बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. प्रतिनिधिसभाको बैठक आज बस्दै 
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। गिरिको अन्त्येष्टिमा सांसदहरू व्यस्त हुन पर्ने भएपछि सत्तारुढ नेपाली कांग्रेसको आग्रहमा हिजोको बैठक स्थगित गरिएको थियो ।

२. निर्वाचन आयोगले १२ दलसँग छलफल गर्ने
निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्ने भएको छ । निर्वाचन आचारसंहिताको परिवर्तनको तयारी गरिरहेको आयोगले १२ दललाई बिहान साढे ११ बजे छलफलमा बोलाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल हुने बताए ।

३. १ लाख बढी कर्मचारी आन्दोलनमा  
देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी आज देखि एकै पटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाइ संकुचन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यसविरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन्  ।  उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुने गरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्नेलगायतका १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने भएका छन्  ।

४. काठमाडौँ महानगरले फोहर उठाउँदै
महानगरपालिकाले काठमाडौँ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन सुरु गरेको  छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फोहर धमाधम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी  दिए । उनकाअनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सहकार्य गरेको छ । अहिले काठमाडौँको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ । आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उनले बताए ।

५. पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध 
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिए । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ ।  सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् ।

६. सीईओका लागि आवेदन खुल्ला 
वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पूर्तिका लागि आवेदन खुलेको छ । पदपूर्ति समितिले आज सूचना प्रकाशित गरी इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन भनेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । उम्मेदवार ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले आवेदन दिँदा आफ्नो व्यावसायिक कार्ययोजना बढीमा १५ पेजमा हार्ड कपि र सफ्ट कपि छुट्टाछुट्टै पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

७. चीनको छिङहाइमा पहिरो
ठूलो वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको ज्यान गएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका  छन् ।  बाढीमा परेका २३ जनाको उद्धार गरिएको छ । गएको बुधवार रातिदेखिको वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छ वटा गाउँका ६ हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका छन् । मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भइ बाढी गाउँ पसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

८. रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु 
रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । रुसको उल्यानोभस्क क्षेत्रमा ट्रकले रोकिराखेको मिनीबसलाई ठक्कर दिँदा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् । सोही दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालकसहित अन्य मिनीबसमा सवार यात्रुहरू भएको जनाइएको छ  । रुसमा चालकहरूको लापरबाहीका कारण बर्सेनि सडक दुर्घटना हुने गरेका छन् । गत जनावरीमा रुसको रियाजान क्षेत्रमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

९.  नेपाली राष्ट्रिय टोली आज केन्या जाँदै
नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्ने भएका छन्  । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज दिउँसो केन्या प्रस्थान गर्ने जनाएको छ । नेपाली टोली अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने छन् । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाइको कार्यक्रम राखेको छ । नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

१०. पीएसजीको फराकिलो जित 
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ७–१ गोल अन्तरले हराएको हो। पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे । नेयमारले दुई गोल गर्दा लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गरे ।लिलका जोनाथन बाम्बाले एक गोल फर्काए । पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : ४५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले