सत्ता र स्वार्थका लागि समाजवादी केन्द्र | Khabarhub Khabarhub

सत्ता र स्वार्थका लागि समाजवादी केन्द्र



काठमाडौँ – तत्कालीन नेकपा पार्टीका अधिकांश सचिवालय सदस्य पछिल्ला दिनमा आन्तरिक भेटघाटमा व्यस्त छन्। मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन प्रचण्ड निवासमा भेला भएर समाजवादी केन्द्र निर्माणको विषयमा छलफल गरे।

यसअघि पनि तत्कालीन नेकपाका सचिवालय सदस्य एक ठाउँमा भेला गरेर वृहत् वाम एकताबारे छलफल गरेका थिए। प्रचण्डले जनता समाजवादी पार्टी जसपाबाट निकालिएका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई समेत भेटे।

आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनाव मिति नजिकिँदै गर्दा नेकपा एमालेबाहेकका ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताको भेट बाक्लिनुमा समाजवादी केन्द्र निर्माणभन्दा धेरै यी नेताको आ-आफ्नै स्वार्थ लुकेको विश्लेषकहरुको बुझाइ छ।

शान्ति सम्झौतामा आइसकेपछि नेकपा माओवादी केन्द्र २०६४ सालको निर्वाचनमा पहिलो दल बन्यो। २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको निर्वाचनमा माओवादी तेस्रो दल बनेको थियो। पहिलो दल बनेका बेला प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। त्यसपछि पनि उनी दोस्रो पटक प्रधानमन्त्री बने । अहिले भने प्रचण्डको राजनीतिक साइज घटेको छ।

जनयुद्धका सारथि मोहन वैद्य, विप्लव, बादल, बाबुरामजस्ता नेताले छोडेपछि प्रचण्डको ओरालो यात्रा सुरु भएको हो। तर, छुट्टै नीति र चलायमान चरित्रले उनी सत्ताकै वरिपरि छन्। प्रचण्ड कमजोर रहनुमा उनले जनयुद्धका भावना र  मार्क्सवाद त्याग्नु भएको कतिपयको बुझाइ छ। पार्टीमा परिवारवाद हावी गर्ने, विलासी जीवनशैली र सदैव सत्ता मोहको कारण प्रचण्ड कमजोर बनेकामा दुई मत छैन।

आफू कमजोर भएपछि उनले २०७४ को निर्वाचनअघि एमालेसँग वाम एकता गरे। त्यसपछि वामपन्थीले करिब दुई तिहाइ मत पायो। परिणामस्वरुप उनीहरुले पाँचवर्ष सरकार सञ्चालन गर्ने अवसर पाए। तर, पार्टीमै देखिएको तिक्तताले सरकारको आयू साढे २ वर्षमा सकियो। वामपन्थीबीचको आपसी लडाइको फाइदा अहिले कांग्रेसले लिरहेको छ।

चाहेर/नचाहेर प्रचण्ड देउवाको पुच्छर जस्तै बनेका छन्। देउवासँगै मिलेर प्रचण्डले राजनीतिक लाभ खोजिरहेका छन्। अझै पनि उनलाई सत्ताको केन्द्रमै रहन मन छ। शुक्रबार त उनले आगामी चुनावबाट सरकारको नेतृत्व आफूले गर्ने संकेत गरेका छन् ।

केपी शर्मा ओलीसँग भेट गरेर कांग्रेसँग बार्गेनिङ गर्ने प्रचण्ड रणनीति यसपटक काम नलाग्ने देखेर उनी यसपटक समाजवादी केन्द्र निर्माण गर्ने प्रस्ताव लिएर अघि बढेका छन् । यो उनको केवल सत्ता स्वार्थ हो। समाजवादी केन्द्र बनाएर सत्तारुढ दलको प्रमुख घटकसँग सिट बार्गेनिङ गर्ने र सत्तामा पुग्ने उनको रणनीति छ।

समाजवादी केन्द्र निर्माणको दिशामा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम देखिन्छन्। उनीहरुमा पनि सच्चा समाजवादी केन्द्र निर्माण गर्ने नियत छैन। स्थानीय तहको निर्वाचनमा कांग्रेसले पेलेर गएपछि कम सिट हासिल गरेको एकीकृत समाजवादी पार्टी सत्ता गठबन्धनसँग असन्तुष्ट छ।

कांग्रेसले थोरै सिट दिएर हेपेको अनुभूति छ। त्यसैले कम सिट पाएको खण्डमा आगामी मंसिरमा हुने चुनावमा कांग्रेस र माओवादीसँग मिलेर जाने पक्षमा अध्यक्ष माधवकुमार नेपाल छैनन्। त्यसैले कांग्रेसबाट धेरै सिट फुत्काउने कोसिस स्वरुप उनी पनि समाजवादी केन्द्र निर्माणको दुहाई दिइरहेका छन्।

यही अभिप्रायको खोलभित्र रहेर झलनाथले एमालेसँग एकता र चुनावी गठबन्धन गर्नु पर्ने बताइरहेका छन् भने माधव नेपालले कांग्रेस र माओवादीसँग बार्गेनिङ गरिरहेका छन्। यदि आगामी चुनावको लागि कांग्रेसले समाजवादीलाई सिट कम दिने हो भने उनीहरुले अर्को राजनैतिक समीकरण बनाउन सक्छन्।

यता एमालेले भने माफी मागेर आए मात्र समाजवादीसँग एकता हुने कुरा गरिरहँदा माधव नेपाल के गरौँ र कसो गरौँ ? भन्नेमा छन्। एक्लै चुनाव लड्ने अवस्था आएमा आगामी चुनावमा समाजवादीले एक सिट पाउन पनि मुस्किल छ।

अर्कोतर्फ, माधव नेपाललाई अझै एकपटक प्रधानमन्त्री बन्ने दिवास्वप्न छ। ओलीसँग रहेसम्म उनले यो चान्स पाउन नसक्ने भएपछि उनले नयाँ पार्टी बनाएका हुन्। झलनाथ खनाललाई पनि अब राष्ट्रपति बन्नु छ।

त्यसैले कहिले प्रचण्ड र कहिले ओलीसँग उनले भेटघाट बढाइरहेका छन्। त्यसैले समाजवादी केन्द्र निर्माण गर्ने उनीहरुको कुरा जनतालाई भ्रममा राख्नेबाहेक केही हुन सक्दैन।

यता नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान)का संयोजक वामदेव गौतम पनि छट्पटिएका छन्। विभिन्न समूह बनाएर एकता अभियान सुरु गरेका उनलाई स्वयम् अरु घटकले अभियानबाट निकालेपछि उनको निद्रा हराम भएको छ।

त्यसैले वामदेव अहिले सबैभन्दा बढी असुरक्षित छन्। न एमाले, न समाजवादी कतै पनि उनलाई स्पेस छैन। समय र परिस्थितिले साथ दिएमा उनलाई पनि एक पटक मुलुकको प्रधानमन्त्री बन्ने रहर छ। त्यसैले उनी पनि अब जता शक्ति आर्जन गर्न सकिन्छ उतैसंग हिमचिम बढाइरहेका छन्।

कहिले एमाले अध्यक्ष ओलीसँग, कहिले माधव नेपालसँग, कहिले प्रचण्डसँग उनको भेटघाटले तीव्रता पाइरहनुमा त्यही कम्सत लुकेको छ। आफू मात्र होेइन उनी अब आफ्नी श्रीमतीको पनि राजनीतिक संरक्षण खोजिरहेका छन्। उनले आफू जे भए पनि श्रीमतीलाई मन्त्री र सांसद जसले बनाउने ललिपप दिन्छन्। उनको यो समाजवादी केन्द्र बनाउने योजना नभएर स्वार्थको योजना हो।

समाजवादका आधारभूत मान्यता र दर्शनबाट च्यूत भएर स्वार्थको लागि समाजवादी केन्द्र निर्माण गर्न खोज्नु आफैमा हास्यास्पद छ। यदि सत्ता स्वार्थ थिएन भने उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओली, त्यहाँका वैचारिक नेता, माओवादीबाट विभक्त भएका मोहन वैद्य, बाबुराम, बादल, विप्लव र अरु कम्युनिष्ट मोर्चासँग पनि छलफल गर्न सक्थे। तर, त्यो गरेको पाइदैन। त्यसैले यो समाजवादी केन्द्र निर्माण गर्ने बाटो नभएर सत्ता र स्वार्थको बाटो हो।

अर्कोतर्फ नेकपाका बहुमत सचिवालय सदस्य एमालेसँग रुष्ट छन्। कांग्रेसलाई सत्ताको चाबी दिएर भए पनि उनीहरु एमाले ठूलो पार्टी भएको हेर्न। देख्न चाहँदैनन्। उनीहरुलाई जसरी पनि आगामी निर्वाचनमा एमालेलाई कमजोर बनाउन चाहन्छन्।

त्यसको लागि कांग्रेसको वैशाखी बन्न प्रचण्डलाई लाजसरम छैन। त्यसकारण यो समाजवादी केन्द्र बनाउने अभियान केवल हात्तीको देखाउने दाँत मात्र हो। चुनावी मुखमा गरिएको समाजवादी केन्द्र निर्माणले न त जनतालाई हित गर्ने छ, न त राष्ट्रको उन्नति नै हुन्छ। यसले फाइदा दिने छ भने केवल ती नेता र व्यक्तिलाई नै दिनेछ।

‘समाजवाद’ एउटा यस्तो आर्थिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा नीहित हुन्छ। जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनीतिक व्यवस्था अंगिकार गर्ने र त्यही अनुसारको जीवनशैली बनाउने नेता मात्र सच्चा कम्युनिष्ट हुन सक्छन्।

तिनैबाट मुलुकमा समाजवाद आउने हो। तर, यसखाले एउटा गुण पनि हाम्रा कम्युनिष्ट नेतामा छैन। वस्तुको उत्पादनको स्वामित्व नियन्त्रण र व्यवस्थापन गर्नेमा जतिपटक सरकारमा भए पनि यिनीहरुको ध्यान गए। कम्युनिष्ट नेताको आचरणको कारण आज विश्वबाट कम्युनिजम आउट हुने अवस्थामा छ।

विश्वका १ सय ९४ मुलुकमध्ये चीन, क्युवा, लाओस, भियतनाम र उत्तर कोरियामा मात्र कम्युनिजम र समाजवाद छ। चीन पनि अहिले पुँजीवादतर्फ फर्केको अवस्था छ।

तर, हाम्रो त्यो अवस्था छैन। कम्युनिष्टको आपसी झगडाले गर्दा पाएको करिब दुई तिहाइबाट च्यूत भएर पुँजिवादीको हातमा सत्ताको बागडोर दिन सफल भएका छन्।

कम्युनिष्टहरु टुटफुटमा रमाए। सत्तालिप्सा, भ्रष्टाचार, कमिसनखोरमा उनीहरु जुका टाँसिएझैँ गरी टाँसिरहे वषौँसम्म। जनता भोकभोकै मरे पनि कम्युनिष्टको खोल ओढेकाको सुख सयलमा कहिल्यै कमी आएन।

त्यसैले यस्तो जीवन शैलीमा पौडिरहेकाले अब समाजवादी केन्द्र निर्माण गर्लान् भन्नु सजिलै पत्याउन सकिने विषय होइन। यदि त्यो होइन, साँच्चिकै समाजवादी केन्द्र निर्माण गर्नै लागेका हुन् भने उनीहरुले पहिला देशमा गरेको धोकाधडीको जनतासँग गएर माफी माग्न सक्नुपर्छ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : १५ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा