आज भदौ ७ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २३, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
रज्जाकविरुद्ध १२ वर्षको जेल सजाय सदर
मलेशियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रज्जाकविरुद्धको १२ वर्षे जेल सजायलाई सदर गरेको छ ।
१ मलेशिया डेभलपमेन्ट बेर्हाद नामक सार्वभौम सम्पत्ति कोषमा अर्बौ डलर पैसा हिनामिनामा मुछिएका रज्जाकलाई यसअघि सन् २०२० मा तल्लो अदालतले दोषी ठहर गरेको थियो ।
यसविरुद्ध पुनरावेदन दिएका नजिब जमानतमा रिहा भएका थिए । अदालतले उनीविरुद्धको अभियोगमा अन्तरिम आदेश दिन समेत अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
उनलाई मलेशियाका तल्लो अदालतले सन् २०२० मा आपराधिक धोका, शक्तिको दुरुपयोग, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा दोषी ठहर गरेपछि उनले उपल्लो अदालतमा पुनरावेदन दिएका थिए । उनले १ मलेशिया डेभलपमेन्ट बेहार्दको पूर्व एकाई एसआरसी इन्टरनेशनलबाट अवैध रुपमा १ करोड अमेरिकी डलर प्राप्त गरेको जनाइएको छ ।
उनलाई १२ वर्षको जेल एवम् २१ करोड मलेशियन रिङ्गिट जरिवाना तोकिएको छ ।
प्रधानन्यायाधीश टेङ्कु मैमुन टुवान माटले अदालतले सर्वसम्मतीले नजिबको पुनरावेदन खारेज गरेको जानकारी दिँदै तल्लो अदालतको फैसला सुरक्षित रहेको जनाएकी छन् ।
अदालतमा मुद्धा लड्न आएको रक्षा पक्षले निकै कमजोर र अविश्वसनीय दलिल दिएको र अभियोगबारे कुनै जायज दाबी पेश गर्न नसकेको समेत उनले बताइन् ।
अदालतले फैसला सुनाउने बेला रज्जाक अदालतमै उपस्थित रहेको रोयटर्सले जनाएको छ । उनका तीन सन्तान र श्रीमती भने उनको पछाडीको सिटमा बसेका थिए ।
यसअघि इजलासबाट प्रधानन्यायाधीशलाई हटाउन नजिबले गरेको आग्रह समेत अदालतले अस्वीकार गरेको थियो ।
यता अदालतले अन्तिम फैसला सुनाउनुअघि नजिबले भने आफू अन्यायबाट पीडित भएको टिप्पणी गरेका थिए । उनले आफ्ना वकिलहरुलाई थप तयारी गर्नका लागि दुई महिनाको समय दिन समेत माग गरेका थिए ।
अनुसन्धानकर्ताहरुले सन् २००९ मा प्रधानमन्त्रीको रुपमा पहिलो कार्यकालमा नजिबले स्थापना गरेको १ मलेशिया डेभलपमेन्ट बेहार्दबाट ४ अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको पाएका थिए । तीमध्ये १ अर्ब डलर नजिब आबद्ध खातामा रहेको पाइएको थियो ।
नजिबले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।
पाकिस्तानमा पोलियोका बिरामी बढे
पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढेका छन् । यस वर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन् ।
पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना कार्यान्वयन गर्दै आएको छ ।
केही साताअघिसम्म खोप अभियानमा खटिएका दुई सुरक्षाकर्मीको हत्या भएको थियो । उत्तर पश्चिम पाकिस्तानमा पोलियो खोप समूहलाई सुरक्षा गर्ने दुई सुरक्षाकर्मीलाई बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।
पाकिस्तानमा पोलियो खोप अभियानकर्मी निरन्तर निशानामा पर्ने गरेका छन् । खोप विरोधी भावनाका कारण आतंकवादीहरूले धेरै पोलियो कार्यकर्ता र उनीहरूका गार्ड मारिने गरेका छन् । खोपमा सुँगुरको बोसो हुन्छ भन्ने विश्वास उनीहरूको छ । पाकिस्तान र अफगानिस्तान मात्र देशहरू हुन्, जहाँ पोलियोले महामारीको रूप लिएको छ ।
रुसी आक्रमणका कारण नौ हजार युक्रेनी सैनिक मारिए
रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । छ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ ।
यसैबीच युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् ।
युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ ।
मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ । छ महिनादेखि जारी रुस–युक्रेन युद्धले ऊर्जा – इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ ।
यस्तै रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ । सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् ।
फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि
साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उनले गैरकानूनी रूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि उनले सोमबार प्रयोगशाला परीक्षण गराएकी थिइन् । उक्त प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो ।
प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहेनरहेको निक्र्यौल गर्न परीक्षण गरिएको थियो ।
आफूले केही मदिरा सेवन गरेको तर कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनले बताएकी थिइन् । आफूले जीवनमा कहिल्यै पनि लागूऔषध सेवन नगरेको पनि उनले स्पष्ट पारेकी थिइन् ।
चौतीस वर्षको उमेरमा प्रधानमन्त्री बनेकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेर र आमोदप्रमोदलगायत गतिविधि गरेकामा यसअघि पनि आलोचना गरेका थिए ।.
एलन मस्कद्वारा ट्वीटरका सहसंस्थापकविरुद्ध उजुरी
सामाजिक सञ्जाल ट्वीटरसँगको आफ्नो कानुनी लडाइको एउटा हिस्साका रूपमा विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन् । फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्न खोजिरहेका छन् । ट्वीटर किन्न दबाब दिने प्रयत्नसहित सामाजिक सञ्जालले मस्कविरुद्ध उजुरी गरेको छ ।
दुबै पक्षले अदालत बाहिर पहिले नै समाधान गर्ने निर्णय नगरेसम्म अक्टोबरमा अमेरिकाको डेलावेयरमा मुद्दाको सुनुवाइ हुनेछ । विश्वकै धनाढ्य मस्कलाई न्यायाधीशले प्रति सेयर ५४ दशमलब २० डलरको सहमत मूल्यमा टेकओभर पूरा गर्न आदेश दिने ट्वीटरको विश्वास छ ।
तर, मुद्दा तयारीको अंशको रूपमा मस्कका वकिलहरूले टेस्लाका मालिकको झगडा मिलाउन उनका साथी तथा ट्वीटरका पूर्वप्रमुख डोर्सीलाई बोलाएका छन् । गत जुलाईमा अर्बपति मस्कले ट्वीटर किन्ने सम्झौतबाट अलग हुने योजनामा रहेको बताएपछि कम्पनीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
फर्जी विवरणबारे सूचना रोकेको मस्कले कम्पनीलाई आरोप लगाएका थिए तर, ट्वीटरले यसलाई क्रेताले दोष लुकाउन गरेको बहाना बताएको थियो । डोर्सी नोभेम्बरमो ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिएका थिए र गत अप्रिलमा कम्पनी बेच्ने कबोल घोषणा गर्दा उनले मस्को समर्थनमा यसरी ट्वीट गरेका थिए,‘ एलोन मलाई विश्वास गर्ने एकल समाधान हो । म उहाँको मिसनमा चेतनाको ज्योति फैलाउने विश्वास गर्छु ।’
गत महिना एक अमेरिकी न्यायाधीशले मस्कविरुद्धको ट्वीटरको मुद्दा अक्टोबरमा सुनुवाइ गर्नुपर्ने फैसला सुनाएका थिए ।
इन्डोनेसियामा भूकम्प
इन्डोनेसियाको बालीमा ५ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पपछि कुटा क्षेत्रका वासिन्दा घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का कडा महसुस गरिएको थियो ।
भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पको क्षतिको विवरण सार्वजनिक भएको छैन ।
चीनले भारतीय विद्यार्थीका लागि भिसा जारी गर्ने
चीनले कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौं भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने योजनाको घोषणा गरेको छ ।
साथै भारतीयहरूलाई व्यापार भिसासहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना पनि सार्वजनिक गरेको छ।
‘भारतीय विद्यार्थीलाई हार्दिक बधाई । तपाईंको धैर्य सार्थक साबित भयो । म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु । चीनमा फेरि स्वागत छ’, चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका काउन्सिलर जी रोङले ट्वीट गरेकी छिन् ।
उनको ट्वीटले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले विद्यार्थी, व्यवसायी र चीनमा काम गर्ने परिवारका लागि भिसा खोल्ने घोषणा गरेको विस्तृत घोषणालाई उद्धृत गरेको छ ।
भारतमा विद्युतीय कारोबार गर्नेको संख्या अमेरिकाको जनसंख्याभन्दा बढी
भारतमा ३४ करोड मानिसहरुले विद्युतीय कारोबार गर्ने गरेको तथ्यांक प्रकाशित भएको छ ।
भारतको इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इण्डियाले प्रकाशित गरेको तथ्यांकमा भारतमा अनलाइनमार्फत् विद्युतीय कारोबार गर्ने मानिसहरुको संख्या ३४ करोड ६० लाख रहेको छ ।
यो सङ्ख्या अमेरिकाको कूल जनसंख्या ३३ करोड १० लाख भन्दा बढी रहेको भारतीय अखबार द हिन्दुको बिजनेस अनलाइन संस्करणले जनाएको छ ।
‘विश्वव्यापी महामारीले अनलाइन कारोबारमा दुई वर्षमा ५१ प्रतिशतले वृद्धि भएको देखिएको छ । सन् २०१९ मा २३ करोड रहेकोमा अहिले ३४ करोड ६० लाख पुगेको छ ।’ उक्त एसोसिएसनलाई उद्धृत गर्दै द हिन्दुले जनाएको छ ।
भारतमा मानिसहरु प्रायः मनोरञ्जन, सञ्चार एवम् सामाजिक सञ्जालका लागि मानिसहरुले इन्टरनेटको प्रयोग गर्दै आएका छन् ।
सुडानमा बाढी
अफ्रिकी मुलुक सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ । त्यहाँ बाढीले प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ । त्यसैगरी यहाँका कम्तीमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको छ ।
बाढीले अझै केही मानिसहरु बेपत्ता भएको र एक लाख ३६ हजारभन्दा मानिसलाई बाढीबाट प्रभावित भएर अन्यत्रै सारिएको छ । यहाँका मौसमसम्बन्धी अधिकारीहरुले सन् १९४६ पछि पहिलोपटक सुडानमका नदीहरुमा पानीको सतह धेरै बढेको जनाएका छन् ।
बाढीका कारण यहाँका कम्तीमा छ ओटा राज्यमा आपतकालको घोषणा पनि गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएको यहाँको यहाँको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ । बाढीको बढी प्रभाव रहेका विभिन्न छ राज्यमा सुडानको मन्त्रिपरिषदले आपतकालको घोषणा गरेको हो ।
नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ । बाढीको प्रभाव बढी भएका यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो ।
प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिएको र आवश्यक सहयोगको प्रवन्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग सङ्कलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ ।
प्रतिक्रिया