मलावी प्रहरीको पहलमा एक चिनियाँ फिल्म निर्माता गिरफ्तार भएका छन्। रङ्गभेद पूर्ण व्यवहार गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो।
मलावीमा बस्दै आएका लुकेले रङ्गभेद पूर्ण व्यवहार झल्कने खालको भिडियो निर्माण गर्ने क्रममा बाल बच्चालाई प्रयोग गर्ने गरेका थिए। त्यसरी बनाइएका भिडियो चिनियाँ सामाजिक सञ्जालमार्फत ७० अमेरिकी डलरमा खरिदसमेत गर्न सकिन्छ।
लुकेले भने अपमानजनक भिडियो नबनाएको दाबी गरेका छन्। उनले चिनियाँ संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गराउनका लागि यी भिडियो बनाएको दाबी गरेका छन्।
एउटा भिडियो त झनै आपत्तिजनक थियो। साना बच्चा चिनियाँ भाषामा ‘म कालो राक्षस हुँ। मेरो आइक्वी कमजोर छ’, भनेर कराइरहेको दृश्य देखाइएको छ।
यसरी गोप्य रूपमा भिडियो बनाइरहेको अवस्थामा फेला पारेपछि ती चिनियाँले भिडियो बनाएको कुरालाई अस्वीकार गरेका थिए।
गत साता नै मलावीको प्रहरीले छानबिनको सुरुवात गरे पनि ती चिनियाँ फिल्म निर्मातालाई पक्राउ गर्न असफल भएका थिए।
त्यहाँको अध्यागमन विभागका प्रवक्ता पास्क्वीली जसुलले छिमेकी देश जाम्बीयाको पूर्वीसहर चिपाटाबाट उनलाई गिरफ्तार गरिएको बताएका छन्। मलावी प्रहरीले थप अनुसन्धानको काम अघि बढेको जनाएको छ।
जाम्बीयामा समाइएका उनलाई दुई देशको सहमतिमा मलावीतर्फ पठाइएको हो। गत साता चीनका वरिष्ठ कूटनीतिज्ञ उ पेङले यस विषयमा त्यहाँको विदेश मन्त्रीसँग कुरा भइरहेका जानकारी दिएका थिए। यस घटनाका बाबजुद उनले आफ्नो देश रङ्गभेदविरुद्धमा रहेको दाबी गर्न भने छाडेनन्।
‘गएका वर्षमा चीन यस्ता रङ्गभेद विरोधी सवालमा प्रस्ट थियो,’ उले ट्वीट गरेका छन्, ‘हामी भविष्यमा पनि यस्ता रङ्गभेद विरोधी भिडियो हटाउने प्रयास गर्नेछौं।’
चीनको यो दाबीका बाबजुद अन्तर्राष्ट्रिय समुदाय यसमा विश्वास गर्न सकिरहेको छैन। यो भिडियोका बारे प्रतिक्रिया दिँदै मलावीका विदेश मन्त्री नान्सी टेम्बोले यसले आफूहरूको अपमान गरेको प्रतिक्रिया दिएकी थिइन्। उनले आफूहरूलाई यस भिडियाले पीडा दिएको बताएकी छिन्।
यस भन्दा अगाडि नै सन् २०२० मा नै यस्ता भिडियो बनाइएको खुलासा भएका छन्। यसबाट चिनियाँ सरकारको नियतमाथि नै धेरैको प्रश्न चिह्न खडा भएको छ। चिनियाँ अधिकारी उ भने मलावीको रिस थाम्ने उद्देश्यले मलावी सुन्दर भएको बताउँदै सुन्दर भविष्यको आशा कायम रहेको भन्दै ट्विट गरेका छन्।
यो घटनापछि मलावीमा चिनियाँ सत्ता र त्यहाँको नागरिक माथिको आक्रोश बढ्दो छ। मलावीमा रहेको ‘सेन्टर फर डेमोक्रेसी एन्ड इकोनोमीक डेभलम्पेन्ट इनिसेटीभ’ त चिनियाँविरुद्ध झनै आक्रोशित देखिएको छ। यसै संस्थाले सरकारले सम्पूर्ण देशभर खोजेर त्यहाँ बसेका चिनियाँको गतिविधि निगरानी गर्नुपर्ने माग गरेका छन्। त्यसै संस्थाले चिनियाँको बसाइ कानुनी या गैर कानुनी भनेर छानबिन गर्न पनि जरुरी रहेको माग गरेका छन्। उनीहरूले गरेको सबै कामको कानुनी आधार खोज्न पनि माग गरिएको छ।
दक्षिण अफ्रिकाका राजनीतिक विश्लेषक राल्फा माथेंगाकै अनुसार विगतदेखि नै चिनियाँले अफ्रिकाका मानिसमाथि जातीय र रङ्गभेद देखिने खालकै व्यवहार गर्ने गरेका थिए।
‘मलाई यो भिडियोले केही आश्चर्यमा पारेको छैन। विगतदेखि नै मैले चिनियाँले अफ्रिकालाई गर्ने व्यवहार राम्रो पाएको छैन। उनीहरूले सधैँ यसै किसिमको विभेद मात्र गरेको पाएको छु’, उनले भने।
अन्तर्राष्ट्रिय मामलाको दक्षिण अफ्रिकी विश्वविद्यालयका कोबस भान स्टाडनले यो भिडियाले आफूलाई अझै धेरै आश्चर्य लागेको तथा अफ्रिकाका बासिन्दा माथिको भेदभाव अझ बढ्दो भएको प्रस्ट पारेको प्रतिक्रिया दिए।
उनले विगतदेखि नै अफ्रिकाप्रति यसै खाले व्यवहार भएको तथा यसले महादेशमा नै अफ्रिकाको प्रभाव अझ नकारात्मक बनेको प्रतिक्रिया दिएका छन्।
यसको चर्चा अमेरिकामा पनि भएको छ। फ्लोरिडाका रिपब्लिक पार्टीका सिनेटर मार्को रुबीयोले बीबीसीको त्यो भिडियोले चिनियाँ कम्युनिस्ट पार्टीको विभेदकारी तथा अमानवीय व्यवहारलाई प्रस्ट पारेको छ।
पछिल्लो समय बेइजिङको रङ्गभेद नीतिका बारे अमेरिकामा छलफल बढ्दो छ। सायद यो भिडियोले अमेरिकामै यो मुद्दालाई अझ बढी पेचिलो बनाउने छ।
योभन्दा अगाडि नै कोभिड महामारीको समयमा महामारी नियन्त्रणको क्रममा गरेको दुर्व्यवहार चर्चामा रहेको थियो। समे समयमा अफ्रिकाका व्यक्तिमाथि होटेल, रेस्टुरेन्ट र पसलमासमेत दुर्व्यवहारको महसुस गरेका थिए। यस्तो व्यवहार सबैभन्दा धेरै ग्वान्झाउमा भएको थियो।
अफ्रिकाका व्यक्तिमाथि सो व्यवहारको विरुद्धमा संसारका थोरै देशमा व्यक्तिले मात्र आवाज उठाएका थिए। चिनियाँ सहरमा अफ्रिकाका बासिन्दाबाट धेरै कोभिड सर्न सक्ने भन्दै उनीहरूलाई सर्वत्र त्यस खालको व्यवहार भएको थियो।
एक वर्ष अगाडिदेखि ग्वान्झाउमा बसोबास गरीरहेकी फ्रान्क एनबाउले त्यसै किसिमको व्यवहार आफूमाथि गरिएको भन्दै गुनासो गरेकी थिइन्। ‘सुरक्षाकर्मीले कुनै विदेशी नागरिकलाई भित्र छिर्न मनाही गरिएको छ भनेर रोकेपछि म रातभर सडकमै सुतेको थिएँ’, उनले भनेकी छन्। कस्तो विकराल अवस्था आएको थियो भने सो समयमा धेरै चिनियाँ पसलमा अफ्रिकालीलाई सामान किन्न पनि दिइएको थिएन। पसलमा केही समान किन्न जाँदा अनुहार ढाकेर समेत उनीहरू जाने गरेका थिए।
चार वर्ष अगाडि नै इन्जिनियरिङ पढ्न ग्वान्झाउ पुगेका इथोपीयाका किडुस मुलागेटले त्यहाँको वातावरण एकाएक फेरिएको प्रतिक्रिया दिएका थिए। ‘म क्वारेनटाइनमा बसेँ। राम्रोसँग उपचार गरेँ। त्यसपछि बाहिर निस्कँदा चिनियाँले मलाई गर्ने व्यवहार नै फरक थियो’, उनले भने।
मुलगेट त्यहाँ एउटा कम्पनीमा काम गर्थे। त्यस समयमा उनलाई पसलमा र डिपार्टमेन्ट स्टोरमासमेत भेदभावपूर्ण व्यवहार भएको थियो। ‘उनीहरू विदेशीलाई प्रवेश नदिने भन्थे। तर, रुसी या युरोपेली भएमा यो प्रावधानले रोकिँदैन थियो। अफ्रिकाली मात्र रोकिन्थे’, त्यसै समयमा उनले भनेका थिए।
घानाका कम्प्युटर साइन्सका एक विद्यार्थी होटेलमा बसेका थिए। विदेशी भएकै कारण उनलाई अर्को होटेलमा लगिएको थियो। एक पटक होइन पाँच पटक परीक्षण गरिएको थियो। लगातार पाँच पटकको परीक्षणले उनलाई आश्चर्य लागेको थियो।
१५ वटा भन्दा बढी होटेलमा प्रवेश नपाएपछि सडकमै सुतेको अनुभव पनि उनको छ। ‘उनीहरूले गरेको हरेक परीक्षणमा मेरो रिपोर्ट नेगेटिभ आएको थियो। यसका बाबजुद सार्वजनिक स्थान, होटेल र रेस्टुरेन्टमा प्रवेश गर्न मलाई रोक लगाइएको थियो।
अफ्रिकालीहरू सडकमा सुतेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि यसे अफ्रिकामा आक्रोश बढाएको थियो।
कोरोना महामारीलाई नियन्त्रण गर्नेक्रममा चीनले सुरुवातदेखि नै कठोर प्रावधान अपनाएको थियो। निश्चित हवाई यात्रा खुला गरिएका थिए। धेरैजसो विदेशीलाई चीनमा प्रवेश दिइएको थिएन। क्वारेनटाइन नियम पनि कडा थियो। यी सबै नियमलाई मानेपछि अफ्रिकाका व्यक्तिहरूलाई भने थप कडाइ अपनाइएको थियो।
चीनको यो गतिविधिबारे त्यसै समयमा धेरै अफ्रिकाका नेताले आक्रोश व्यक्त गरेका थिए। धेरै राजदूतले चिनियाँ व्यवहारले सिङ्गो अफ्रिकालाई पीडा दिएको गुनासो गरेका थिए। धेरै देशका विदेश मन्त्रीले चिनियाँ अधिकारीको ध्यानाकर्षण गराएका थिए। त्यस ध्यानाकर्षणले उनीहरूलाई केही प्रभाव पारेको थिएन।
त्यसो त चिनियाँले अन्य विदेशीलाई भेदभाव नगर्ने होइन। तथापि अफ्रिकाका बासिन्दा माथिको यो रङ्गभेद र अमानवीय व्यवहारको लामो शृङ्खला नै छ। यसै शृङ्खलामा अहिलेको यो भिडियो प्रकरण पनि हो। स्रोतः बीबीसी, भ्वाइस अफ अमेरिका र द गार्जीयन













प्रतिक्रिया