अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१ . सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय   

सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् ।

देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गरि सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उनले बताए  ।

बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेश्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यस अघिको निर्णय खारेज गर्ने निर्णय गरेको छ भने बालाजु त्रिशूली सडक खण्डको मुड्खु तीनपिप्ले ५ दशमलव ५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले  बताए ।

त्यस्तै बैठकले फौजदारी कसुर दोश्रो संशोधन नियमावली स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि स्वीकृत गर्ने निर्णय भएको  जानकारी दिए । त्यस्तै बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको छ । 

२.  आफ्नै चुनाव चिन्हका साथ लड्ने अध्यक्ष  नेपालको स्पष्टोक्ति 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने बताए ।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाई छ । उनले माओवादी केन्द्रसँग चुनाव अघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसँग बिचार र राजनीतिक कार्यदिशामा पनि एकरूपता रहेकाले र फेरी पनि बामशक्तिहरु एकठाँउमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको  बताए  । उनले  अहिले चुनावी तालमेल गर्ने दलहरूबीच भने साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जाने  बताए ।

 ३ . प्रदेश संरचना निर्माण भइसकेपछि तानाशाहीकरण हाबी भएको आरोप 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि  तानाशाहीकरण  हाबी भएको आरोप  लगाएका छन्  ।संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा  आज आयोजित छलफल कार्यक्रममा उनले  यस्तो  बताएका हुन्  ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामाकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै उनले  अहिले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको पनि तर्क गरे  ।

यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको  उनले दाबी  गरे ।

४. (वाईसीएल)का  पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ 

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ लिएका छन् ।

गत शुक्रबार सुरु भई आइतबार अबेर सकिएको दोस्रो राष्ट्रिय भेलाबाट चयन भएका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज  पद तथा गोपनीयताको सपथ लिएका हुन् ।वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उनीहरूलाई सपथ गराएका हुन्  ।

(वाईसीएल) ले ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएको  छ । वाईसीएलको विधानमा ३५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि आकांक्षी धेरै भएपछि विधान नै संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो ।

५. नेप्सेमा  झिनो अंककाे सुधार 

लगातार दुई दिन घटेको नेप्से आज भने  झिनो अंकले सुधार आएको छ । नेप्से आज १ दशमलव ८१ अंकले बढेर २ हजार ५४ दशमलव ९५ विन्दुमा  पुगेको हो ।

२२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँमा  कारोबार भएको छ ।  कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सूचक उकालो  लागेको छ ।  

आज  रुरु जलविद्युत परियोजना १० प्रतिशत ,  मन्दकिनी हाइड्रोपावर ९ दशमलव ९९ र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको  छ । कारोबार रकमका आधारमा भने हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख बराबरको सेयर कारोबार  भएको छ । 

६ . फुटपाथ व्यापारीद्वारा नाराबाजी

फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले साना व्यवसायीलाई हटाएको भन्दै व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन्

उनीहरुले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् । उनीहरूले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, लगायतका नारासहित प्रर्दश गरेका हुन् ।

सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, प्रशासनको तर्फबाट भइरहेको अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।

७ . जाजरकोटमा  पेस्तोल प्रदर्शन गरेर डर त्रास देखाउने एकजना पक्राउ 

जाजरकोटमा  पेस्तोल प्रदर्शन गरेर डर त्रास देखाउने एकजनालाई  प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१३ भल्मा बस्ने अन्नत खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जाजरकोटको नलगाड नगरपालिका–१ कल्पतस्थित केटाकेटीले श्रीकृष्ण जन्माष्टमिको अवसरमा नाचगान गरिरहेको बेला खत्री  र रमेश मल्ल आई आफूसँग रहेको पेस्तोल देखाई डरत्रास देखाएका थिए  ।

स्थानीयले नियन्त्रणमा लिन खोज्दा पेस्तोल सोही ठाउँमा छोडी भागेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा  उनलाई  पक्राउ परेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  

हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भई रहेको र फरार रहेका मल्लको खोजी भइरहेको प्रहरीले जनाएको छ। ।

८. फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि 

साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो । उनले केही मदिरा सेवन गरेको तर कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनले शुक्रबार आफ्नो निवासमा पत्रकारहरूलाई बताएकी थिइन् ।

चौतीस वर्षको उमेरमा प्रधानमन्त्री बनेकी  मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेर र आमोदप्रमोदलगायत गतिविधि गरेकामा यसअघि पनि आलोचना गरेका थिए ।

 ९ . तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने

तेस्रो संस्करणको माउन्ट एभरेष्ट इनटरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघले  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने बताईएको छ ।

संघका अध्यक्ष प्रकाश शम्शेर राणाले तेस्रो संस्करणको प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसिप समेत समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।  

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको पूर्व तयारी र व्यवस्थापनका लागि १ सय १ सदस्यीय मूल आयोजक समिति र १६ वटा उपसमिति गठन गरिएको बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागीताका लागि प्रारम्भिक रुपमा भाद्र ९ गतेदखि भाद्र २७ गतेसम्म दर्ताको समय निर्धारण गरिएको छ । हालसम्म ११ देशका ८ सय ११ जनाको सहभागीता रहने र प्रतियोगितामा १ हजार भन्दा बढी सहभागी हुने तेक्वान्दो संघले अपेक्षा गरेको छ ।  

 १०. बङ्गलादेशद्वारा एसिया कप क्रिकेटका लागि टोलीको घोषणा  

बंगलादेशले एसिया कप क्रिकेटका लागि टोलीको घोषणा गरेको छ । बङ्गलादेशले शकिब अल हसनको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

यस अघि घोषण गरेको टोलीबाट विकेट किपर नुरुल हसन र तीव्र गतिका बलर हसन महमुद एसिया कप खेल्ने टोलीबाट बाहिरिएका छन् । टोलीमा ओपनर ब्याटर मोहमद नइम टोलीमा थपिएका छन् ।

एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह ’बी’ मा रहेको छ । बंगलादेशको पहिलो खेल अगस्ट ३० मा अफगानस्तानविरुद्ध खेल्नेछ ।यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । 

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ४५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भद्रपुर– जिल्लाको बिर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय

बाढीबाट इमाडोलका उद्योगहरूमा क्षति

ललितपुर– अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा

अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय

काठमाडौं– वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन

बार अध्यक्षले भने- न्यायपरिषद्लाई खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो

काठमाडौं- नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका

अर्थसंक्षेप : बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने, नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो 

काठमाडौं- बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने