चुनावी मैदानमा एक ‘भेट्रान खेलाडी’ | Khabarhub Khabarhub

चुनावी मैदानमा एक ‘भेट्रान खेलाडी’

एमालेको बैशाखी टेकेर राजावादीको ‘प्रोमोटर’



काठमाडौं : पंचायतकालभरी उनकै रजगज थियो । बहुदल कालमा पनि उनको सत्तारोहण रोकिएन । हुँदाहुँदा गणतन्त्रकालका प्रारम्भिक दिनहरुमा समेत सत्तामा रजाईं गर्न सफल नेता कमल थापा यतिबेला नेपाली राजनीतिमा ‘भिजेको मुसा’ सरह भएका छन् ।

टेनिसका ‘भेटरान खेलाडि’ थापा राजनीतिमा भने भयाक्रान्त खेलाडिसरह भएका छन् । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा मकवानपुर–१ बाट सूर्य चिन्ह लिएर खडा भएका थापालाई भिमकाय सत्ता गठबन्धन मात्र हैन, एमालेकै असन्तुष्ट कार्यकर्तासँग भिडनुपर्दा कार्तिकमा पनि खलखली पसिना छुटीरहेको देखिन्छ ।

थापा उम्मेदवार भएको क्षेत्रमा एमालेले सुरुमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, केपी ओलीको एकल प्राधिकारमा चलीरहेको एमालेमा ओलीले जे चाह्यो त्यही हुन्छ ।

ओलीसँग हारगुहार गरेर थापाले केन्द्रबाटै रानाको ‘टिकट अपहरण गरेको’ भन्दै एमाले कार्यकर्ता रुष्ट देखिन्छन् । कहाँसम्म भने थापाले सूर्य चिन्हबाट उम्मेदवारी दिनासाथ असन्तुष्ट कार्यकर्ताले हेटौंडामा रहेको एमाले पार्टी कार्यालयमै तालाबन्दी गरेका थिए ।

हालै सम्पन्न स्थानिय निर्वाचनमा प्राप्त परिणाम अनुसार पनि थापाले टेकेको एमालेको वैशाखी आफै कमजोर छ । थापा खडा भएको निर्वाचन क्षेत्रमा हेटौंडा नगरपालिकाका ४० वटा वडा पर्छन् ।

तीमध्ये एमालेले १४ वटा वडामा मात्र अध्यक्ष हात पारेको थियो । चारवटा नगरपालिकाका कुनै पनि मेयर र उपमेयर एमालेले जित्नसकेन । यस्तोमा मतका हिसाबले पनि थापाको हालत पतला देखिन्छ ।

राष्ट्रियताको दुहाई
थापाले चुनावी सभाहरुमा बारम्बार राष्ट्रियताको प्रश्नमा एमालेसँग विचार मिलेकाले आफुले सूर्य चिन्ह लिएको बताउँदै आएका छन् । तर, असन्तुष्ट एमाले कार्यकर्ता पँक्तिको गुनासो छ ‘यदि कमल थापाको राष्ट्रियताको अवधारणासँग हाम्रो पार्टीको राष्ट्रियताको अवधारणा पनि समान भएको हो भने यो मण्डले राष्ट्रबाद हो ।’

हेक्का रहोस्, २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि राष्ट्रियताको नारा दिएका थिए । राष्ट्रियता भाव झल्काउने गीतहरु रेडियो नेपालमा खुबै गुन्जन्थे । तर, नेपाली जनता भने गरीबीको रेखामुनी थिए । भोक, रोग र अभावको शिकार थिए ।

तिनताक कवि भूपी शेरचनले एउटा कविता लेखेका थिए, जसको भाव यस्तो थियो,

‘उत्तरतिर एउटा यस्तो देश छ
जहाँ खान पाइन्छ, तर बोल्न पाइदैन
दक्षिणतिर अर्को यस्तो देश छ
जहाँ बोल्न पाइन्छ, तर खान पाइदैन
तर, दुबैको विचमा एउटा यस्तो देश छ
जहाँ बोल्न पनि पाइदैन, खान पनि पाइदैन’

बोल्न पनि नपाइने, खान पनि नपाइने त्यो पंचायतकालमा जुन राष्ट्रियताको नारा दिइएको थियो, त्यसलाई कम्युनिष्टहरुले ‘मण्डले राष्ट्रबाद’को संज्ञा दिएका थिए ।

एमालेका दिवंगत महासचिव मदन भण्डारीले एकपटक भनेका थिए, ‘लोकतन्त्रका नाममा राष्ट्रिय आत्मसमर्पणबाद पनि मुर्दाबाद, राष्ट्रियताका नाममा मण्डले राष्ट्रबाद पनि मुर्दाबाद ।’

मदनकै दुहाइ दिने एमालेले मण्डले राष्ट्रवादकै बारीमा उम्रीएर झाँगीएका कमल थापालाई सूर्य चिन्ह दिनु र राष्ट्रियताको प्रश्नमा उनीसँग विचार मिल्ने दुहाई दिनु एमालेजनका लागि लज्जाको विषय हो भन्ने एकथरीको रुझान छ ।

थापाको राष्ट्रवाद र ओलीको राष्ट्रवादको अवधारणा समान हो भने सत्ता गठबन्धनले ओलीमाथि बारम्बार लगाउँदै आएको ‘प्रतिगामी, राजावादी’को आक्षेपले पुष्टी पाउने र चुनावमा ‘क्याम्पेन’ गर्न अप्ठयारो पर्ने भन्दै एमालेजन चिन्तित देखिन्छन् ।

दमनकारी पृष्ठभूमि
२०४६ सालको जन आन्दोलनताका संचार राज्यमन्त्री रहेका थापा तिनै हुन्, जसले आन्दोलन दबाउन शक्रिय भूमिका निर्वाह गरेका थिए । सो आन्दोलनका क्रममा थापाकै निर्वाचन क्षेत्रका रामबहादुर भुजेल, विष्णु ढुंगाना र सीता बिडारीलाई प्रहरीको गोली लागेको थियो ।

आन्दोलन दमनकारीका रुपमा उनको नाम प्रजातन्त्र पुनस्थापनापछि गठित रायमाझी आयोगमा समेत समाबिष्ट छ । यति मात्र हैन, २०६२/०६३ को आन्दोलनताका थापा शाही सरकारमा गृहमन्त्री थिए र हेलिकोप्टरमा शयर गर्दै आन्दोलन दबाउन निर्देशन दिन्थे ।

नैतिक पतनको पराकाष्ठा
मानौं, काकताली परेर थापाले निर्वाचन जितेको खण्डमा उनी एमालेकै साँसद कहलिनेछन् । उनले एमालेको संसदीय दलले जारी गर्ने ह्वीप मान्नुपर्ने हुन्छ ।

पंचायतकालभरी राजभक्त अनि बहुदल र गणतन्त्र स्थापनापछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका थापाले राप्रपा अध्यक्षमा पराजित भएपछि राजतन्त्रको लाइन त त्यागेका छन्, तर हिन्दु राष्ट्रको उनको अडान भने कायमै छ ।

हिन्दु राष्ट्रको पक्षमा रहेका थापा धर्म निरपेक्षताको पक्षमा रहेको एमालेको साँसद भएको खण्डमा एमाले र थापा दुबैमाथि नैतिकताको प्रश्न खडा हुनेछ ।

चुनावमा गठबन्धन गर्नु एउटा कुरा । तर, आफ्नो पार्टीको चुनाव चिन्ह छाडेर अर्कै पार्टीको चिन्ह लिनु चाहिँ नैतिक पतनको पराकाष्ठा नै हो ।
२०७४ को निर्वाचनमा थापाले नेपाली काँग्रेसको सहयोगमा चुनाव लडदा कसैले उनीमाथि नैतिक प्रश्न उठाएको थिएन । किनकी, त्यो चुनावी तालमेल थियो । यसपाली चाहिँ थापाले स्वार्थको सीमा नै नाघे ।

सत्ता स्वादको धङधङी
मदिरा होस् या सुर्ती । लागू पदार्थ नै किन नहोस् । जब त्यसको लत मानिसलाई लाग्छ, उसलाई सहजै छाडन कठिन हुन्छ । पंचायतकाल, बहुदल काल अनि गणतन्त्र कालमा समेत सत्तामा रहेका थापालाई सत्ता स्वादको धङधङीले अझै छाडेको छैन । जसरी पनि, जे गरेर भए पनि साँसद भइछाडने उनको लालसा सत्ता लतकै परिणति हो ।

२०४८ सालको आम निर्वाचनताका पूर्व पंचको बिल्ला लागेका थापालाई एमालेका कृष्ण दाहालले हराएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा भने कसोकसो उनले जित्न भ्याए । २०५६ को निर्वाचनमा पनि उनलाई एमालेकै दाहालले हराए ।

२०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट खडा भएका थापा तेश्रो स्थानमा पुगेका थिए भने २०७० को संविधानसभा निर्वाचनमा उनले चुनाव लडने हिम्मत नै गरेनन् । बरु, पत्नी प्रमिला थापालाई मकवानपुर–१ बाट खडा गरे भने आफु चाहिँ समानुपातिक उम्मेदवार भइ साँसद भए ।

२०७४ को निर्वाचनमा मकवानपुर–१ बाट उम्मेदवार बनेका थापालाई फेरी पनि एमालेकक्ै कृष्ण दाहालले हराए । आफुले बारम्बार पराजित गरेका थापालाई पार्टीले सूर्य चिन्ह नै दिएको झोंकमा दाहाल पनि यतिबेला निश्क्रीय छन् ।

समानुपातिक सांसद भएपछिका हरेक सरकारमा मन्त्री बनेका थापामा अझै पनि सत्ताको धङधङी हटेको छैन । तर, आफ्नै मुल पार्टी राप्रपाको अध्यक्षमा युवा नेता राजेन्द्र लिङदेनसँग हारेका थापासँग त्यस्तो नैतिक शक्ति पनि छैन, जसमार्फत उनले जनतासँग भोट मागून् ।
राजतन्त्रको लाइन छाडेकाले उनलाई राजावादीले भोट दिने कुरै आएन । हिन्दु राष्ट्रका पक्षधरलाई धर्मनिरपेक्षता पक्षधर एमालेजन र मतदाताले पत्याउने कुरै आएन ।

देशको संकट समाधानका लागि सूर्य चिन्ह लिएको र एमालेसँग सहकार्य गरेको भाषण गर्दै हिँडे पनि वर्णशंकर उम्मेदवार बनेका थापा आफै सँकटमा छन् । देशको संकट हैन, उनी आफ्नै संकट निवारण गर्ने झिनो आसाका साथ मैदानमा होमिएका हुन् ।

यो निर्वाचनपछि थापाको राजनीतिक जिवन पनि विस्तारै ‘आइसोलेसन’मा जानेमा शँका छैन । जसरी बुढेशकाल लागे पनि वैंशकालीन मिठा सम्झनाले सताइरहन्छ, राजनीतिक धरातल कमजोर भए पनि विगतमा सत्तामा रजाई गर्दाका स्मरणले भने थापालाई झस्काइरहनेछ ।
हो, टेनिसका भने उनी अझै ‘भेटरान’ खेलाडि नै हुन्, यसमा कुनै शँका छैन ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ३८ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्