, ५० वर्षीया नरमता बिक र ३ वर्षीया बालिका यविक बिक रहेका छन् । सेरावाङदेखि ढोरपाटन जाँदै गरेको ग ३ च ९७८९ नम्बरको जिप सडकमा चिप्लएर दुर्घटना भएको प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेशकुमार शर्माले जानकारी दिए । घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भैरहेको छ । प्रहरीले जिप चालक २३ वर्षीय रेशम सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया