आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

उत्तर कोरियाबाट क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तरले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।

जापानी अधिकारीहरूले यो क्षेप्यास्त्र ६ हजार किलोमिटरको उचाइमा पुगी ११ सय किलोमिटर टाढा जापानी जलक्षेत्रमा पुगेर खसेको जनाएका छन् । यो क्षेप्यास्त्रले एक घण्टाको उडान भएको अनुमान छ । विशेषज्ञहरूका अनुसार पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले १३ हजार किलोमिटर टाढासम्म मार हान्ने सामर्थ्य राख्छ । यसअनुसार यसले अमेरिकाको जुनसुकै ठाउँमा पनि मार हान्न सक्ने जनाइएको छ ।

यसअघि गत १६ मार्चमा पनि अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणको असफल प्रयास गरेको समाचार सार्वजनिक भएको थियो । उत्तर कोरियाले यो वर्ष १० वटासम्म विभिन्न क्षेप्यास्त्रको परीक्षण गरिसकेको छ । अमेरिकाले यसअघिका दुई प्रक्षेपणमा उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणालीका केही पुर्जाको परीक्षण गरेको जनाएको थियो ।

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुनिएपछि उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियामा उत्तर कोरियाप्रति अनुदार अडान राख्ने अपेक्षा गरिएका किम सुक यिओल राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर कोरियाले गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई निकै चासोपूर्वक हेरिएको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको शिखर वार्तापछि सर्वोच्च नेता किमले उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण रोक्ने बताएका थिए । यद्यपि उनले सन् २०२० मा मात्रै क्षेप्यास्त्र परीक्षण नगर्ने बाचा नमान्ने बताएका थिए ।

रुसी युद्धपोत ध्वस्त

युक्रेनी नौसेनाले दक्षिणी युक्रेनको बेर्दियान्स्क बन्दरगाहमा रुसी युद्धपोत ध्वस्त पारेका छन् । युक्रेनी नौसेनाले फेसबुकमार्फत् जानकारी दिँदै बेर्दियान्स्क बन्दरगाहमा रोकिराखेको रुसी नौसेनाको ‘ओर्स्क’ नामक सैनिक वाहक युद्धपोत ध्वस्त पारेको जनाएको हो ।

उक्त युद्धपोत जमिनमा सैनिक उतार्नका लागि रुसले त्यहाँ ल्याइपुर्‍याएको जनाइएको छ । यसअघि बेर्दियान्स्कको बन्दरगाहबाट धुवाँको कालो मुस्लो उडिरहेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

युक्रेनी नौसेनाको आक्रमणका बेला उक्त युद्धपोतमा कति रुसी सैनिक थिए भन्ने स्पष्ट भइसकेको छैन । युक्रेनी नौसेनाले आक्रमणमा भएको घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन भने मानवीय क्षतिबारे पनि केही खुलाइएको छैन ।

रणनीतिक रूपमा महत्वपूर्ण मारिओपोलबाट दक्षिणपश्चिममा रहेको बेर्दियान्स्क बन्दरगाह हाल रुसको कब्जामा रहेको बताइएको छ । रुसले गत फेब्रुअरी यता युक्रेनमा आक्रमण थालेको भएपनि हालसम्म मारिओपोल शहरलाई कब्जामा लिन सकेको छैन ।

मारिओपोलमा सैनिक कारवाहीलाई तीव्र पार्नका लागि रुसले बेर्दियान्स्कको बन्दरगाहमा सैनिक उतार्ने प्रयासस्वरूप उक्त सैनिक वाहक युद्धपोत त्यहाँ ल्याएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् ।

ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान गर्ने घोषणा हुन लागेको हो । बेलायतले यसअघि करिब ४ हजार मिसाइल उपलब्ध गराएको थियो ।

त्यस्तै, जोनसनले युक्रेनी सैनिक र पाइलटहरूका लागि भनेर २ करोड ५० लाख पाउण्ड आर्थिक सहयोगको पनि घोषणा गर्न लागेका छन् ।

त्यसैगरी, बेलायत सरकारले युक्रेनी र रुसी भाषा सेवाहरूलाई सहयोग गर्न बीबीसी वल्र्ड सर्भिसलाई ४.१ मिलियन पाउण्ड उपलब्ध गराउन लागेको बताइएको छ ।

यमनमा कार बम आक्रमणमा ५ सैनिक मारिए

यमनको दक्षिणी शहर एडेननजिकै भएको बम आक्रमणमा ५ सैनिकको ज्यान गएको छ । एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँमा भएको आक्रमणमा परी ज्यान गुमाउनेमा एक जना वरिष्ठ सैनिक अधिकारी समेत छन् ।

समाचार संस्था एएफपीले जनाएअनुसार सो गाउँको सडक भएर यात्रा गर्ने क्रममा सडक छेउ राखिएको कार बम विष्फोट हुँदा यमनी सैनिक अधिकारी मेजर जनरल थाबेट जावस सहित अरु चार सैनिक मारिएका हुन् ।

उनलाई यमनमा इरान समर्थित हुथी विद्रोही विरुद्ध लड्ने प्रमुख सैनिक कमाण्डर मानिन्थ्यो । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिइसकेको छैन । यद्यपि यमनमा हुथी विद्रोही, इस्लामिक स्टेट, अल कायदा र अरु धेरै लडाकु समूहले बारम्बार हिंसात्मक आक्रमण गर्दै आएका छन् ।

करिब  तीन करोड जनसंख्या भएको यमनको लगभग ८० प्रतिशत जनसंख्या अन्तर्राष्ट्रिय सहायतामा निर्भर छ । सन् २०१४ यता यमनमा जारी गृहयुद्धका कारण हालसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तीन लाख ८० हजार मानिसहरूको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेटोले पूर्वी युक्रेनमा थप सैनिक पठाउने

उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पूर्वी युरोपमा थप सैनिक पठाउने भएको छ । नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरूले यस विषयमा सहमति जनाउने बताए ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा स्टोल्टेनबर्गको यस्तो भनाइ आएको हो । उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई मध्यनजर राख्दै पूर्वी युरोपमा थप सैनिक परिचालनको आवश्यकता रहेको टिप्पणी गरे ।

सम्मेलनमा बोल्दै स्टोल्टेनबर्गले भने, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरूले यसलाई समर्थन गर्ने छन् ।’

यद्यपि रुससँग प्रत्यक्ष लडाईमा संलग्न हुने नेटोको कुनै चाहना नरहेको उनले स्पष्ट पारे ।

बाइडेन युरोप भ्रमणमा

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको आपतकालीन बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटोको बैठक बस्न लागेको हो ।

बैठकले पूर्वी युरोपका देशहरूको सुरक्षाका लागि थप सैनिक परिचालन गर्नसक्ने बीबीसीले जनाएको छ । यसैबीच राष्ट्रपति बाइडेन जी सेभेन बैठकमा पनि सहभागी हुने जनाइएको छ ।

बैठकले रुसविरुद्ध घोषणा गरिएका प्रतिबन्धहरूको कार्यान्वयनबारे थप निर्णय गर्नसक्ने जनाइएको छ । बैठकले रुसमाथि थप नाकाबन्दी लगाउनुका साथै रुसका नेताहरू, पुटिननिकट व्यापारीहरू तथा रुसी संस्थाहरूमाथि थप प्रतिबन्ध घोषणा गर्ने जनाइएको छ ।

युक्रेनी राष्ट्रपतिको अपिल

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन संसारभरका नागरिकमा अपिल गरेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको दिनमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले संसारभरबाट बिहीबार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन आग्रह गरेका हुन् ।

उनले मार्च २४ मा युद्ध रोक्न चाहने संसारभरका सबै नागरिक एकत्रित भएर रुसको निर्मम र मुढेबललाई रोक्नुपर्ने बताए।

श्रीलंकाको प्रस्ताव चीनद्वारा अस्वीकार

ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले गरेको आग्रह चीनले अस्वीकार गरेको छ । कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले चीनलाई आग्रह गरेको थियो ।

श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले चीनका विदेशमन्त्री वाङ् यीलाई यसबारे आग्रह गरेको हङ्कङ पोष्टले जनाएको छ । यद्यपि चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनका क्रममा चीनले श्रीलंकाको सामाजिक–आर्थिक विकासमा सहयोग गरेको र यसलाई निरन्तरता दिने बताउँदै कूटनीतिक जवाफ दिएर पन्छेको हङ्कङ पोष्टले उल्लेख गरेको छ ।

श्रीलंकाको अर्थतन्त्र चीनको बेल्ट एण्ड रोड परियोजनाका कारण संकटमा परेको र यसबाट उच्च मुद्रास्फीति, खाद्यान्नमा मूल्यवृद्धि जस्ता समस्या उत्पन्न भएका विषयमा चीनले गोहीको आँशु मात्र झारेको उक्त अखबारले टिप्पणी गरेको छ ।

श्रीलंकाले चीनको ८ अर्ब अमेरिकी डलर ऋण चुक्ता गर्न बाँकी रहेको जनाइएको छ । यद्यपि विदेशी मुद्राको अभावका कारण श्रीलंकाले उक्त ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न आग्रह गरेको थियो ।

हाल श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यहाँ केही दिनअघिमात्रै छपाई कागज आयात गर्न विदेशी मुद्राको अभाव भएपछि ३० लाख विद्यार्थीको परीक्षा स्थगित गरिएको थियो ।

युक्रेनमा रुसी पत्रकारको मृत्यु

रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । घटनामा उनीसँगै अर्काे व्यक्तिको पनि मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ ।

यसअघि उनले राजधानी किभ र पश्चिमी शहर लभिभबाट समाचार संकलन गर्दै आएको द इन्साइडरले जानकारी दिएको छ । उक्त समाचार संस्थाले उनको परिवारप्रति ‘गहिरो समवेदना’ व्यक्त गरेको जनाएको छ ।

युक्रेनमा जारी एक महिना लामो युद्धका क्रममा हालसम्म सात जना पत्रकारको ज्यान गइसकेको बताइएको छ ।

रुसी ग्याँसको भुक्तानी रुसी मुद्रामै गरिनुपर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुक’ हरूले रुसद्वारा आपूर्ति गरिएको ग्याँसको मूल्य रुसी मुद्रा रुबलमा तिर्नुपर्ने बताएका छन् । आफ्ना मन्त्रीहरूसँगको बैठकका क्रममा उनले रुसी ग्याँस आपूर्तिको भुक्तानी रुसी मुद्रामा नै हुनुपर्ने बताएका हुन् ।

‘हामी यसअघि निर्धारित सम्झौताअनुसारको आयतन र मूल्यमा निरन्तर ग्यास आपूर्ति गर्नेछौँ ।’ उनले भने, ‘भुक्तानीको मुद्रामा मात्रै यो परिवर्तन लागू हुनेछ, जुन चाहिँ रुसी मुद्रामा परिवर्तन गरिनेछ ।’

पुटिनले ग्याँसको भुक्तानी मुद्रामा परिवर्तनका लागि एक साताको म्याद निर्धारण गरेको जनाइएको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुकले रुसमाथि नाकाबन्दी लगाएपछि त्यहाँको अर्थतन्त्र ओरालो लागिरहेको र रुसी मुद्राको मूल्य पनि घटिरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो ।

रुसी अर्थतन्त्रका विभिन्न क्षेत्रमाथि प्रतिबन्ध लगाएपनि युरोपेली मुलुकहरू रुसी उर्जामाथि प्रतिबन्ध लगाउने विषयमा भने एकमत छैनन् । युरोपको कूल खपतको ४० प्रतिशत ग्यास रुसबाट आपूर्ति हुने बताइन्छ ।

यद्यपि युरोपसँगको ग्यास व्यापार सम्झौतामा रुससँग यस्तो किसिमको एकपक्षीय परिवर्तन गर्ने क्षमता रहे नरहेको स्पष्ट हुन नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री काबुलमा

चिनियाँ विदेशमन्त्री वाङ यी एकाएक अफगानिस्तान पुगेका छन् । इस्लामिक मुलुकहरूको समूह अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसनको सम्मेलनमा भाग लिन पाकिस्तान गएका उनी पूर्वघोषणा बेगर नै एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका हुन् ।

दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा निस्केका उनको पाकिस्तानपछि भारतको राजधानी नयाँ दिल्ली पुग्ने कार्यक्रम थियो । दिल्ली भ्रमण सकेर उनी नेपाल आउने बताइएको थियो ।

यद्यपि उनले पाकिस्तानमा रहँदा जम्मू कश्मीरका विषयमा विवादित बयान दिएको भन्दै भारतले आलोचना गरेपछि उनी एकाएक काबुल पुगेका हुन् । यस भ्रमणलाई गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु तालिबानले सत्ता कब्जा गरेयता चिनियाँ पक्षबाट अफगानिस्तानमा भएको उच्चस्तरीय भ्रमण रहेको बताइएको छ ।

पाकिस्तानमा रहँदा उनले जम्मू कश्मीरबारे विवादित बयान दिएका थिए । इस्लामिक मुलुकहरूको सम्मेलनमा उनले कश्मीरको मामिलामा चीन इस्लामिक मुलुकहरूको साथ रहेको टिप्पणी गरेका थिए ।

उनको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया जनाएको थियो । जम्मू कश्मीरको विषय भारतको आन्तरिक मामिला भन्दै चीनलाई यसबारे टिप्पणी गर्ने अधिकार नरहेको जनाएको थियो ।

वाङ यीले भारतको पनि भ्रमण गर्ने जनाएपनि यसबारे चिनियाँ र भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : ५१ बजे

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौँ– धेरै नेपालीले धुमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा

थारू बस्तीमा ‘सखिया नाच’को रौनक

खजुरा– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका

पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

एजेन्सी –पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत ‘कामधेनु गाई’

गण्डकी– यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई