डेंगु संक्रमणका कारण लुम्बिनीमा ३ जनाको मृत्यु « Khabarhub

डेंगु संक्रमणका कारण लुम्बिनीमा ३ जनाको मृत्यु


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बुटवल- डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीन जनाले ज्यान गुमाइसकेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक/एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।

प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरूमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालयले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।

तर, लुम्बिनी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट विनियोजन गरेको छैन । निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ट बजेट छुट्टाएकोमा अहिलेसम्म सोही बजेटबाट काम चलाइरहेको बताए । रुपन्देहीमा पहिलो पटक २०६७/६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो । तर, यस वर्ष भने डेंगु रोकथाम अभियान शून्य भएपछि डेंगु संक्रमण महामारीको रूपमा फैलिरहेको छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ४ : ४६ बजे

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको