घण्टी बजाउँदै रवि लामिछानेको उदय | Khabarhub Khabarhub

घण्टी बजाउँदै रवि लामिछानेको उदय

ठूला पार्टीलाई धक्का, युवाको बढोत्तरी पक्का !


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली राजनीतिमा नयाँ कोर्सका रुपमा रवि लामिछानेको उदय हुने पक्का देखिएको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट चर्चित हुँदै राजनीतिका चर्का कुरा गर्ने लामिछानेले टेलिभिजन सेट छाडेर यसैपटक राजनीतिक मैदानमा आएका हुन् ।

एउटा कार्यक्रमबाट ग्यालेक्सी टेलिभिजनकै जिम्मेवारी सम्हाल्न पुगेका रवि लामिछाने स्थानीय तहको चुनावबाट हौसिएर चुनावमा होमिने निर्णय गरेका थिए । टेलिभिजन कार्यक्रम चलाउँदा भएको टिम नै बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका रविले आफ्नो पाइला राजनीतिमा राख्न चाहेका थिए ।

तर टेलिभिजन कार्यक्रममा ठूला पार्टीका ठूला नेतालाई गाली गरेर सर्वसाधारण नागरिकको मन जितेका रविले पार्टी खोलेपछि धेरैको साथ र सहयोग पाए । स्वतन्त्र उठेपछि चुनाव जितिन्छ भन्ने लहर चलेका बेला रविकै स्वतन्त्र पार्टीमा गएपछि झन् सजिलो हुने ठानेर धेरै जना उनको अभियानमा लामबद्ध भएका थिए ।

सोहीअनुसार काठमाडौँ उपत्यकामा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका धेरै सक्षम युवा पनि रविको पार्टीको चुनाव चिन्हबाट मैदानमा उत्रिएका थिए । स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकामध्ये पुकार बम, शिशिर खनाल, विराजभक्त श्रेष्ठले रविकै पार्टीको चुनाव चिन्ह लिएका थिए ।

अहिले रविकै प्रभावमा काठमाडौँका खास क्षेत्रमा शिशिर, विराजभक्तले अग्रता लिएका छन् । यस्तै ललितपुरबाट तोसिमा कार्कीले अग्रता लिएकी छन् । ललितपुर ३ मा तोसिमाको अग्रताले मन्त्रीसमेत रहेकी पम्फा भुसालले हार बेहोर्नुपर्ने अवस्था आउन सक्ने आँकलन गरिएको छ ।

रविको पार्टीले काठमाडौँ, चितवन मात्रै होइन, झापा, मोरङ, कास्कीसम्ममा राम्रै मत ल्याएको छ । केही ठाउँमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा दर्जन बढी क्षेत्रमा जित हात पार्ने सम्भावना बढेको छ । यस्तै समानुपातिकतर्फ पनि स्वतन्त्र पार्टीले राम्रो प्रभाव ल्याउने सम्भावना देखिएको छ ।

टेलिभिजन कार्यक्रमबाट सुरु भएको रवि लामिछानेको चर्चा र लोकप्रियता राजनीतिमा पुग्दा उत्कर्षमा पुगेको छ ।

 दक्षिण एसियामा नयाँ उभार

यो चुनावबाट यदि रवि लामिछानेको पार्टीले दर्जन बढी प्रत्यक्ष सिट जितेको खण्डमा दक्षिण एसियामै यो नयाँ उभार हुनेछ । भारतमा आम आदमी पार्टी र पाकिस्तानमा इमरान खानको पार्टीले वैकल्पिक शक्तिको सम्भावना पुष्टि गरेपनि नेपालमा भने निरन्तर असफल भइरहेको थियो ।

शुरुमा नेपालका नयाँ तथा वैकल्पिक शक्तिका बारेमा डा. बाबुराम भट्टराईले चिन्तन गरेका थिए । उनले माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी गठन पनि गरे । तर लामो समय उनी आन्तरिक झमेलामै फसे ।

पार्टीभित्रैका स-साना समस्या सुल्झाउन नसक्दा उनी नयाँ शक्तिबाट पुरानै शक्तिमा सीमित रहे । नयाँ शक्ति तत्कालीन संघीय समाजवादी फोरम हुँदै जसपामा पुग्यो । अहिले बाबुराम जससा र नेपाल समाजवादी पार्टी हुँदै माओवादीमा पुगिसकेका छन् ।

नेपालमा वैकल्पिक पार्टी बनाउन रविन्द्र मिश्रले अर्को प्रयास गरेका थिए । उनले बीबीसीको जागिर छाडेर वैकल्पिक शक्तिका रुपमा साझा पार्टी गठन गरे । तर एउटै एउटै धाराका साझा र विवेकशील नेपाली पार्टी भएपछि रवीन्द्रकै प्रस्तावमा दुई पार्टीबीच एकता भयो ।

विवेकशील नेपाली पार्टी उज्ज्वल थापाले गठन गरेका थिए । उनको गएको वर्ष कोरोना महामारीमा मृत्यु भएको थियो । विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बन्यो । जुन पार्टी एकपटक फुट्यो । फेरि मिल्यो ।

तर रवीन्द्र मिश्रको राईदाईका कारण यो पार्टी छिन्नभिन्न भयो । अन्ततः रवीन्द्र आफैँले विवेकशील साझा पार्टीबाट राजीनामा दिए । उनी राप्रपा प्रवेश गरेका थिए । राप्रपाबाट काठमाडौँ १ मा फेरि उम्मेद्वार बनेका उनी प्रकाशमानसित थोरै मतान्तरले पराजित बने ।

यसअघि पनि उनले प्रकाशमानसँगै पराजित हुनु परेको थियो । यसपटक पनि पराजित भए । उनले नेपालमा वैकल्पिक शक्तिलाई धुँजाधुँजा पार्न ‘भिलेन’ को भूमिका खेलेको उनकै छुटेका सहकर्मीको टिप्पणी छ ।

रवीन्द्र मिश्र, उज्ज्वल थापा, मिलन पाण्डे वैकल्पिक शक्ति बनाउँदा विरक्तिएका बेला एकाएक काठमाडौँमा बालेनको जितले हौसिएका रवि लामिछोनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । उनले पार्टी गठन गर्दा धेरैले विरोध गरेका थिए ।

स्वतन्त्र पनि पार्टी हुन्छ ? भन्दै प्रश्न गरेका थिए । तर त्यही पार्टीले ठूला पार्टीलाई ठूलो धक्का दिएको छ । वैकल्पिक रुपमा ठूलो शक्ति बन्दै उदाएको छ । यो शक्तिले नेपालमा अब पुराना पार्टी, ठूला पार्टीलाई चुनौति मात्रै दिने छैन, कम्तीमा नेपालमा नयाँ र सुधार भएको युवाको नेतृत्वमा शक्तिशाली पार्टी बन्ने अनुमान छ । यसले ठुलो पार्टीलाई धक्का दिएर युवालाई बढोत्तरी दिने र बुढा नेताहरुलाई जबर्जस्त बिदाई गर्ने पनि अपेक्षा गरिएको छ ।

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण एसियामै छोटो समयमा शक्तिशाली भएर उदाएको पार्टीका रुपमा दरिएको छ । यसले भविष्यमा नेपालको राजनीतिक कोर्स परिवर्तन गर्न ठूलो भूमिका खेल्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : २७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष