अन्तर्राष्ट्रिय

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

April 23, 2022

अडियो सुन्नुहोस्ः

रुसद्वारा पहिलो पटक मोस्कवा डुब्दा भएको हताहतिको विवरण सार्वजनिक

रुसले पहिलो पटक युद्धपोत मोस्कवा डुब्दा भएको हताहतिको विवरण सार्वजनिक गरेको छ । रुसको रक्षामन्त्रालयले जनाएअनुसार मोस्कवा डुब्दा १ जनाको मृत्यु भएको छ भने अरु २७ जना हराइरहेका छन् ।

रक्षामन्त्रालयले ३९६ जनाको उद्धार गरिएको समेत बताएको छ । यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ ।

यसअघि रुसले कृष्ण सागरमा मोस्कवा युद्धपोत डुब्दा भएको हताहतिको विवरण सार्वजनिक गरेको थिएन ।

रुसले उक्त युद्धपोत आगलागीका कारण डुबेको बताउँदै आएको छ भने युक्रेनी पक्षले उक्त युद्धपोतमा नेप्चुन क्षेप्यास्त्रबाट आक्रमण गरिएको दाबी गर्दै आएका छन् ।

गत फेब्रुअरी २४ यता युक्रेनविरुद्ध जारी रुसी आक्रमणका क्रममा मोस्कवा डुबेको घटनालाई निकै महत्वका साथ हेरिएको छ ।

रुसले पछिल्लो २४ घण्टामा युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायतको टिप्पणी

पछिलो २४ घण्टामा रुसी फौजले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायती रक्षामन्त्रालयले जनाएको छ ।

बेलायती रक्षामन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमार्फत रुसी सैनिकहरुले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बताएको हो ।

‘बढ्दो गतिविधिका बावजुद पछिल्लो २४ घण्टामा तीव्र युक्रेनी प्रत्याक्रमणका कारण रुसी फौजले कुनै ठूलो उपलब्धि हासिल गर्न सकेका छैनन् ।’ बेलायतको सैनिक जासुसी निकायको ब्रिफिङलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उक्त ब्रिफिङमा ‘युक्रेनी हवाई एवम् समुद्री रक्षाको प्रभावकारिताका कारण’ रुसी नौसेना र वायुसेनाले सम्बन्धित क्षेत्रमा नियन्त्रण जमाउन नसकेको ।’ उल्लेख छ ।

र ‘मारिउपोल शहर कब्जा गर्ने उनीहरुको भनाइका बावजुद युक्रेनी प्रयासलाई हतास पार्ने भीषण लडाइँहरू भइरहेका छन् ।’

कम्बोडियामा ९३ प्रतिशतले कोरोनाविरुद्धको खोप पाए

कम्बोडियाका ३ वर्ष भन्दामाथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । 

तीन वर्ष भन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप नलगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शनिबार दिएको जानकारी अनुसार नागरिकलाई लगाइएको खोप मध्ये सबैभन्दा धेरै चिनियाँखोप रहेको छ । 

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा सन् २०२१ को फेब्रुअरी देखि कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो । 

झण्डै १४ महिनाको अवधिमा कम्बोडियामा आयात गरिएको खोप मध्ये सबैभन्दा धेरै चीनबाट आयात गरिएको छ । 

“मुलुकको एक करोड ४८ लाख ८० हजार मानिसलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाइएको छ,”मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

कम्बोडियामा अहिले झण्डै एक करोड ६० लाख जनसङ्ख्या रहेको छ । खोप लगाएकामध्ये ८८ दशमलब ३ प्रतिशतले भने दुबै खोप लगाएका छन्, त्यो जनसङ्ख्या एक करोड ४१ लाखभन्दा बढी हुन्छ ।

त्यसैगरी ८२ लाख मानिस अर्थात ५१ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् भने १३ लाख अर्थात आठ प्रतिशतले चौथो डोज लगाएका छन् ।  यति धेरै मानिसले खोप लगाउँदा समेत कम्बोडियामा अहिले पनि दैनिक सङ्क्रमितहरू भेटिने गरेको जनाइएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । मृतकको सङ्ख्या भने शून्य रहेको छ । 

कम्बोडियामा अहिलेसम्म कुल एक लाख ३६ हजार जनाकोरोना भाइरसबाट सङ्क्रमितभएका छन् भने तीनहजार ५६ जनाको मृत्यु भएको  छ ।

अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु

अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो ।

आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान सरकारका प्रवक्ता जबिह उल्लाह मुजाहिदले ट्विटरमार्फत् जानकारी दिएका छन् ।

‘हामी यस्तो अपराधको निन्दा गर्छौँ‘ र पीडितप्रति समवेदना व्यक्त गर्छौ ।’ मुजाहिदलाई उद्धृत गर्दै कतारी टेलिभिजन अलजजिराको अनलाइन संस्करणले जनाएको छ ।

आक्रमणको जिम्माहालसम्म कुनै समूहले पनि लिएको छैन । यद्यपि गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ताकब्जा गरेयता आतंककारी संगठन इस्लामिक स्टेटले यस्ता आक्रमणको जिम्मालिँदै आएको छ ।

आक्रमणमा प्रयोग भएको विष्फोटक पदार्थ र यसको उद्देश्यबारे अनुसन्धान भइरहेको कुन्दुज प्रहरीले जनाएको छ । पछिल्ला केहीदिनहरु यता अफगानिस्तानका विभिन्न स्थानहरुमा बम आक्रमण हुँदै आएको छ ।

कुन्दुजमा गराइएको पछिल्लो आक्रमणलाई गतवर्ष अगष्ट महिनामा तालिबानले सत्ताकब्जा गरेयता गराइएका घातक आक्रमणको रुसमालिइएको छ ।

भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै

कोरोना भाइरसका कारण भारतमा थप ३३ जनाको मृत्यु भएको छ भने अरु २५ सय सङ्क्रमित भएका छन्  ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । 

संघीय स्वास्थ्यमन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ । 

यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना सङ्क्रमित भएको देखिएको थियो । भारतीय समाचार संस्था एएनआईकाअनुसार मृतकको सङ्ख्या शनिबार भन्दा बढी ५४ रहेको थियो । 

पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ । 

मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १५ हजार ७९ रहेको छ ।

दक्षिणी एवम् पूर्वीयुक्रेन कब्जा गर्नु रुसको लक्ष्य रहेको वरिष्ठ रुसी कमाण्डरको भनाइ

रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एक जना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो ।

डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका साथ हेरिन्छ ।

त्यसबाहेक रुसको केन्द्रिय सैनिक जिल्लाका उपकमाण्डर समेत रहेका मिन्नेकायेभले दक्षिणी युक्रेनलाई कब्जा गरेको खण्डमा मोल्दोभाका रुसी पृथकतावादीहरु पनि भौगोलिक रुपमा जोडिने बताए ।

युक्रेनको छिमेकी मुलुक मोल्दोभामा डिनिस्तर नदीपारी बस्ने रुसी पृथकतावादीहरूले आफ्नै ‘ट्रान्सनिस्ट्रया’ नामक राज्य चलाउँछन् । यद्यपि यो राज्यको अन्तर्राष्ट्रिय मान्यता अत्यन्त सीमित रहेको बताइन्छ ।

‘दक्षिणी युक्रेनलाई नियन्त्रण गर्नु ट्रान्सनिस्ट्रियासम्म पुग्ने अर्को बाटो हो । त्यहाँ रुसी भाषीमाथि दमन भइरहेको छ भन्ने पनि सत्य हो ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनियुक्रेनमाथि आक्रमण गर्नुअघि डोनबास क्षेत्रमा रुसी भाषीमाथि दमन भइरहेको यस्तै दाबी गरेका थिए ।

यतायुक्रेनी रक्षामन्त्रालयले भने उनको टिप्पणीलाई रुसी ‘साम्राज्यवाद’को संज्ञा दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवले रुस र युक्रेनको भ्रमण गर्ने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्ध अन्त्यको पहलका लागि रुस र युक्रेनको भ्रमण गर्ने भएका छन् ।

उनीपहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको संयुक्त राष्ट्रसंघको समाचार संस्था युएन न्युजले जनाएको छ ।

उनले दुबै देशमा त्यहाँका विदेश मन्त्री तथा राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताइएको छ ।

रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नेछन् ।

त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर उत्तर पूर्वमा रहेको उक्त सर्वेक्षणले जनाएको छ ।

भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

समाचार संस्था एएफपीका अनुसार भूकम्पको धक्का भूकम्पको केन्द्रबिन्दुबाट ४ सय किलोमिटर टाढा बेलग्रेड, जाग्रेब र स्कोप्जेसम्म महशुस गरिएको थियो ।

भूकम्पको धक्का अल्बानिया र दक्षिणी इटालीमा पनि महशुस भएको थियो ।

२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा

युक्रेनमा जारी रुसी आक्रमणका कारण २९ लाख युक्रेनी देश छाडेर छिमेकी मुलुक पोल्याण्ड पुगेका छन् ।

पोल्याण्डको सीमा रक्षा बललाई उद्धृत गर्दै पोल्स्की रेडियोले २४ फेब्रुअरी यता जारी रुसी हमलाका कारण हालसम्म २९ लाख युक्रेनी पोल्याण्ड पुगेको जनाएको हो ।

यद्यपि पछिल्ला दिनमा भने सीमापार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको बताइएको छ । 

शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७हजार ७ सय युक्रेनीले पोल्याण्डमा शरण लिएका छन् ।

युद्ध भएपछि पोल्याण्डबाट ८ लाख २५ हजार युक्रेनीयुक्रेन पसेका छन् । 

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्याण्ड भागेका थिए ।