विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ ९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २३, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्

स्पेनका पूर्वराजा विरुद्ध प्रदर्शन

संयुक्त अरब इमिरेट्स युएईमा करिब दुई वर्ष स्वनिर्वासन बसेपछि स्वदेश फर्किएका स्पेनका पूर्वराजा हुआँ कार्लोसविरुद्ध राजधानी म्याड्रिडमा सयौँ प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् ।

‘न्याय’ र ‘बोर्बोँ जेलमा’ लेखिएको प्लेकार्ड बोकेका प्रदर्शनकारीले स्पेनको राजधानी म्याड्रिडस्थित शाही दरबारनजिक भेला भएको युरोपेली समाचार सञ्जाल द लोकलको स्पेनी संस्करणले जनाएको छ । एक सरकारी प्रवक्ताले प्रदर्शनकारीको संख्या तीन सय रहेको बताए । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा मार्चमा अनुसन्धान रोकिएपछि सन् २०२० को अगस्टपछि पहिलो पटक पूर्वराजा कार्लोस स्वदेश फर्किएका हुन् । सन् १९७५ मा  तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको लोकतन्त्रमा उनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो ।

तर उनको अपारदर्शिताले ८४ वर्षीय पूर्वराजाको प्रतिष्ठालाई कलंकित बनाएको बेलायती अखबार डेली मेलले जनाएको छ । पूर्वराजा संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबी फर्कनुअघि सोमबार राजधानी म्याड्रिडमा आफ्ना छोरा राजा फेलिप छैठौंलाई भेट्नेछन् । भ्रमणका क्रममा हालका राजा फिलिपको आधिकारिक निवास जार्जुएला दरबारमा बस्ने पूर्वराजा कार्लोसको निर्णयलाई सरकारले विरोध गरेको छ । 

समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले अझै पनि सन् २०१४ मा राजगद्दी त्यागेका पूर्वराजा कार्लोसबाट ‘स्पष्टीकरण’ को अपेक्षा गरेको बताइएको छ ।

युक्रेन ईयूमा सामेल हुन अझै १५/२० वर्ष लाग्न सक्ने फ्रान्सका युरोपेली मन्त्रीको भनाइ

युक्रेनले युरोपेली संघमा सामेल हुने प्रस्तावलाई अन्तिम रूप दिन १५/२० वर्ष लाग्न सक्ने फ्रान्सका युरोपेली मन्त्रीले बताएका छन् । सो भनाइसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको युरोप छिट्टै प्रवेश गर्ने आशामा अड्चन देखिएको छ।

“हामी इमानदार हुनैपर्छ। यदि तपाईँ युक्रेन छ महिना वा एक वा दुई वर्षमा ईयुमा सामेल हुन गइरहेको छ भन्नुहुन्छ भने, तपाईँ झुट बोल्दै हुनुहुन्छ,” क्लेमेन्ट ब्यूनेले रेडियो जेलाई भनेका छन् ।

उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको

उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको भएका उत्तर कोरियाको सरकारले जनाएको छ ।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएअनुसार केही दिनदेखि ज्वरोको प्रकोप बढेको भएपनि अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् । त्यहाँ अप्रिल महिनाको अन्त्यबाट ठूलो सङ्ख्यामा नागरिकहरूमा ‘ज्वरो’ को प्रकोप बढेको थियो । त्यस प्रकोपमा कम्तीमा पनि २६ लाख ४० हजार नागरिक परेका थिए । उनीहरूलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो ।

गत शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका बिरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ । सो समाचार संस्थाका अनुसार त्यहाँ ‘ज्वरो’ को प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो । सुरुमा ‘ज्वरो मात्र भनिएकामा पछि कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

तर उत्तर कोरियाली सरकारले यसलाई कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ । 

क्यानाडामा आँधी आउँदा ९ लाख घरमा विद्युत सेवा अवरुद्ध

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा भीषण आँधीले दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतबिहिन भएका छन् ।

आँधीका कारण ढलेको रुखले किचेर ४ जनाको मृत्यु भएको छ भने ओटावा नदीमा एउटा डुंगा पल्टिदा एक महिलाको मृत्यु भएको थियो । वातावरण क्यानडा नामक संस्थाका अनुसार आँधीबेहरीको समयमा हावाको वेग ८२ माइल प्रतिघन्टा थियो । ओटारियो समेट्ने उर्जा कम्पनी हाइड्रो वनले हरेक घरलाई पुनः जडान गर्न धेरै दिन लाग्ने जनाएको छ ।

यसैबीच हाइड्रो क्युबेकले त्यहाँका ५ लाख ५० हजार घरमा बिजुली नभएको र झण्डै ४ लाख घरमा अझै पनि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ । दुई घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली आँधीले धेरै रुखहरू ढलेका छन्, यातायात अवरुद्ध भएका र घरहरूमा क्षति पुगेको छ ।

अग्नि नियन्त्रक र कर्मचारीले ओटावाको सडकमा कारहरूमा ढलेका पोल र तारहरू हटाउन प्रयास गरिरहेका देखिन्छन् ।

मंकीपक्स भाइरसको संक्रमण फैलिने देशको संख्या १५ पुग्यो

केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरूमा फैलिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको यो संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ ।

देशबाहिरबाट आएका एक/एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएको छ। इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ । मध्य तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् ।

अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।

यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिन्छ । मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ ।

युक्रेनी शहरमा रुसद्वारा नियुक्त प्रशासक विस्फोटनमा घाइते

रुसी फौजको कब्जामा रहेका युक्रेनी शहरमा रुसी शासन लागू गर्ने जिम्मेवारी पाएका अधिकारी बम विष्फोटमा घाइते भएका छन् ।

पूर्वी युक्रेनको एनेर्होदार शहरको प्रशासन चलाउन रुसले नियुक्त गरेका ‘मेयर’ आन्द्रेई शेभचिक बम विष्फोटमा घाइते भएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उनका साथै उनका दुई अंगरक्षक पनि घाइते भएको अर्को रूसी समाचार संस्था तासले जनाएको छ ।

घाइते शेभचिकलाई सघन कक्षमा राखेर उपचार भइरहेको रियाले जनाएको छ । ‘स्वघोषित जनप्रशासनका प्रमुख शेभचिक र उनका अंगरक्षकहरु विष्फोटनका क्रममा घाइते भएको हामीसँग सटीक जानकारी छ ।’ शहरको युक्रेनी मेयर दिमित्रो ओर्लोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन् ।

उनलाई हाल नजिकैको रुसी अधिनस्थ मेलिटोपोल शहरमा लगिएको र त्यहाँ उनको उपचार भइरहेको ओर्लोभले बताए । उनका अनुसार शेभचिकको स्थानमा अर्को मानिसलाई नियुक्त गरिएको छ । विष्फोटमा रुसले नियुक्त गरेका प्रशासक घाइते भएको बताइएपनि विष्फोटनको घटनाबारे विस्तृत जानकारी भने नआइसकेको रोटयर्सले जनाएको छ ।

रोयटर्सका अनुसार रुसले आक्रमण गर्नु अघि एनेर्होदार शहरको जनसङ्ख्या ५० हजार थियो र आक्रमणलगत्तै धेरै बासिन्दाहरूलाई नजिकैको जापोरिजिया शहर स्थानान्तरण गरिएको जनाइएको छ ।

‘युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै छ’ – पोलिस राष्ट्रपति

युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै भएको पोल्यान्डको राष्ट्रपतिले बताएका छन् । युक्रेन भ्रमणमा रहेका पोल्यान्डका राष्ट्रपति आन्द्रेइ डुडाले युक्रेनसँगमात्रै युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार रहेको जनाएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको संसद्मा सम्बोधन गर्दै राष्ट्रपति डुडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग स्वीकार गर्नुपर्ने ‘चिन्ताजनक आवाज’ उठिरहेको सन्दर्भमा युक्रेनसँग मात्रै आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको टिप्पणी गरेका हुन् । गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता युक्रेनी संसद्मा सम्बोधन गर्ने डुडा प्रथम विदेशी नेता हुन् ।

‘युक्रेनले पुटिनका मागहरु मान्नुपर्ने चिन्ताजनक आवाजहरू देखा परिरहेका छन्’ डुडालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘आफ्नो भविष्य निर्धारण गर्ने अधिकार केबल युक्रेनीहरुसँग छ‘ तपाईँहरूबाहेक तपाईँहरुबारे निर्णय लिने अधिकार कसैसँग पनि छैन’ डुडाले यति भन्दै गर्दा युक्रेनी सांसदहरुले उठेर ताली बजाएको रोयटर्सले जनाएको छ ।

राष्ट्रपति डुडाले युक्रेनी भूभागबाट रुसी फौज पूर्ण रुपमा पछि हट्न अन्तर्राष्ट्रिय समुदायले रुससमक्ष माग गर्नुपर्ने समेत बताए । ‘यदि आर्थिक वा राजनीतिक स्वार्थका लागि युक्रेनको एक सेन्टिमिटर पनि बली दिइयो भने यो युक्रेनी राष्ट्रका लागि मात्र नभइ पश्चिमा विश्वकै लागि धक्का हुनेछ ।’ उनले भने । युक्रेनमा आक्रमण सुरु भएयता रुसको परम्परागत प्रतिद्वन्द्वी पोल्याण्ड युक्रेनको निकटस्थ साझेदारको भूमिकामा देखिएको छ ।

पोल्याण्डले रुसविरुद्ध प्रतिबन्धहरू तथा युक्रेन युरोपेली युनियनमा आबद्ध हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएको छ । ‘युक्रेन युरोपेली युनियनको सदस्य नबन्दासम्म म आराम गर्दिनँ’ डुडालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तानमा टेलिभिजनमा समाचार वाचन गर्ने महिला प्रस्तोताले अनुहार छोप्न थाले

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ ।

आइतबार तालिबानको ‘दुराचार निरुत्साहन तथा सदाचार प्रोत्साहन मन्त्रालय’ ले उक्त आदेश दिएसँगै धेरैजसो महिला समाचार प्रस्तोताहरुले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई नै ‘अन्तिम’ घोषणा गरेको थियो । तालिबानको आदेशसँगै अफगानिस्तानका टोलो टेलिभिजन, शमशद टेलिभिजन, आरियाना टेलिभिजनलगायतमा महिला प्रस्तोताले अनुहार छोपेर समाचार वाचन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अफगानिस्तानको टोलो न्युजकी समाचार प्रस्तोता सोनिया नियाजीले एएफपीलाई भनिन्, ‘हामीले प्रतिरोध गर्यौ र हामी मास्क लगाउने पक्षमा थिएनौँ ।’ अल जजीराका अनुसार पहिलो पटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् । ‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, किनभने इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’ नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’ तालिबानले पनि महिला प्रस्तुतकर्ताहरूले मेडिकल मास्क लगाउन सक्ने जनाएको छ ।

एक स्थानीय मिडिया अधिकारीले आफ्नो स्टेसनले गत साता तालिबानको आदेश प्राप्त गरेको पुष्टि गरे । आफूहरु तालिबानको यो निर्णय लागू गर्न बाध्य रहेको अफगानिस्तानका टेलिभिजन सञ्चालकहरूले जनाएका छन् । यता तािलबानले भने अफगान टेलिभिजनहरुले आफ्नो आदेशको कार्यान्वयन गरेकोमा सरहाना गरेको छ ।

‘यो जिम्मेवारी राम्रोसँग पालना गरेकोमा अफगान मिडिया च्यानलहरुसँग हामी खुशी छौँ ।’ ’दुराचार निरुत्साहन तथा सदाचार प्रोत्साहन मन्त्रालय’ का प्रवक्ता मोहम्मद अकिफ सदिक मोहाजिरलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : १६ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक