दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संसदमा प्रस्तुत 
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।आज बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला) ले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

विधेयक प्रस्तुत गर्दै कानुनमन्त्री कोइरालाले माओवादीको सशस्त्र द्वन्द्वका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको विधेयकलाई सरकारले अघि बढाउन लागेको जानकारी दिए।

२. मुख्यमन्त्री राउतसँग राजीनामा माग गरिएको छैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा गर्न जसपाले कुनै निर्देशन नदिएको स्पष्ट परेका छन्।

स्वच्छता अभियान र बेटी पढाऊ बेटी बचाउ अभियानमा भ्रष्टाचार भएको भन्दै उपेन्द्रले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको खबर सार्वजनिक भएपछि आज बिहान जनकपुर पुगेका यादवले ती खबरहरूमा सत्यता नभएको बताएका हुन् ।

३. भदौ अन्तिम सातादेखि सहुलियत पसल 
सरकारले दशैं तिहारका लागि भदौ अन्तिम सातादेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । हरेक वर्षजस्तै सहुलियत पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम विनियोजन गरेको छ । यही रकमबाट अत्यावश्यक वस्तु सस्तोमा बेच्ने सरकारी संस्थानलाई अनुदान दिनेछ ।

अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानबाट संयुक्त रूपमा सहुलियत पसल सञ्चालन हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले सहुलियत पसल सञ्चालन गर्ने निर्णय भएर सम्बन्धित संस्थानलाई निर्देशन समेत गइसकेको जानकारी दिए।

४. बन्दले पढाइमा असर परेकामा चिन्ता
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण लाखौँ बालबालिकाले शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ ।

 बन्दको त्रासले काठमाडौँलगायत विभिन्न स्थानका विद्यालय बन्द भएका छन् । उक्त अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको  छ ।

५. प्रभु बैंकका कर्मचारीद्वारा केन्द्रीय कार्यालय अगाडी धर्ना 
आफूहरूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् ।

आज काठमाडौँको बिजुलीबजारस्थित कार्यालय अगाडी प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आफूहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नति सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरूको तुरुन्त पदोन्नति गर्नुपर्ने लगायतका माग राख्दै धर्ना दिएका हुन् ।

६. नाका नखुल्दा फक्ताङलुङवासीलाई सास्ती
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । कोभिड–१९ का कारण चीनले सीमावर्ती नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ ।

नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो । विशेषगरी पशुपालन, जडीबुटी सङ्कलन र गलैँचा उत्पादन मुख्य पेसाका रूपमा अँगालेका स्थानीयको नाका बन्द हुँदा सामान निर्यात ठप्प भएको छ।

 दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न पनि कठिन भएको स्थानीयले बताएका छन् ।

७. जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि रातभर नै जाग्राम 
सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा रातको समयमा जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

रातको समयमा तीन ओटा हात्ती बस्तीमा प्रवेश गरेपछि रातभर नै जाग्राम बस्नुपरेको स्थानीयले बताएका छन् । कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताइन्। ती हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएको छ ।

८. तीन जना पक्राउ
प्रहरीले वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१० बस्ने २७ वर्षीय सोनु मिश्र, भारतीय नागरिक १९ वर्षीय राहुल कुमार र १९ वर्षीय दिपु कुमार रहेका छन् ।

९. युक्रेनमा स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध
युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाइएको छ ।

रुसी आक्रमणको उच्च खतरालाई मध्यनजर गर्दै सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा  भोलि मनाइने  कार्यक्रम  स्थगित गर्ने  निर्णय  युक्रेनले गरेको हो ।

संयुक्त राष्ट्र संघका अनुसार रुसी आक्रमणबाट ५ हजार ५ सय जना युक्रेनी नागरिकले ज्यान गुमाएका छन् । युक्रेनको संसदबाट राज्य सार्वभौमिकता  घोषणा पत्र १९९१  अगस्ट  २४ मा पारित भएको  थियो । सोही  दिनदेखि प्रत्येक वर्ष अगस्ट २४ लाई युक्रेनले स्वतन्त्र दिवसको रूपमा मनाउदै आएको छ ।

१०. नेपालको एकदिवसीय अन्तर्राष्ट्रियको वरीयता यथावत् 
नेपालको एकदिवसीय अन्तर्राष्ट्रियको वरीयता यथावत्  रहेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत् राखेको छ ।

नयाँ वरीयतामा नेपाल १९ औँ स्थानमा यथावत् रहेको छ। एकदिवसीय अन्तर्राष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत् रहेको छ । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औँ स्थानमा रहेका छ । २० औँ स्थानमा पपुवा न्युगिनी रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : १८ बजे

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

आज २०८१ साल असोज ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ९ गते बुधबार तदनुसार

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान