दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, आगामी निर्वाचनमा माओवादी बलियो पार्टी बन्ने प्रचण्डको दाबी, विदेशमा अलपत्र नेपालीको शव नेपाल ल्याउन पहल भइरहेको श्रममन्त्रीको भनाइ लगायतका समाचारले मुख्य स्थान पाए ।

यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आर्थिक बर्ष २०७९/८० मा निजी क्षेत्रतर्फको कर्जा विस्तार १२ दशमलव ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जनाएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना कालमा दिइएको पुनर्कर्जाको सुविधालाई हटाइएको र पुनरकर्जाको सुविधामा आवश्यक प्रबन्धमा केही संशोधन गरिएको जानकारी दिए । रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति लिएको उनले बताए ।

त्यस्तै बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको अधिकारीको भनाइ छ ।

उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एक व्यक्तिले एउटा बैंकबाट ४ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा उपभोग गर्न पाउने व्यवस्था हटाएको छ । तर बैंकहरुबाट लिएको समग्र कर्जा भने कुल १२ करोडभन्दा बढी हुन नहुने व्यवस्था यथावत रहेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको जनाएको छ । मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था गरिएको गभर्नर अधिकारीले बताए ।

त्यस्तै राष्ट्र बैंकले ५ करोड रुपैंयासम्मको ऋण लिएका उद्यमीहरुलाई २०७९ असार मसान्तसम्ममा तिर्नुपर्ने साँवा तथा व्याज आगामी असोज मसान्तसम्ममा तिर्दा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरेको छ ।

पूर्ण डिजिटल बैंकको स्थापना गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को संशोधन तथा आवश्यक अन्य विशेष ऐन एवम् संस्थागत संरचना तयार गर्ने सम्बन्धमा आवश्यक कार्य गरिने गभर्नर अधिकारीले बताए ।

आगामी निर्वाचनमा माओवादी बलियो पार्टी बन्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुने दाबी गरेका छन् ।

आज पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रुपमा स्थापित हुने दाबी गरेका हुन ।

उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने समेत बताए । प्रचण्डले माओवादी क्रान्ति मधेशबाटै सुरु भएको र अहिले मधेशमा माओवादीप्रतिको उत्साह पनि बढ्दै गएको तर्क गरे ।

उनले माओवादीका प्रवेश गर्नेलाई आवश्यक जिम्मेवारी दिने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु टेकबहादुर शाक्य र वीरेन्द्र प्रसाद यादव लगायत विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।

चुनाव आउँदैछ भनेर सरकारले वृदभत्ता दिइने उमेर घटायोः केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्षको उमेर हद बनाएको आरोप लगाएका छन् ।

आज पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए ।

उनले यस सम्बन्धमा त्यसबाहेक अन्य कुनै ‘लजिक’ छ भनी सरकारलाई प्रश्नसमेत गरे । अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति सङ्केत गर्दै देशको उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर देशलाई कङ्गाल बनाएको पनि आरोप लगाए ।

उनले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको दाबी गरे ।

विदेशमा अलपत्र नेपालीहरुको शव नेपाल ल्याउन पहल भइरहेको छः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन् ।

आज चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको बैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरुको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भए पनि नेपाल ल्याउने पहल भइरहेको बताएका हुन् ।

ऐन कानून नभए पनि मानव संवेदनशीलताका हिसाबले राज्यले शव ल्याउने उनको भनाइ छ । त्यस्तै उनले विदेश जाने श्रमिकहरुलाई ठगी हुनबाट रोकिने पनि बताए ।

सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदै वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए ।

उनले विदेशबाट श्रम र सीप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरुको पुँजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए ।

जनतालाई स्वास्थ्य बीमा भुक्तानी गर्न स्वास्थ्य समितिको सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले स्वास्थ्य बीमाका बिषयमा धेरै समस्या देखिएमा भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरु पनि दीर्घकालीन रुपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिए ।

बैठकले सरकारी भन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐन कानूनको व्यवस्था अनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ । त्यस्तै बैठकले शहीद गङ्गालाल हृदय रोग केन्द्रमा अक्सिजिनेरेटरको अभाव भएका कारण शल्यक्रिया गर्न नै कठिन भएको गुनासो आएको भन्दै छिटो भन्दा छिटो आवश्यक मेसिनको व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति घर्तीले जानकारी दिए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले चालू बजेटमा सरकारी र सामूदायिक स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्यबीमा लागू हुने उल्लेख भएकाले केही समस्या देखिएको बताए ।

बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको उनले बताए । त्यस्तै उनले अहिले मुलुकका कोरोना खोप अभाव नभएको भन्दै स्थानीय तहले पनि खोप अभियान सञ्चालन गर्न सक्रियता देखाउनुपर्ने बताए ।

बैठकमा समिति सदस्यहरुले स्वास्थ्य बीमालाई थप प्रभावकारी र सहज बनाउन राज्य गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।

अनधिकृत व्यक्तिलाई प्रवेश गरेकोबारे छानविन समितिले समयसीमाभित्रै काम सक्ने

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयभित्रै काम सक्ने तयारी गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकमा थप गरिएको समयभित्रै छानबिनका बाँकी काम सक्ने गरी तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मा र समाचार लेख्ने पत्रकारहरुको भनाइका बारेमा पनि बैठकमा छलफल भएको थियो । समितिको अर्को बैठक आइतबार बस्ने र थप प्रक्रिया सुरु गरिने सचिव अर्यालले बताए ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो भने समितिको म्याद सात दिन थप गरिएको थियो ।

प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपा नेपालको प्रदर्शन

प्रदेश संरचना खारेज हुनुपर्ने लगायतका माग राख्दै राप्रपा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा आज प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दूराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेका हुन् ।

उनीहरुले महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दल भन्नेहरुले मुलुकमा ब्रह्मलुट मच्चाईराखेको र ठूला–ठूला भ्रष्टाचार लुकाइएको आरोप लगाए । मुलुक अस्तव्यस्त हुँदा पनि दलका नेताहरु चिर निन्द्रामा रहेको उनको भनाइ छ ।

त्यस्तै उनले चार बर्षसम्म सदनमा छलफल भएको नागरिकता बिधेयक फिर्ता लिएर नागरिकको हित बिपरितको विधेयक ल्याउने षडयन्त्र भइरहेको आरोप लगाए । उनले जनताको जनजिविकाका विषयमा सरकार गम्भीर नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने स्पष्ट पारे ।

नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार १ सय ६८ पीसीआर परीक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टिजेन परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप ८० संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ८ सय ४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

व्यवसायी इच्छाराज तामाङकी श्रीमती जेल चलान

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् ।

गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् ।

उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ । सो सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो ।

बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रुपैयाँ रकम लुकाउन श्रीमती शाक्यको पनि संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका थिए ।

तामाङले सिभिल सहकारीबाट बिनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेकोसमेत खुलेको छ । १५ सय बचतकर्ताको करीब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा श्रीमान् तामाङ पक्राउ परेका थिए भने त्यसको करीब १ वर्षपछि श्रीमती शाक्य पक्राउ परेकी हुन् ।

लहानका उपमेयर विरुद्ध जबरजस्ती करणीको मुद्दा

सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर परेको छ ।

उपमेयर महतोले जागिर लगाइदिने भन्दै एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी बताए ।
प्रहरीका अनुसार घटना गत जेठ महिनाको हो भने उजुरी भने बुधबार परेको हो ।

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार बेरुजु घटेको छ । अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको बेरुजु ४५ करोड ५० लाख बेरुजु रहेको थियो । अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा बेरुजु घटेको छ भने केही स्थानीय तहको बेरुजु बढेको छ ।

जिल्लाका १० पालिकामध्येमा सबैभन्दा बढी बेरुजु रामारोशन गाउँपालिका र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिका रहको छ ।

बागमती प्रदेशमा भाडा वृद्धि

वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो ।

मन्त्रालयका अनुसार यात्रुवाहक सवारीमा ८.३९ प्रतिशत र मालवाहक सवारी साधनमा ११.९१ प्रतिशतले भाडादर समायोजन भएको छ ।

उपत्यका तथा वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २०, ५–१० किलोमिटरको दूरीमा २७, १०–१५ किलोमिटरमा ३२ रुपैयाँ तिर्नुपर्नेछ ।

नेप्से परिसूचक आज पनि घट्यो

शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ ।

नेप्से आज २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा पुगेको हो । आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दुई सय १२ वटा कम्पनीको ३३ लाख २० हजार ५ सय १२ कित्ता शेयर कुल एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको छ । । समग्रमा बजार ओरालो लागेपनि आज किसान लघुवित्तको शेयर भने आठ प्रतिशतभन्दा धेरैले र लघुवित्तका ६ प्रतिशत बढेको छ ।

लघुवित्तका ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, गोर्खा फाइनान्स, पुनर्बीमा कम्पनी, अरुणकाबेली पावर क्रमशः अगाडि रहे ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, गोर्खा फाइनान्स, पुनर्बीमा कम्पनी, अरुण काबेली पावर अगाडि रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ०४ बजे

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न आयोग गठन हुँदैछ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला

फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

एजेन्सी– फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको

अग्रजहरूको अनुभव नयाँ पिँढीलाई आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ

राजनीतिक दलबीच भएको छलफललाई सत्तासँगमात्रै जोडेर नहेरौँ : सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट

काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा