बाँदर नियन्त्रण गर्नेलाई भोट दिने योजनामा बागलुङका मतदाता | Khabarhub Khabarhub

बाँदर नियन्त्रण गर्नेलाई भोट दिने योजनामा बागलुङका मतदाता


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन् । तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारलाई एकै स्वरमा भनेका छन्, “यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई ।”

बागलुङको दक्षिण भेगमा पर्ने नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतङ्कबाट किसानले हैरानी खेपेका छन् । उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएकोे बताउँदै यसपटक उम्मेदवारसँग बाँदर नियन्त्रण गर्न माग गरेका छन् । बलेवा, कुस्मिशेरा, जैदी, छिस्ती, राङ्खानीलगायत क्षेत्रमा बाँदरका कारण यहाँका किसानले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन् ।

चुनावी अभियानअन्तर्गत बागलुङ नगरपालिका–१४ गार्लुङका स्थानीयलाई भोट माग्न कोदो बारीमै पुगेका नेकपा (एमाले) बाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा सूर्य पाठकलाई किसानले बाँदर नियन्त्रणको वाचा गर्नेलाई भोट दिने बताएका छन् । गार्लुङकी स्थानीय सीता पौडेलले गलुवाको पहिरो र बाँदरबाट जनताले सास्ती खेपेको बताउँदै बाँदर नियन्त्रणको योजनालाई समेटेर आउने उम्मेदवारलाई भोट दिने बताइन् ।

“जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यस पटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो”, पौडेलले भनिन्, “सडक, शिक्षालगायत पूर्वाधार बन्दै गएका छन् तर यहाँका जनताले बाँदरकै कारण उठिबास लाग्ने बनाएको छ, उर्वर भूमि रहेको बलेवामा बाँदरका कारण भिर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाइँसराइ गरेर गए ।”

सीता मात्रै हैन गार्लुङकै अनिता पौडेलले समेत बाँदर नियन्त्रण गर्न सके मात्रै पनि अब निर्वाचित हुने जनप्रतिनिधिले अन्य काम नगरे पनि हुने बताइन् । उनले बागलुङ नगरपालिका–१० स्थित गलुवाको पहिरोले समेत बलेवासहित दक्षिण भेगका जनताले दुःख पाएको बताइन् । “गलुवाको पहिरोका कारण हामीले भारी बोकेर करिडोर र कुस्मा पुगेर खाद्यन्न ल्याउन परेको छ”, अनिता पौडेलले भनिन्, “अहिलेको भोट गलुवाको पहिरो नियन्त्रणका लागि पहल गर्ने र बाँदर नियन्त्रणको योजना ल्याउनेलाई दिने योजना यहाँका जनताको छ ।” गलुवामा पहाडै बगाउँदा असारयता मात्रै तीन महिना सडक बन्द भएको थियो । पहिरो नियन्त्रणका लागि मात्रै रु चार करोड खर्च लाग्ने भएपछि गलुवाको पहिरो चुनावी मुद्दा बनेको छ ।

बागलुङको राजनीतिमा आफ्नो पकड जमाउँदै आएको बलेवा क्षेत्रबाट नेकपा (एमाले) र गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवार उठाएको छ । निर्वतमान सांसदसमेत रहेका एमालेका उम्मेदवार डा सूर्य पाठक प्रतिनिधिसभा र गठबन्धबाट कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट चुनावी मैदानमा आएका छन् ।

कांग्रेसका युवा नेता तथा प्रदेशसभा सदस्यका उम्मेदवार सुवेदीले यहाँका जनताको माग अन्य क्षेत्रको भन्दा फरक भएको बताए । उनले बसाइँसराइ र बाँदरका कारण बागलुङको उर्वरभूमि दक्षिण भेग समस्यामा परेको बताए ।

“म बागलुङको दक्षिण भेगको जनाताको घरदैलोमा पुग्दै गर्दा बाँदर नियन्त्रणका लागि जनताले धेरै आग्रह गर्नुभएको छ, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीको माग त पुरानै हो, बाँदर नियन्त्रणका लागि कानुनी विषयमा समेत छलफल गर्नुपर्ने अवस्था आएको छ, म निरन्तर बाँदर नियन्त्रणका लागि आवश्यक उपायको खोजीका लागि आविस्कार केन्द्रको समेत सम्पर्कमा छु”, उम्मेदवार सुवेदीले भने, “अत्यधिक बाँदर लाग्ने स्थानमा अदुवा, बेसार, कागतीलगायत नगदेबाली लगाउने र बाँदर नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्ने योजनामा छु ।”

बाँदरको हत्या गर्न नपाइने भएकाले नियन्त्रण गर्न समस्या भएकाले कानून निर्माण गर्न आवश्यक रहेको एमाले उम्मेदवार डा पाठकले बताए । बागलुङको दक्षिण भेगकै प्रतिनिधत्व गर्ने उम्मेदवार भएको हैसियतले जनतालाई आफ्नो पहिलो सुझाव बाँदर नियन्त्रणका लागि अब कानूनी सहयोग आवश्यक रहेको उनको भनाइ छ । “कानूनअनुसार बाँदरको हत्या गर्न पाइँदैन, धपाएका बाँदर पुनः फर्केर आउने समस्या पुरानै हो”, डा पाठकले भने, “बाँदरको उपयोगिताका विषयमा पुनर्विचार गर्ने समय आएको छ, मानिसको जीवनभन्दा ठूलो बाँदर हैन ।’’ बाँदरका कारण बस्तीनै रित्तिने अवस्थाको अन्त्य गर्न आफू लाग्ने उनले बताए ।

बागलुङको नारायणस्थान, पैयुपाँटा, अमलाचौर, कुश्मिसेरा, जैदि, छिस्ती, राङ्खानी, दमेक र बरेङ गाउँपालिकाको केही भेगमा बाँदरको समस्या बढी रहेको छ । तीन वर्षअघि बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाएको भए पनि त्यो प्रभावकारी हुन सकेको थिएन । बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेर धपाउने यन्त्र वितरण गरे पनि सुरुमा प्रभावकारी बनेको उपकरण पछिल्लो समय अप्रभावकारी बनेको जैमिनी नगरपालिकाका किसानको गुनासो छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : २९ बजे

पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं– भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

महोत्तरी– राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकअनुसार मधेसमा २० वर्ष नपुगी विवाह

कृषि पेसाप्रति युवापुस्ताको आकर्षण बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको

बाइडेनलाई राष्ट्रपति उम्मेदवारबाटै हटाइँदैछ ?

एजेन्सी– अमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो प्रेसिडेन्सीयल बहस सकिएको छ

लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु

काठमाडौं– भारतको लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच भारतीय