प्यूठानमा मह उत्पादन नभएपछि मौरीपालक चिन्तित | Khabarhub Khabarhub

प्यूठानमा मह उत्पादन नभएपछि मौरीपालक चिन्तित


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

प्यूठान – कात्तिक र मङ्सिर महिना मौरीपालक कृषकका लागि उपयुक्त समय हो । मौसममा स्रोत खोज्दै मौरी चरनका लागि जिल्ला बाहिरबाट समेत कृषकहरू प्यूठानका विभिन्न ठाउँमा मौरी चराउन ल्याउने र चिउरी तथा तोरीको प्रशस्त मह काढ्ने गर्दथे । तर यस वर्ष मौरी किसानका लागि मौरी र मह दुवैमा क्षति पुगेपछि मारमा परेका छन् । कात्तिके मह खोज्दै किसानका घरमा पुग्ने ग्राहकले मह पाउन सक्दैनन् ।

विगत सात–आठ वर्षयता मौरीपालन गर्दै आएकी प्यूठान नगरपालिका–७ टिकुरीकी व्यवसायी पार्वता पोख्रेलले बैंकबाट रु १० लाख ऋण लिएर मौरीपालन व्यवसायलाई बढावा दिए। सिजनमा मह उत्पादन गरेर बैंकबाट लिएको ऋणको किस्ता तिरौँला भनेको मौरीलाई अरिङ्गालले सखाप पारेपछि यस वर्ष मह उत्पादन हुन नसकेपछि उनी चिन्तित छन् । मह उत्पादन गरेर बिक्री गरी बैकंको ऋण तिर्ने सोच बनाएकी उनलाई अब कसरी किस्ता तिर्ने भनेर चिन्ता बढेको छ । उनले भने, “सय गोला मौरी थियो, अरिङ्गागालले खाएर अहले मुस्किलले १० गोला छ । गत वर्ष करिब २० क्विन्टल मह काढेको हो । यस वर्ष एक केजी पनि काढिएन ।” उनको करिब पाँच लाख बरबरको मौरी सखाप भयो भने १० लाख बराबरको महमा क्षति भयो । यसरी हेर्दा उहाँको मात्रै १५ लाख बढीको क्षति भयो ।

यस्तै टिकुरीकै अर्का किसान डिमराज पोख्रेलको पनि ९० गोला मौरी थियो । उहाँले पनि यस वर्ष मह काढेनन् । उनको मौरीमा पनि अरिङ्गालले क्षति पु¥यायो । उनलाई पनि यस वर्ष १५ लाख बराबरकै क्षति भएको भन्दै दुःख सुनाए । “वर्षाभरि अरिङ्गालको गोला खोजीखोजी पोल्ने गरियो । तर पनि नियन्त्रण गर्न सकिएन । मौरी सखाप भयो । बैंक तथा सहकारीबाट लिएको ऋण तिर्न समस्या भयो”, उनले भने । उनहरू जस्ता प्यूठान नगरपालिकामा आधुनिक तरिकाले एपिएस मेलिफेरा जातको मौरीपालन गर्ने १५ जना किसान रहेको प्यूठान नगरपालिका कृषि शाखाप्रमुख अजित पौडेलले बताए । यस वर्ष प्यूठानमा मौरी किसानहरूले ठूलो क्षति बेहोर्नु परेको पौडेलले बताए।

यस्तै मौरी र महका लागि ‘हब’ क्षेत्र मानिएको सरुमा रानी गाउँपालिका बड्डाँडा क्षेत्रमा पनि मौरी किसानलाई अरिङ्गालले क्षति पु¥याएको नेपाल मौरीपालक महासङ्घ प्यूठानका अध्यक्ष हुमबहादुर थापाले बताए । उनका अनुसार गत वर्ष प्यूठानका किसानले मात्रै करिब २५ देखि ३० टन मह उत्पादन गरेका थिए । “तर यस वर्ष मुस्किलले दुई टन उत्पादन भयो होला । त्यही पनि प्यूठान नगरपालिकाका किसानहरूले त मह नै काढ्न पाएनन् । मौरी नै सखाप भयो”, उनले भने । प्यूठानका विभिन्न ठाउँमा बाहिरबाट पनि किसानले करिब पाँच हजार मौरी गोला चरनमा ल्याएका थिए । कसैले पनि मौरी नकाढी फर्केको उनले सुनाए ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका अनुसार गत वर्ष एपिएस सेरेना र एपिएस मेलिफेरा मौरीपालक किसानहरूले करिब ५० टन मह उत्पादन गरेको अनुमान छ । कार्यालयका अनुसार ५० टन महमध्ये करिब २५ टन मह जिल्लाकै किसानहरूले उत्पादन गर्न सफल भएका थिए । बाँकी २५ टन जति जिल्ला बाहिरबाट आउने किसानले मह उत्पादन गरेर लगेका थिए । यसरी हेर्दा गत वर्ष करिब दुई करोड बराबरको मह उत्पादन भएको तर यस वर्ष मुस्किलले १० लाख बराबरको मात्रै भएको मौरीपालक महासङ्घ प्यूठानले जनाएको छ ।

कपिलवस्तुस्थित वाणगङ्गा मौरी कृषि सहकारी संस्था लिमिटेड हरेक वर्ष प्यूठानमा मौरी चरनका लागि आउने गर्छ । तर यस वर्ष मौरीमा क्षति भएकाले मह काढ्नै नपाएको संस्थाका अध्यक्ष लीलापति घिमिरेले गुनासो गरे । गत वर्ष कात्तिक र मङ्सिरमा गरी तीनपटकसम्म मह काढ्न पाएकामा यस वर्ष एकपटक पनि काढ्न नपाएको घिमिरेले बताए । उनले भने , “महको प्रशस्त स्रोत हुँदाहुँदै पनि मौरीको प्राकृतिक शत्रु जीव अरिङ्गालले खत्तम बनायो । गत वर्ष फाट्टफुट्ट अरिङ्गाल लाग्ने गरे पनि नियन्त्रण भएको थियो । तर यस वर्ष सकिएन ।”

यस्तै रुपन्देहीका किसान रामवियारी चौधरी करिब चार सय गोला मौरी लिएर चरनका लागि प्यूठान आए । तर उgले पनि करिब डेढ सय गोला अरिङ्गालकै कारण क्षति भएको दुःख सुनाए ।

नेपाल मौरीपालक महासङ्घ प्यूठानका अनुसार जिल्लाभर करिब ५० जना व्यावसायिक मौरी किसान छन् । पचास किसानको करिब तीन हजार गोला मौरी थिए । तर यस वर्ष मौरीमा कति क्षति पुग्यो भनेर अध्ययन भइरहेको महासङ्घका निवर्तमान अध्यक्ष विष्णु सारुमगरले सुनाउनुभयो । जिल्लामा परम्परागतरूपमा मुढेघारमा पालिने एमिएस सेरेना जातको (स्थानीय) मौरीमा समेत अरिङ्गालले क्षति गरेपछि रैथाने मौरी पनि मासिँदै गएको छ ।

जिल्लाका किसानहरूलाई यस वर्ष प्राकृतिक शत्रु जीव अरिङ्गालले ठूलो क्षति पु¥याएकाले सरकारी तवरबाट किसानले राहतको अपेक्षा गरेका छन् । यसका अतिरिक्त अरिङ्गाल नियन्त्रणका लागि सम्बन्धित निकायहरूबाट आवश्यक प्रविधिरहित प्राविधिक सहयोगको अपेक्षा किसानहरूको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ९ : ५१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार